विगतमा जापानी, कोरियाली र युरोपेली कम्पनीहरुको प्रभूत्व रहेका क्षेत्रमा अहिले चिनियाँ साझेदारी बढ्दो छ ।
काठमाडौँ — चिनियाँ कार निर्माता कम्पनीहरूका लागि भारतको ढोका बन्द भएको हुन सक्छ । तर, यसका बाबजुद चिनियाँ विद्युतीय सवारी (इभी) प्रविधिले विश्वको तेस्रो ठूलो अटोमोटिभ बजारमा आफ्नो पकड जमाउन थालेको छ।
नयाँ दिल्लीले सन् २०२० देखि चिनियाँ कम्पनीहरूलाई आफ्नो बजारमा धेरै हदसम्म प्रवेश रोक लगाएको छ ।
अर्कोतर्फ, अहिले बेइजिङले पनि आफ्नो प्राविधिक ज्ञानको निर्यातमा कडाइ गरिरहेको छ। यति हुँदाहुँदै पनि यी दुई देशका कार उत्पादन उद्योगहरूबीचको सम्बन्ध भने अझै बढ्दै गइरहेको देखिन्छ ।
टाटा मोटर्सले जुन महिनाको सुरुमा भारतमा प्रिमियम इभीहरू उत्पादन गर्न चिनियाँ कम्पनी चेरीको कार उत्पादन प्लेटफर्म प्रयोग गर्ने बताएको थियो ।
यो सम्झौतामा कुनै पनि शेयर हिस्सेदारी समावेश छैन । राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै दुवै कम्पनीहरूले यो केवल एक आपूर्ति व्यवस्थामात्रै भएको बताएका छन् । उनीहरुले टाटालाई कुनै पनि प्राविधिक ज्ञान हस्तान्तरण नगरिने कुरामा जोड दिएका छन् ।
सन् २०२० मा दुई देशबीच भएको सीमा झडपमा दुवैतर्फका सैनिकहरू मारिएपछि भारतले चिनियाँ व्यवसायहरूमाथि कडाई गरेको थियो । नयाँ दिल्ली र बेइजिङबीच सम्बन्ध सुधार्ने प्रयास भइरहे पनि केही मनमुटाव अझै बाँकी नै छ ।
डेन्टन्स लिङ्क लिगल ल फर्मका साझेदार सन्तोष पाईले भने, 'यदि भारत आफ्नो उत्पादन क्षेत्र विस्तार गर्न र विश्वव्यापी आपूर्ति शृङ्खलाको ठूलो हिस्सा बन्न चाहन्छ भने चीनसँगको साझेदारी अपरिहार्य छ। यदि चिनियाँ कम्पनीहरू विश्वव्यापी नेतृत्व लिन चाहन्छन् भने उनीहरूले भारत र यसको आर्थिक सम्भावनालाई बेवास्ता गर्न मिल्दैन ।'
बजारमा इभीहरु चाडों ल्याउनका लागि टाटालाई चेरीको प्लेटफर्म महत्वपूर्ण साबित हुनेछ ।
टाटाले भविष्यमा चीनबाट आयात गरिने किटहरूमा निर्भर रहनुको साटो स्थानीय रूपमै पार्टपुर्जाहरू विकास गर्ने योजना बनाएको छ । यसलाई भारतीय नीति निर्माताहरूले सकारात्मक रूपमा हेरेका छन् । किनकि, यसले भारतीय उत्पादनलाई प्रवर्द्धन गर्नेछ ।
टाटा-चेरीको सहमतिले आफ्नो ठूलो प्रयासका बाबजुद पनि भारतले चीनको इभी उद्योगलाई पूर्णत बाहिर पठाउन सक्दैन भन्ने देखाउँछ । यस्ता सहमतिमार्फत भारतमा आफ्नो प्रभाव कायमै राख्न सकिने विषयलाई चिनियाँ कार निर्माताले राम्रोसँग बुझेको चाइना एसएईका पूर्व निर्देशक तथा स्वतन्त्र विश्लेषक गाओ हुवाले बताए ।
