अमेरिकी सामाचार संस्था सीएनएनको रिपोर्टअनुसार अमेरिका र इजरायलविरुद्धको युद्धपछि इरान झन् पहिलेभन्दा शक्तिशाली भएको छ ।
काठमाडौँ — अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि सम्झौताकै बीच अमेरिकी गुप्तचर एजेन्सीले एक नयाँ चेतावनी दिएको छ । अमेरिकी सामाचार संस्था सीएनएनको रिपोर्टअनुसार अमेरिका र इजरायलविरुद्धको युद्धपछि इरान झन् पहिलेभन्दा शक्तिशाली भएको छ ।
गुप्तचर निकायले इरानले चाहेमा अब होर्मुज जुनसुकै बेला पनि बन्द गर्नसक्ने चेतावनी दिएको छ । रिपोर्टमा तीन सुत्र उल्लेख गरिएको छ । ती सुत्रहरुका अनुसार युद्धपछि इरानसँग वैश्विक अर्थव्यवस्थालाई क्षति गर्नसक्ने एक नयाँ शक्तिशाली क्षमता आएको छ ।
अमेरिकी अधिकारीहरुका अनुसार इरानसँग परमाणु बमभन्दा पनि प्रभावशाली हतियार रहेको बताएका छन् । परमाणु वार्ता टुटेको अवस्थामा यमनको हुथी विद्रोहीमार्फत बाब–अल–मंदेब स्ट्रेटमा पनि संकट उत्पन्न गर्न सक्ने रिपोर्टमा दाबी गरिएको छ । यस्तो भएमा विश्वका दुई ठूला समुद्री व्यापार मार्ग एकैसाथ प्रभावित हुन सक्छन् ।
इरानको परमाणु कार्यक्रम कयौं दशकदेखि अन्तर्राष्ट्रिय राजनीतिको ठूलो मुद्दा रहिआएको छ । इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आए पनि अमेरिका र इजरायलले भने यो दाबीलाई मानिरहेका छैनन् ।
