लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु

चिकित्सकहरूका अनुसार घटनामा धेरैजसोको मृत्यु धुवाँले निस्सासिएर श्वासप्रश्वासमा समस्या आउँदा भएको हो ।

असार ८, २०८३

रासस

At least 15 killed in Lucknow fire

What you should know

लखनऊ — उत्तर प्रदेशको लखनऊको अलिगञ्ज क्षेत्रमा सोमबार कोचिङ इन्स्टिच्युटमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिकित्सकहरूका अनुसार घटनामा धेरैजसोको मृत्यु धुवाँले निस्सासिएर श्वासप्रश्वासमा समस्या आउँदा भएको हो ।

किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेन्डेन्ट प्रेम राज सिंहले एएनआईसँग कुराकानी गर्दै भने, 'अस्पताल ल्याउँदा नै १५ जनाको मृत्यु भइसकेको थियो। शवहरूलाई पोस्टमोर्टमका लागि पठाइएको छ । थप सातदेखि आठ जना अर्धचेत अवस्थामा अस्पताल ल्याइएको थियो । तीमध्ये दुई जनालाई सामान्य चोट लागेको छ । एक युवकको ढाडमा गम्भीर चोट लागेको देखिन्छ, हाम्रा चिकित्सकहरूले उनीहरूको उपचार गरिरहेका छन्।'

'धेरैजसोको मृत्यु धुवाँले निस्सासिएर भएको देखिन्छ,' सिंहले भने । 

आगलागी एक भवनमा भएको थियो जसमा लाइब्रेरी र कम्प्युटर ट्रेनिङ इन्स्टिच्युट थियो। एक प्रत्यक्षदर्शीका अनुसार आगो लाग्दा ठूलो आतंक मच्चिएको थियो र एक व्यक्तिले भवनबाट हाम फालेका थिए र उनलाई गम्भीर चोट लागेको छ ।

यसैबीच, फ्रान्सको समाचार संस्था एएफपीले आगलागीको समाचार छाप्दै भनेको छ, 'भारतको लखनऊमा भएको आगलागीबाट १४ जना बालबालिकाको मृत्यु भएको र दर्जनौं अन्य घाइते वा विरामी परेका छन् ।'

उत्तर प्रदेशका उप–मुख्यमन्त्री ब्रजेश पाठकलाई उद्धृत गरी प्रकाशित उक्त समाचारमा मृत्यु हुने सबै विद्यार्थी थिए वा अरू कोही हुन् भन्ने नखुलेको उल्लेख छ । 

मृतकका आफन्तजनलाई जनही दुई लाख उपलब्ध गराइने

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट राहतस्वरूप आर्थिक सहायताको घोषणा गरेका छन् । 

प्रधानमन्त्री कार्यालयले एक्समा जारी एक विज्ञप्तिमा मृतकका नातेदारहरूलाई कोषबाट जनही दुई लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ दिने बताएको छ ।

प्रधानमन्त्रीको कार्यालयले जारी गरेको सन्देशमा भनिएको छ, 'उत्तर प्रदेशको लखनऊमा भएको आगलागीबाट भएको दुर्घटनामा ज्यान गुमाउनेहरूको समाचारले मलाई स्तब्ध बनाएको छ । शोकाकुल परिवारप्रति मेरो समवेदना छ । घाइतेहरू चाँडै निको होऊन् । उद्धार कार्य भइरहेको छ र अधिकारीहरूले सबै सम्भव सहयोग गरिरहेका छन्।'

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि घटनास्थलको अवलोकन गरेका छन् । अलीगढमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले लखनऊको घटनाको जानकारी पाएपछि आफ्नो अलीगढ भ्रमण छोट्याएर तत्काल लखनऊ फर्किने बताएका थिए । 'मलाई लखनऊमा भएको घटनाको जानकारी प्राप्त भएको छ । त्यहाँ आगलागीमा केही विद्यार्थीहरू परेका छन् र उनीहरूको दुःखद मृत्यु भएको छ । प्रशासनले उद्धार कार्य गरिरहेको छ तर यो दुःखद् घटनाका कारण म तुरुन्त लखनऊ फर्किंदैछु,' मुख्यमन्त्रीले भनेका थिए । 

मुख्यमन्त्रीले प्रहरी महानिर्देशक र संघीय गृह मन्त्रालयका अतिरिक्त मुख्य सचिवलाई घटनास्थलमा गएर रिपोर्ट बुझाउन निर्देशन दिएको बताए । 

यसैबीच, रक्षामन्त्री राजनाथ सिंहले पनि घटनामा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन् ।

रासस

Link copied successfully