बहराइनको विदेश मन्त्रालयले जारी गरेको विज्ञिप्तमा इरानले आफ्नो देशमा शनिबार बिहानै ड्रोन आक्रमण गरेको उल्लेख छ ।
काठमाडौँ — गत साता अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर गरेका इरान र अमेरिका दुबै फेरि आक्रमण-प्रत्याक्रमणमा उत्रिएका छन् । शनिबार इरानको विदेश मन्त्रालयले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अखडाहरुमा आक्रमण गरिएको जनाएको छ ।
आफ्नो देशको दक्षिणी तटमा भएको अमेरिको हवाई आक्रमणको जवाफमा प्रत्याक्रमण गरिएको इरानको दाबी छ । तर आक्रमण गरिएका स्थानबारे बिस्तृत जानकारी सार्वजनिक गरेको छैन ।
बहराइनको विदेश मन्त्रालयले जारी गरेको विज्ञिप्तमा इरानले आफ्नो देशमा शनिबार बिहानै ड्रोन आक्रमण गरेको उल्लेख छ । बहराइनले यसलाई आफ्नो सार्वभौमसत्ता तथा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै निन्दा गरेको छ ।
यसअघि शुक्रबार अमेरिकाले इरानमाथि आक्रमण गरेको थियो । अमेरिकी सेन्ट्रल कमाण्डले सेनाले इरानका मिसाइल र ड्रोन स्थलहरूका साथै समुद्री तट क्षेत्रका राडार केन्द्रहरूमा आक्रमण गरेको जनाएको छ ।
बिहीबार हर्मुज जलमार्गमा एक कार्गो जहाजमाथि भएको आक्रमणको जवाफमा प्रत्याक्रमण गरिएको अमेरिकाले जनाएको छ । दुई देशबीच अघिल्लो साता युद्ध अन्त्यका लागि अन्तरिम सम्झौतामा हस्ताक्षर भएयताकै यो सबैभन्दा ठूलो उल्लंघन हो ।
दुबै पक्षले एक अर्कामाथि उल्लंघनको दोष थोपरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमा इरानले गरेको आक्रमण शान्ति सम्झौताको उल्लंघन रहेको बताएका थिए ।
शुक्रबार पत्रकारहरुको प्रश्नको जवाफ दिदैं उनले आफुलाई यस्तो आक्रमण मन नपरेको बताएका थिए । अमेरिकाले जवाफी कारबाही गर्छ कि गर्दैन भन्ने पत्रकारहरूको प्रश्नमा उनको जवाफ थियो, 'तपाईंहरूले थाहा पाउनुहुनेछ ।' यसको केही समयमै इरानमा अमेरिकाले आक्रमण गर्यो ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले शुक्रबार सबेरै सामाजिक सञ्जालमा ट्रम्पलाई जवाफ दिँदै भनेका थिए, 'स्ट्रेट अफ हर्मुज इरानको नियन्त्रणमा छ, त्यसैले: नियमहरूको सम्मान गर्नुहोस् र हाम्रो नियन्त्रणलाई तनाव बढाउने कदमको रूपमा बुझ्ने गल्ती नगर्नुस् ।'
उनले थपेका छन्, 'यो युद्धविरामको उल्लंघन होइन; यो त युद्धविरामको व्यवस्थापन हो ।' शुक्रबार साँझ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जालमार्फत इरानलाई युद्धविराम सम्झौताबारे संवाद गर्न आग्रह गरेका छन् । ' युद्धविराम सम्झौताबारे कुनै असहमति छन् भने इरानले संवाद गर्नुपर्छ.,' भान्सले लेखेका थिए,'तर हिंसाको जवाफ हिंसाबाटै दिइनेछ ।'
एक अमेरिकी अधिकारीले एसोसिएटेड प्रेस (एपी) लाई बताएअनुसार, अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक सञ्जालमार्फत कारबाही घोषणा गरेको झन्डै एक घण्टासम्म आक्रमण चलेको थियो ।
ब्रिटिस सेनाले बिहीबार ओमानको तट नजिकै एक कन्टेनर जहाजमा प्रोजेक्टाइल प्रहार भएको जनाएको छ । इरानले आक्रमणअघि जहाजहरूलाई उक्त मार्ग प्रयोग नगर्न चेतावनी दिएको थियो । बेलायतको समुद्री व्यापार निकाय (युकेएमटिओ) ले उक्त घटनामा कोही पनि घाइते नभएको जनाएको छ ।
गत साता अमेरिकासँग भएको अन्तरिम सम्झौता हर्मुज खुला गर्न दुबै पक्ष सहमत भएपनि इरानले हर्मुजमा आफ्नो नियन्त्रण कायमै राखेको छ । गत साता संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले हर्मुज जलक्षेत्रमा फसेका जहाजहरुलाई वैकल्पिक मार्ग प्रयोग गरेर बाहिर निकाल्ने अभियान थालेको थियो । यसअन्तर्गत जहाजहरू मुख्य मार्ग नभएर ओमानको तटीय क्षेत्र हुँदै अघि बढिरहेका थिए ।
आक्रमणपछि आईएमओले उद्धार कार्य स्थगित गरिएको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै आईएमओले जहाजहरूमाथि आक्रमण नहुने ग्यारेन्टी नभएसम्म अभियान पुनः सुरु नहुने स्पष्ट पारेको छ ।
आईएमओका महासचिव आर्सेनियो डमिंगेजले पछिल्ला दिनहरूमा करिब ११५ वटा जहाजहरू जलमार्गबाट बाहिरिएको बताए । झन्डै ५०० वटा जहाजहरू अझै हर्मुजमै अलपत्र रहेको उनले बताए ।
सामुद्रिक डाटा संकलन तथा विश्लेषण गर्ने संस्था लोयड्स लिस्ट इन्टेलिजेन्सका अनुसार इरानले जहाजहरूलाई तेहरानद्वारा स्वीकृत मार्गहरू मात्र प्रयोग गर्न आग्रह गर्दै आएको छ ।
वैकल्पिक मार्ग (ओमानको तटीय क्षेत्र) हुँदै अघि बढ्न खोजेका कम्तिमा दुईवटा ट्याकंरहरु सोमबार इरानको चेतावनीपछि फेरि हर्मजुमै फर्किएको लोयड्सले जनाएको छ । शुक्रबार अमेरिको आक्रमणपछि पनि दुई दर्जनभन्दा बढी जहाजहरूले जलमार्गको दक्षिणी मार्गबाट आवतजावत गरिरहेको लोयड्सले जनाएको छ ।
अमेरिका र इरानबीच अझै पनि सम्झौताका सर्तहरूमाथि वार्ता चलिरहेको छ । हर्मुज पूर्ण रुपमा खुला गर्ने र इरानको उच्च संवर्धित युरेनियमको भण्डारको भविष्य विषय वार्ताका मुख्य मुद्दा हुन् । अन्तरिम सम्झौतामा ६० दिनभित्र सबै मुद्दाहरु टुंग्याउने उल्लेख छ ।
