१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने बेलायती प्रधानमन्‍त्रीको घोषणा

संसद्बाट पारित भएमा यो नियम सन् २०२७ देखि कार्यान्वयनमा आउने स्टार्मरले बताए ।

असार १, २०८३

कान्तिपुर संवाददाता

British Prime Minister announces ban on social media for children under 16

लण्डन — बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाइने घोषणा गरेका छन् ।

संसद्बाट पारित भएमा यो नियम सन् २०२७ देखि कार्यान्वयनमा आउने उनले बताए । सामाजिक सञ्जालले बालबालिकालाई दुःखी बनाइरहेको उनले बताए ।

'यसले  बालबालिकालाई दुर्व्यवहार गर्न पीडकहरूलाई सजिलो बनाइदिएको छ । यी सञ्जालहरु लत लाग्नेगरी डिजाइन गरिएको छ,' उनले भने। यो प्रतिबन्धले बालबालिकाहरूलाई हुर्कनका लागि थप समय, सुरक्षा र स्वतन्त्रता दिने विश्वास उनले व्यक्त गरे । 

'कुनै पनि आमाबुबाले चाहने भनेकै यही हो। उनीहरू आफ्ना बालबालिकाका अझ राम्रो र निष्पक्ष अवसर चाहन्छन्,' प्रधानमन्त्रीले भने ।

स्टार्मरले बालबालिकाको सुरक्षा र खुसीमा सरकारले कुनै सम्झौता नगर्ने बताए । बेलायत सरकारले अस्ट्रेलियाजस्ता देशहरूबाट सिकेर यो नियम बनाउन लागेको उनले बताए । 

अस्ट्रेलियाले गत डिसेम्बरमा १६ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको नियम बनाएको थियो । यस्तो नियम बनाउने अस्ट्रेलिया विश्‍वकै पहिलो मुलुक हो ।

त्यसयता, इन्डोनेसिया र मलेसियाले पनि सामाजिक सञ्जालमा १६ वर्षमुनिका बालबालिकालाई प्रतिबन्ध लगाइसकेका छन् ।

फ्रान्स, डेनमार्क, ग्रिस, क्यानेडालगायत अन्य विभिन्‍न मुलुकले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनेगरी कानुन निर्माणको तयारी गरिरहेका छन् । 

कान्तिपुर

Link copied successfully