' यदी चिनियाँ कम्पनीहरु संलग्न भएनन् भने अन्य देशका कम्पनी भित्रनेछन्,' गाओले भने । भारत विश्वको इभी गाडीको तेस्रो ठूलो बजार हो । त्यसैले पनि यहाँ धेरै देशले आँखा लगाइरहेका छन् ।
विगतमा जापानी, कोरियाली र युरोपेली कम्पनीहरुको प्रभूत्व रहेका क्षेत्रमा अहिले चिनियाँ साझेदारी बढ्दो छ । सस्तो र चाडैं तयार गर्न सकिने भएकाले चिनियाँ प्रविधिले अन्य देशको प्रविधिलाई चुनौती दिइरहेको छ ।
उदाहरणका लागि भारतको कम्पोनेन्ट मेकर युनो मिन्डाले भारतमा इभीबाट चल्ने रेलको निर्माणका लागि चीनको इनोभान्ससँग सहकार्य गरेको छ ।
यो सबै अवस्था सहज भने थिएन । सन् २०२५ मा, ट्रम्पले लगाएको भन्सार शुल्कको प्रतिरोध गर्ने क्रममा बेइजिङले केही महत्वपूर्ण सामाग्री र प्रविधिको निर्यातमा कडाई गर्यो । यसको शिकार भारतीय कम्पनीहरु पनि भए ।
भारतीय ब्याट्री निर्माता कम्पनी अमरा राजा इभी ब्याट्रीका लागि प्रयोग हुने लिथियम-आयन सेल प्रविधिका लागि चीनको गोसन कम्पनीसँग निर्भर थियो । तर यस कडाईपछि गोसनसँग गरेको अनुमति पत्र सम्झौता अन्त्य गर्न अमरा राजा बाध्य भयो ।
'सबै प्राविधिक सहकार्य रोकिएको छ,' अमरा राजका कार्यकारी निर्देशक विक्रमादित्य गौरीनेनीले रोयटर्ससँग भने ।
अनुमति पत्र अन्त्य भएपछि अमरा राजाले आन्तरिक अनुसन्धान र विकास तथा जनशक्तिमा लगानी तीव्र रूपमा बढाइरहेको उनले बताए ।
यस कम्पनीले अहिले पनि उपकरण,ब्याट्री सेल्स र अन्य सामाग्रीहरु चिनियाँ सप्लायर्ससँग नै किनिरहेको छ । तर, चीनबाट सञ्चालन सहयोगका लागि आउने इन्जिनियरहरुलाई भिसा दिलाउन अझै पनि संघर्ष गर्नुपरेको छ ।
चेरीले टाटामात्रै नभएर जेएसडब्ल्यु मोटरसँग पनि सहकार्य गरिरहेको छ । गत वर्ष दुई पक्षबीच भएको सहमतिअनुसार जेएसडब्लयूले इभी र हाइब्रिड गाडी बनाउनका लागि चेरीका विभिन्न प्लेटफर्महरु प्रयोग गर्नेछ ।
जेएसडब्ल्युले सन् २०३० भित्र ३ लाख गाडीहरु बेच्ने योजना बनाएको छ । सुरुवातमा चेरीले जेएसडब्ल्युलाई किटहरु उपलब्ध गराउनेछ । बिस्तारै जेएसडब्ल्युले भारतमा आपुर्ति चक्र निमार्ण गर्ने र पश्चिम भारतस्थित आफ्ना कारखानाहरुमा कारको उत्पादन बढाउने लक्ष्य राखेको छ ।
'यस घटनाले सूक्ष्म र सन्तुलित दृष्टिकोणको आवश्यकता औँल्याउँछ । सम्बन्ध विच्छेद सधैं राम्रो विकल्प हुँदैन,' गाओले भने।
