‘इरानको परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणले युद्धविरामलाई अर्थहीन बनाएको बताएको छ । तर, युद्धविराम पूर्ण रुपमा समाप्त भएको घोषणा भने गरिसकेको छैन । ’
काठमाडौँ — इरान र अमेरिकाबीच बुधबार र बिहीबार लगातार दुई दिन आक्रमण–प्रत्याक्रमण चलेको छ ।
८ अप्रिलमा युद्धविराम भएयता अमेरिका–इरानबीच यति ठूलो लडाँइ चलेको यो पहिलोपटक हो । यस घटनाले पश्चिम एसियामा पूर्ण स्तरको युद्ध फेरि सुरु हुने जोखिम बढाएको छ ।
इरानमा बुधबार रातिदेखि बिहीबार बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो । बिस्फोटका आवाजहरू इरानको राजधानीका साथै बन्दरगाह सहर बन्दर अब्बास र हर्मुज जलमार्गमा रहेका किनारमा दक्षिणी क्षेत्रहरूमा सुनिएका थिए ।
एक भारतीय अधिकारीले इरानी बन्दरगाहहरूमा एउटा तेल ट्याङ्करमाथि भएको अमेरिकी आक्रमणमा तीन जना भारतीय जहाज चालकको मृत्यु भएको बताएका छन् ।
यस क्षेत्रमा अमेरिकाले लगाएको नाकाबन्दी उल्लंघन गर्ने खोजेको भन्दै उक्त जहाजमाथि अमेरिकी सेनाले आक्रमण गरेको थियो । बिहीबार इरानमा सूर्योदय हुनभन्दा अघिसम्म विभिन्न क्षेत्रमा भयानक आक्रमण भएको थियो । तर, आक्रमणबाट भएको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन ।
इरानले यसको जवाफमा बहराइन,जोर्डन र कतारमा रहेका अमेरिकी सेनाको आधार शिविरमा आक्रमण गरेको छ । यसअघि बुधबार पनि इरानले ती क्षेत्रमा आक्रमण गरेको थियो ।
कुवेतमा इरानको आक्रमणका कारण केही घण्टाका लागि हवाई क्षेत्र बन्द गरिएको थियो । तर क्षतिको विवरण भने बाहिर आएको छैन ।
जोर्डनले अमेरिकी सैनिकहरू रहेको एउटा सैन्य आधार शिविर क्षेत्रतर्फ प्रहार गरिएका २० वटा इरानी मिसाइलहरूलाई प्रतिरोध गरिएको दाबी गरेको छ । घटनामा कोही पनि घाइते नरहेको जोर्डनले जनाएको छ ।
बहराइनको गृह मन्त्रालयले इरानी मिसाइललाई रोकिएको र त्यसको भग्नावशेषले लागेर ११ वर्षीया बालिका घाइते भएको जनाएको छ । कार तथा घरहरूमा क्षति पुगेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निशानामा परेका स्थानहरूमा तेहरान बाहिरको एउटा उत्पादन कारखाना, सैन्य ब्यारेक र स्थानीय गार्डको आधार शिविर सामेल थिए ।
यस युद्धले इरान–अमेरिकाबीच तेस्रो पक्षको मध्यस्थतामा चलिरहेको अप्रत्यक्ष वार्तालाई पनि प्रभाव पार्ने देखिएको छ । यसअघि सोमबार ट्रम्पले दुई– तीनदिनभित्रै वार्ता सार्थक हुने दाबी गरेका थिए । तर बिहीबार उनले वार्ता रोकिदाँको मूल्य इरानले चर्को चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
इरानको परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणले युद्धविरामलाई अर्थहीन बनाएको बताएको छ । तर, युद्धविराम पूर्ण रुपमा समाप्त भएको घोषणा भने गरिसकेको छैन ।
हर्मुज जलमार्गमा इरानको पकड र इरानको आणविक हतियार कार्यक्रम अमेरिकासँगको वार्ता प्रक्रियामा महत्वपूर्ण विषय बनेको छ । बिहीबारमात्रै इरानले हर्मुजको जलमार्ग बन्द भएको घोषणा गरेको छ । तर यसको सन्देश र अर्थ स्पष्ट हुन सकेका छैन । किनकि, युद्ध सुरु भएदेखि नै यो जलमार्ग बन्दजस्तै छ र यहाँबाट निकै सानो संख्याका जहाजमात्रै बाहिरिएका छन् ।
अप्रिलमा युद्धविरामपछि लगातार वार्ताको प्रयास हुँदै आएपनि केही बुँदाहरुमा सहमति जुट्न नसक्दा शान्ति वार्ता सार्थक हुन सकेको छैन ।
इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ । तर, अमेरिका र इजरायलले यसबाट आणविक हतियार बनाउने तयारी गरिरहेको आरोप इरानमाथि लगाउँदै आएका छन् । सम्वद्र्धित उच्चस्तरको युरेनियम भण्डारलाई त्याग्न इरान तयार भएमात्रै उसको प्रतिवद्धतामा विश्वास गर्न सकिने अमेरिकाले जनाउँदै आएको छ ।
अर्कोतर्फ, इरानले शान्ति वार्ताअघि नै विदेशमा जम्मा भएको आफ्नो रोक्का सम्पत्ति फुकुवा गर्नुपर्ने, आफुमाथि लागेको अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा हुनुपर्ने, पुनः आक्रमण नगर्ने सुनिश्चित हुनुपर्नेलगायत माग राखेको छ ।
हर्मुजको जलमार्गलाई स्वतन्त्र र खुला राख्नुपर्ने अमेरिकाको माग छ । इरानले यस जलमार्गलाई युद्धअघिको अवस्थामा फर्काउन नसकिने दाबी गर्दै आएको छ ।
उसले यहाँ हुँदै गुज्रने जहाजहरुसँग राजश्व उठाउने र जहाजहरुले सबै नियम पालना गरेको सुुनिश्चित भएपछि मात्रै अघि बढ्ने दिने योजना बनाएको छ । यसका लागि ओमानसँग पनि सहकार्य गर्ने इरानको प्रस्ताव छ ।
ट्रम्पले सोमबार इरानसँग केही दिनभित्र सम्झौता हुने दाबी गरेका थिए । तर पछिल्लो मुडभेडले त्यसमा शंका उत्पन्न गराएको छ ।
यद्यपी वार्ता टोलीमा सहभागि एक अधिकारीले दुई पक्षबीच मुडभेडसँग वार्ता प्रयास पनि जारी रहेको एपी समाचार एजेन्सीसँग बताएका छन् । उनका अनुसार कतारी कूटनीतिक प्रतिनिधिमण्डल बिहीबार बिहानमात्रै वार्ता गरेको इरानको राजधानी तेहरानबाट फर्किएको थियो ।
पाकिस्तानले पनि अप्रत्यक्ष वार्ताको मध्यस्थता गरिररहेको छ । बिहीबारको लडाँइपछि सिर्जित तनावले गम्भीर चिन्ता उत्पन्न गरेको पाकिस्तानले जनाएको छ । इरान र अमेरिका दुवैलाई युद्धविरामको पालना गर्न पाकिस्तानले आग्रह गरेको छ ।
