इरान मामिलामा ट्रम्पका निर्णयप्रति अधिकांश अमेरिकी असन्तुष्ट

सर्वेक्षणमा सहभागी ६५ प्रतिशत वयस्क अमेरिकीहरुले इरान मामिलामा ट्रम्पले चालेका कदमप्रति असहमति प्रकट गरे

असार ७, २०८३

एपी

Most Americans are dissatisfied with Trump's decisions on Iran

वासिङटन — अधिकांश अमेरिकीहरूले इरान मामिलामा राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेका कदमहरूबारे असन्तुष्टी व्यक्त गरेको नयाँ सर्वेक्षणले देखाएको छ ।

एशोसिएट प्रेस (एपी) ले सेन्टर फर पब्लिक अफेयर्स रिसर्च (एनओआरसी)सँग मिलेर गरेको सर्वेक्षणमा सहभागि ६५ प्रतिशत वयस्क अमेरिकीहरुले इरान मामिलामा ट्रम्पले चालेका कदमप्रति असहमति प्रकट गरे । 

असन्तुष्ट हुनेमध्ये ठूलो संख्या डेमोक्रेटिक पार्टीको छ । ट्रम्पकै रिपब्लिक पार्टीका २८ प्रतिशतले पनि इरानमा उनको कार्यशैलीले कदमहरुले असन्तुष्ट बनाएको बताएका छन् ।

नयाँ सर्वेक्षण जुन ११–१७ मा गरिएको थियो । यही अवधिमा ट्रम्पले इरानसँगको सम्झौतामा सहमति जुटेको घोषणा गरेका थिए । त्यस्तै, हर्मुज जलमार्गमा अमेरिकी सैन्य नाकाबन्दी अन्त्य गर्न अनुमति दिइएको बताएका थिए ।

त्यसपछि गत बुधबार दुबै पक्षले शान्ति सम्झौतामा हस्ताक्षर गरे । विगत केही महिनाहरूमा इरानमा ट्रम्पको कार्यशैलीलाई लिएर अमेरिकीहरुले आपत्ति जनाउँदै आएका छन् । 

केही रिपब्लिकनहरूले यस हप्ता भएको सम्झौताको परिणामप्रति पनि असन्तुष्टि जनाइरहेका छन् । यस सम्झौताले इरानलाई पुनः स्वतन्त्र रूपमा आफ्नो तेल बिक्री गर्न अनुमति दिएको छ । 

त्यस्तै, दुई महिनाका लागि बिना कुनै शुल्क हर्मुज जलमार्गलाई खुला गरिने उल्लेख छ । यस सम्झौतामा तेहरानको आणविक कार्यक्रमका विषयमा  अमेरिका र इरानबीच आगामी चरणमा वार्ताहरु हुने उल्लेख छन् ।

तेहरानले उच्च स्तरको संवर्धित युरेनियमको भण्डारण घटाउने प्रतिवद्धता व्यक्त गरेको छ । ट्रम्पको रिपब्लिकन पार्टीप्रति झुकाव राख्ने टेक्ससस्थित फोर्ट वर्थका ७९ वर्षीय स्वतन्त्र नागरिक डेभिड फेरिङ्टनले इरानको आणविक हतियार कार्यक्रमबारे ठोस विषय यस सम्झौतामा उल्लेख नहुनु दुखद् रहेको बताए ।

'हर्मुज जलमार्गसम्बन्धी कुनै पनि सम्झौतालाई म इरानको तर्फबाट भएको ठूलो वा उल्लेखनीय सम्झौता मान्न सक्दिनँ,’ म यसलाई केवल एक देखावटी कुरा मान्छु ,’ फेरिङ्टनले भने,’ यो सम्झौता जति खराब छ । त्यसभन्दा कम खराब देखाउनका लागि यस्ता प्रावधान राखिएको छ ।’

नयाँ सर्वेक्षण अनुसार केवल एक–तिहाइ अमेरिकी वयस्कहरूले मात्र इरान मामिलामा ट्रम्पको कार्यशैलीलाई अनुमोदन गरेका छन्, मे महिनामा एपी–एनओआरसीले गरेको सर्वेक्षणमा पनि यस्तै देखिएको थियो ।

टेक्ससको प्लानोका  २८ वर्षीय स्वतन्त्र नागरिक डोनाल्ड म्याकब्राइडले अमेरिकालाई विदेशी युद्धहरूबाट टाढा राख्ने आफ्नो चुनावी प्रतिज्ञा पूरा गर्न ट्रम्प असफल भएको बताए ।

