‘म युगान्डामा स्वतन्त्र प्रेस हुन्छ भन्ने विश्वास गर्दिँन । प्रेसलाई क्रान्तिका योद्धाहरुले निर्देशित गर्नुपर्छ,’ सामाजिक सञ्जाल एक्समा सेना प्रमुख मुहोजी काइनेरुगावाले लेखेका छन् ।
कम्पाला — युगान्डाका सेना प्रमुख मुहोजी काइनेरुगावाले देशका दुइ लोकप्रिय सञ्चारमाध्यम डेली मोनिटर र एनटिभी युगान्डा बन्द गर्न निर्देशन दिएका छन् । उनले आफुलाई स्वतन्त्र प्रेसमा कुनै विश्वास नरहेको बताए ।
डेलि मोनिटर युगान्डाको सबैभन्दा धेरै बिक्री हुने स्वतन्त्र दैनिक पत्रिका हो । त्यस्तै एनटिभी युगान्डा देशको ठूला निजी प्रशारण संस्थामध्ये एक हो ।
‘म युगान्डामा स्वतन्त्र प्रेस हुन्छ भन्ने विश्वास गर्दिँन । प्रेसलाई क्रान्तिका योद्धाहरुले निर्देशित गर्नुपर्छ,’ सामाजिक सञ्जाल एक्समा गरिएका शृंखलावद्ध पोस्टमा उनले लेखेका छन् ।
युगान्डा सकारकार प्रवक्ता एलन कासुज्जाले यस विषयमा रोयटर्सले सोधेको प्रश्नमा कुनै प्रतिक्रिया दिएनन् । त्यस्तै एनएमजीकी म्यानेजिङ डाइरेक्टर सुशन शिविर्वाले पनि तत्कालै कुनै टिप्पणी नरहेको बताइन् ।
दुबै सञ्चारमाध्यम नेशनल मिडिया ग्रुप (एनएमजी) अन्तर्गत सञ्चालित छन् । यस मिडिया कर्पोरेशनको कार्यालय केन्यामा छ र नैरोवी स्टक एक्सचेन्जमा सुचिकृत छ ।
डेलि मोनिटरले आइतबार राजधानी कम्पालास्थित कार्यालय परिसरमा सैनिकहरु परिचालन गरिएको जनाएको छ । त्यस्तै, कर्मचारीहरुलाई परिसरमा छिर्न र बाहिर निस्कन सेनाले बन्देज लगाएको पनि जनाएको छ ।
काइनेरुगावा राष्ट्रपति योवेरी मुसेभेनीका छोरा हुन् । उनी सामाजिक सञ्जालमा विवादास्पद पोस्टहरु गरेर चर्चामा रहन्छन् । केही समयअघि उनले विपक्षी नेता बोबी वाइनको टाउको काट्ने धम्की पनि दिएका थिए ।
सन् १९८६ देखि मुसेभेनी युगान्डामा सरकारमा छन् । सन् २०१३ मा एक समाचारमा आपत्ति जनाउँदै उनको सरकारले १० दिनसम्म डेली मोनिटरलाई बन्द गरेको थियो ।
