भेनेजुएलामा शक्तिशाली भूकम्पले कम्तीमा ३२ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भग्नावशेषमा पुरिएकाहरूको खोजी र उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने बताएकी छिन् ।

असार ११, २०८३

एपी

Powerful earthquake in Venezuela kills at least 32, injures more than 700

काठमाडौँ — बुधबार साँझ भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन् । बेलुका ६ बजेपछि ७.२ र ७.५ म्याग्निच्युडको दुईवटा शक्तिशाली भूकम्प गएको थियो ।

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भग्नावशेषमा पुरिएकाहरूको खोजी र उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने बताएकी छिन् । 

राष्ट्रपति रोड्रिगेजले बुधबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै देशभर संकटकालको घोषणा गरेकी छिन् । उनले धेरै राज्यहरूमा क्षति पुगेको जानकारी दिइन् । बिहीबार बिहान सार्वजनिक गरिएको हताहतीको तथ्याङ्कमा 'ला गुआइरा' राज्य समावेश गरिएको छैन । डेल्सीले उक्त राज्य सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र रहेका बताइन् ।  

'कराकसबाट करिब ३० किलोमिटर (१९ माइल) उत्तरमा रहेका दर्जनौँ भवनहरू भत्किएका छन् र हामी हाल जीवन बचाउन तीव्र गतिमा उद्धार कार्य गरिरहेका छौँ,' उनले भनिन् । एक शताब्दीभन्दा बढी समययता भेनेजुएलामा गएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । काराकासदेखि झन्डै १,७०० किलोमिटर टाढा रहेको ब्राजिलको अमेजन क्षेत्रसम्मका मानिसहरूले भूकम्पको धक्का महसुस गरेका छन् । कैयौँ स्थानबाट मानिसहरु बिस्थापित भएका छन् । 

भेनेजुएलाको सरकारी टेलिभिजन च्यानल भिटिभीले बिहीबार बिहान भग्‍नावशेषमा पुरिएका ला गुआइरा क्षेत्रका तीन बालबालिकालाई जीवितै उद्धार गरिएको दृश्य प्रशारण गरेको थियो ।

राष्ट्रपति रोड्रिगेजका अनुसार भूकम्पले देशको मुख्य विमानस्थल 'सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल' मा क्षति पुर्‍याएको छ ।  जसकारण यस विमानस्थलको सेवा बन्द गरिएको छ । त्यस्तै, विद्यालयहरू बन्द गरिएको र काराकासमा सार्वजनिक यातायत र प्राकृतिक ग्यास सेवा पनि अवरुद्ध भएको रोडिग्वेजले बताइन् ।

उनले भेनेजुएलाका नागरिकहरूलाई सरकारी एपको प्रयोग गरेर क्षतिको विवरण टिपाउन पनि आग्रह गरिन् । 

अमेरिकी भूगर्भ सर्वेक्ष का अनुसार, भेनेजुएलामा निकै छोटो अन्तरालमा दुईवटा ठूला भूकम्प गएका थिए। पहिलो भूकम्प ७.२ म्याग्निच्युडको थियो, जसको केन्द्रबिन्दु काराकासबाट करिब १६८ किलोमिटर पश्चिममा रहेको क्यारिबियन तटस्थित मोरोनको पश्चिममा थियो ।  यसको गहिराइ २२ किलोमिटर मापन गरिएको थियो ।

त्यसको एक मिनेटपछि नै ७.५ म्याग्निच्युडको दोस्रो शक्तिशाली भूकम्प गयो। यस दोस्रो भूकम्पको केन्द्रबिन्दु मोरोनबाट १६ किलोमिटर दक्षिणपश्चिममा थियो । यसको गहिराइ १० किलोमिटर मात्र थियो । यस विपद्का कारण तटीय राज्य फालकोनमा ३२ जना घाइते भई अस्पताल भर्ना भएको उक्त राज्यका गभर्नर भिक्टोर क्लार्कले बताए । 

एपी

Link copied successfully