'उनले युद्ध गर्दैनन् भन्ने लागेर मैले मत दिएको थिएँ, ' म्याकब्राइडले भने, ' म यो युद्ध अन्त्य भएको चाहन्छु । युद्धको मूल उद्देश्य इरानी शासनलाई समाप्त गर्नु थियो, जुन सम्भव नै छैन । हामीले लडाइँ जारी राख्नुको औचित्य पिन थाहा छैन ।'

यस सर्वेक्षणमा सहभागी अधिकांश अमेरिकीहरूले इरान युद्ध चाडैं टुंगिएको हेर्न चाहेको बताएका थिए । ५३% अमेरिकी वयस्कहरूले इरान युद्धमा अमेरिकाले अति नै गरिसकेको बताए ।

तर, झन्डै ४० प्रतिशत रिपब्लिकनले इरानमा आक्रमण ठिकै रहेको बताए । त्यसमध्ये ३७ प्रतिशत रिपब्लिकनले आक्रमण अझै पर्याप्त नभएको दाबी गरे ।

उत्तर–पश्चिम फ्लोरिडाकी ६४ वर्षीया स्वतन्त्र नागरिक जोन जोन्सले इरानको खतरालाई सम्बोधन गर्न अमेरिकी कारबाही आवश्यक रहेको बताएकी थिइन् । 

'ती आक्रमणहरू अन्ततः हामीलाई आणविक आक्रमणबाट जोगाउनका लागि हुन्,' जोन्सले भनिन्, 'मलाई लाग्छ हामीले यस प्रक्रियाबाट गुज्रिनै पर्छ  र त्यो चिन्तालाई हटाउनुपर्छ ताकि हाम्रो टाउकोमाथि सधैं त्यो डर मडारिइरहने छैन।'

सर्वेक्षणमा सहभागी करिब एक–तिहाइ, अर्थात् ३४% अमेरिकी वयस्कहरूले मात्र इजरायल मामिलामा ट्रम्पको कार्यशैलीलाई अनुमोदन गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र ट्रम्पबीच तनाव बढ्दै गएको छ, किनकि राष्ट्रपति ट्रम्पले लेबनानमा हालै भएका इजरायली आक्रमणहरूको आलोचना गरिरहेका छन् ।

यी आक्रमणले इरान–अमेरिका वार्तालाई प्रभावित गर्नेतर्फ ट्रम्प सतर्क देखिएका छन् । गत बुधबार १४ बुँदे सम्झौता गरेका अमेरिका र इरानले यी बुँदाहरुको कार्यान्वयन सुनिश्चित गर्ने र थप वार्ताहरू गरेर ६० दिनभित्र बिस्तृत शान्ति सम्झौता गर्ने लक्ष्य राखेका छन् । 

ओहायोको मेडवेका  ६९ वर्षीय रिपब्लिकन जेम्स हफम्यानले नेतान्याहूसँग ट्रम्पले गलत रणनीति अपनाइरहेको बताए ।

'नेतान्याहुले ट्रम्पले चाहेका सबै कुरा गर्नेवाला छैनन् । उनले त्यही गर्नेछन् जुन उनी आफैं चाहन्छन्,' हफम्यानले भने,'मलाई यो रणनीति प्रभावकारी लाग्दैन।'

करिब एक–तिहाइ अमेरिकी वयस्कहरूले अर्थव्यवस्थाप्रति ट्रम्पको दृष्टिकोण सही रहेको बताएका छन् । फ्लोरिडाकी जोन जोन्सले आफ्नो क्षेत्रमा स्टारबक्स र म्याडोनाल्डजस्ता रेस्टुराँमा भीड रहेको बताइन् । यसले अर्थतन्त्र राम्रै चलिरहेको संकेत गरेको उनले बताइन् ।

वेस्ट भर्जिनियाकी ४२ वर्षीया रिपब्लिकन समर्थक पेट्रिसिया बेलीले महँगी नियन्त्रणबाहिर गएको बताइन् । ‘आफ्नो आर्थिक प्रतिज्ञाहरु नै भुलेर ट्रम्प युद्धमा अल्झिए । त्यसको मूल्य सर्वसाधारणले चुकाइरहेका छन्,’ उनले भनिन् । 

एपी

Link copied successfully