स्टार्मरलाई राजीनामा दिन आफ्नै लेबोर पार्टीका सांसद्हरुले दबाब दिइरहेका थिए
लण्डन — बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । आफ्नै पार्टीका सांसद तथा मन्त्रिपरिषद्का सदस्यहरुबाटै लगातार दबाब आएपछि उनले पद छाड्ने निर्णय लिएका हुन् ।
ऐतिहासिक चुनावी विजय हासिल गरेको दुई वर्ष पनि नपुग्दै, स्टार्मरलाई राजीनामा दिन आफ्नै लेबोर पार्टीका सांसद्हरुले दबाब दिइरहेका थिए । आगामी आमनिर्वाचनअघि निगेल फराजको पार्टीबाट चुनौती बढ्नसक्ने भयले धेरै सांसदहरू चिन्तित बनेका थिए। स्टार्मले एकपछि अर्को अलोकप्रिय निर्णय गरेको आरोप उनीहरुले लगाउँदै आएका थिए ।
शुक्रबारसम्म स्टार्मरले कुनै पनि नेतृत्व प्रतिस्पर्धामा आफू लड्ने बताएका थिए । तर शनिबार र आइतबार परिवारसँगै चेकर्समा समय बिताएका स्टार्मरले त्यसपछि राजीनामा दिने मनस्थिति बनाए । बेलायती सञ्चारमाध्यम गार्डियनका अनुसार मन्त्रिपरिषद्का आधा दर्जनभन्दा बढी सदस्यहरूले उनलाई व्यक्तिगत रूपमा भेटेर राजीनामा गर्न सल्लाह दिएका थिए ।
स्टार्मरले पदत्याग घोषणा गरेसँगै लेबर पार्टीभित्र नयाँ नेता छान्ने प्रतिस्पर्धा सुरु हुनेछ । मध्यावधि निर्वाचनमा रिफर्म पार्टीको चुनौती पन्छाएर विजयी भएका एन्डी बर्नहमलाई यस दौडको प्रमुख दाबेदार मानिएको छ । स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङ पनि यस दौडमा छन् ।
संसदीय दलको नेतृत्व चयन प्रक्रिया वा सत्ता हस्तान्तरण पूरा नहुँदासम्म स्टार्मर नै बेलायतको प्रधानमन्त्री रहनेछन् ।
