बिहीबार युरोपमा गर्मी उच्च छँदा झन्डै १० करोड मानिसहरुले ३५ डिग्री सेल्सियसमाथिको तापक्रम अनुभव गरे ।
पेरिस — युरोपमा गर्मी बढ्दा मृतकको संख्या पनि अस्वभाविक रुपमा वृद्धि भएको अधिकारीहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससका अनुसार गर्मीले सिर्जित संकटका कारण २१ जुनयता युरोपमा मृतक संख्या सामान्य अवस्थाको दाँजामा कम्तिमा १३ सयले बढेको देखिन्छ ।
‘गर्मीको तनावलाई प्रायः साइलेन्ट किलर बन्ने गरिन्छ । र, युरोपका घर, कार्यस्थल तथा स्कुल यस तापक्रम झेल्न सक्नेगरी निर्माण गरिएका छैनन्,’ उनले भने । फ्रान्समा सबैभन्दा धेरै मृत्युका घटना दर्ता भएका छन् । आइतबार बिहान फ्रान्सको स्वास्थ्य मन्त्रालयले बुधबारदेखि तीन दिनको अवधिमा औसत मृतक संख्या सामान्य अवस्थाको दाँजोमा १ हजारभन्दा धेरैले बढेको जनाएको थियो ।
फ्रान्समा गर्मीको लहर सुरु हुनअघि अप्रिल र मे महिनामा दैनिक ९ सयदेखि १ हजार मानिसको मृत्यु भएको आँकडा छ । गर्मी उच्च भएका बेला बिहीबार एकैदिन यहाँ झन्डै १४ सय जनाको मृत्यु दर्ता भयो । त्यस्तै , शुक्रबार थप १४ सय जनाको मृत्यु दर्ता भयो । घरमै र हेरचाह केन्द्रमा मृत्यु भएका कतिपय मानिसहरुको संख्या अझै डिजिटल रुपमा दर्ता नभएका कारण मृतकको संख्या अझै धेरै हुनसक्ने पनि मन्त्रालयले जनाएको छ ।
मृत्यु भएकामध्ये धेरैजसो ६५ वर्षमाथिका मानिस रहेको पनि मन्त्रालयले जनाएको छ । घरमै मृत्यु हुनेको संख्या ४० प्रतिशतले बढेको पनि मन्त्रालयले जनाएको छ ।
पेरिसस्थित एक शव व्यवस्थापन केन्द्रका मालिक जोउहेर हर्टेलीले हरेक मिनेटमा आफलाई शव व्यवस्थापनका लागि फोन आउने गरेको बताए । उनले शवगृहमा शव राख्ने ठाउँ समेत अभाव भएकाले उनीहरुलाई सेवा दिन अमसर्थ रहेको बताए ।
गर्मीले सिर्जित समस्याले मृत्यु हुनेको यकिन संख्या पत्ता लगाउन महिनौं र हप्तौं लाग्नसक्छ । तर फ्रान्समा मृतकको संख्या अस्वभाविक रुपमा बढेको स्पष्टै देखिएको छ । विशेषगरी पछिल्ला दुई साता तापक्रम उच्चमा रहँदा धेरै वृद्धवृद्धाहरुको घरमै मृत्यु भएको छ ।
‘युरोप विश्वकै सबैभन्दा धेरै गर्मी बढिरहेको महादेश हो । यहाँ विश्वको औसत वृद्धिको दाँजोमा दोब्बरले तापमान वृद्धि भइरहेको छ,’ टेड्रोसले भने, ‘दशौं लाख मानिसहरु अति गर्मीमा बाँचिरहेका छन् । सयौं मानिसहरु मरेका छन् । विद्यालय बन्द छन् ।’
जर्मनीमा आइतबार पूर्वी क्षेत्रमा तापमान ४१ं दशमलव ७ डिग्री सेल्सियस थियो । जो, अहिलेसम्मकै उच्च हो । चेकगणतन्त्रको राजधानी प्रागबाट उत्तरतर्फ रहेको डोक्सानेमा तापमान ४१ दशमलव १ डिग्री सेल्सियस मापन गरियो । पोल्यान्डमा पनि उच्च गर्मीको नयाँ रेकर्ड बन्यो । यहाँ तापमान आइतबार ४० दशमलव ५ डिग्री सेल्सियस थियो ।
बिहीबार नेदरल्यान्डस्मा एक संगीत महोत्सव उच्च गर्मीकै कारण स्थगित गरिएको थियो ।
पेरिसमा सार्वजनिक रुपमा मदिरा पिउन अधिकारीहरुले बन्देज लगाएका थिए । स्थानीय समयअनुसार शुक्रबार दिउँसो फ्रान्स र नर्वेबीचको विश्वकप फुटबल खेलअघि लगाइएको यो प्रतिबन्ध आइतबार बिहानसम्म कायम रह्यो । त्यस्तै, यहाँ आयोजना हुने तय भएको प्राइड मार्च पनि बन्द गरियो ।
फ्रान्समा गर्मी सुरु भएयता कम्तिमा ७४ जना मानिसहरुको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
वैज्ञानिकहरुले जलवायु परिवर्तनका कारण यस्तो अवस्था निम्तिएको हुनसक्ने बताएका छन् । वर्ल्ड वेदर एट्रिब्युशन (डब्ल्युडब्ल्युए) ले गरेको नयाँ अध्ययनपछि वैज्ञानिकहरुले यस्तो विश्लेषण गरेका हुन् । युरोपका ८ सय ५० ठूला शहरमध्ये झन्डै आधा शहर अति गर्मीको चपेटामा छन् ।
‘युरोपभर फैलिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो गर्मीको लहर हो,’ डब्ल्युडब्ल्युएको अध्ययनमा संलग्न डा. थियोडोर किपिङले भने, ‘पछिल्लो ५० वर्षयता पृथ्वीको तापक्रम औसतमा १ दशमलव १ डिग्री सेल्सियसले बढेको छ । यस अवधिमा यस्तो गर्मीको लहर आउने संभावना उच्च रहेको हामीले पायौं । जुन महिनामा जलवायु परिवर्तन बिना यस्तो हुन संभव थिएन । भविष्यमा यस्तो लहर आइरहनसक्छन् ।’ बिहीबार युरोपमा गर्मी उच्च छँदा झन्डै १० करोड मानिसहरुले ३५ डिग्रीभन्दा माथिको तापक्रम अनुभव गरे ।
