स्विचरल्यान्डको जेनेभामा आगामी शुक्रबार औपचारिक रुपमा शान्ति सम्झौता गर्न इरान र अमेरिका सहमत भएका छन् । यसले पश्चिम एसियायामा शान्ति स्थापना गर्ने, हर्मज जलमार्ग पुन: सुचारु गर्ने र विश्वव्यापी आर्थिक दबाबलाई कम गर्ने अपेक्षा गरिएको छ ।
इस्लामाबाद — इरान र अमेरिकाबीच युद्ध अन्त्य गर्ने सहमति भएसँगै विश्वभरका नेताहरुले पाकिस्तानसहितका मध्यस्थकर्ता देशले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
शुक्रबार स्विचरल्यान्डको जेनेभामा औपचारिक रुपमा शान्ति सम्झौता गर्ने सहमति इरान र अमेरिकाबीच भएको छ । यसले पश्चिम एसियायामा शान्ति स्थापना गर्ने, हर्मज जलमार्ग पुन: सुचारु गर्ने र विश्वव्यापी आर्थिक दबाबलाई कम गर्ने अपेक्षा गरिएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले तत्काल र स्थायी युद्धविराम गर्ने, हर्मज जलमार्ग खुला गर्ने तथा भावी वार्ताका लागि स्पष्ट रूपरेखा तय गर्ने सहमति गरेबापत् अमेरिका र इरान दुवै देशलाई बधाई दिएका छन् ।
'यो द्वन्द्वको शान्तिपूर्ण समाधानका तर्फ एउटा निकै महत्त्वपूर्ण कदम हो,' महासचिव गुटरेसले भने। उनले अगाडि थपे, 'यो शान्ति सम्झौतासम्म पुग्ने वार्ताको वातावरण मिलाउन रचनात्मक र सहयोगी भूमिका खेल्ने पाकिस्तान, कतार, इजिप्ट, साउदी अरेबिया, टर्की लगायतका क्षेत्रीय मुलुकहरूप्रति म हार्दिक आभार प्रकट गर्दछु।'
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र विदेशमन्त्री पेनी वोङले संयुक्त विज्ञप्ति जारी गर्दै मध्यस्थताको प्रयास गर्ने पाकिस्तान, कतार, साउदी अरेबिया, टर्की र अन्य मुलुकहरूको प्रशंसा गरेका छन् । लेबनानसहित समग्र क्षेत्रमा तनाव कम हुनुपर्ने पक्षमा अस्ट्रेलियाले लामो समयदेखि आवाज उठाउँदै आएको उक्त विज्ञप्तिमा उल्लेख छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यस सम्झौतालाई क्षेत्रीय शान्ति र स्थिरता स्थापनाका लागि एक महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।
वार्ता सफल बनाउन पाकिस्तानले गरेको असाधारण मध्यस्थताको उनले विशेष प्रशंसा गरे । कतार र साउदी अरेबियाले पुर्याएको सहयोगको समेत उनले स्वागत गरे । कतारको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै पाकिस्तान र सम्झौतामा योगदान पुर्याउने सबै क्षेत्रीय र अन्तर्राष्ट्रिय पक्षहरूलाई धन्यवाद दिएको छ ।
फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँले एक विज्ञप्ति जारी गर्दै यो सम्झौता थुप्रै साझेदार मुलुकहरूको सामूहिक कूटनीतिक प्रयासको परिणाम भएको उल्लेख गरेका छन् । उनले द्रुत एवं पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान गरेका छन् । जापानकी प्रधानमन्त्री साने ताकाइचीले पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने देशहरूको प्रशंसा गरेकी छिन् ।
जर्मनीका चान्सलर फ्रेडरिक मर्जले अमेरिका–इरान सम्झौताको स्वागत गर्दै यस ऐतिहासिक कूटनीतिक सफलताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी पक्ष दुवैलाई बधाई दिएका छन् ।
बेलायतका प्रधानमन्त्री केर स्टार्मरले यस सम्झौताको स्वागत गरेका छन् । 'यसले विश्व अर्थतन्त्रलाई पुनः गतिशील बनाउन र मध्यपूर्वलाई थप सुरक्षित राख्न मार्गप्रशस्त गर्नेछ। अब यस सम्झौतालाई दृढताका साथ कार्यान्वयन गर्नु महत्त्वपूर्ण छ,' स्टार्मरले भने । उनले पाकिस्तान, कतारलगायत अन्य मध्यस्थकर्ता राष्ट्रहरूलाई बधाई दिए ।
न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले यस सम्झौताको स्वागत गर्दै पश्चिम एसिया क्षेत्रमा शान्ति र स्थिरता कायम गर्ने एक महत्वपूर्ण कदमका रुपमा यसलाई लिइएको बताए ।
