झन्डै १ करोड ४७ लाख शरणार्थी र आन्तरिक रूपमा विस्थापित मानिसहरू सन् २०२५ मा आफ्नो घर फर्किएको यूएनएचसीआरले जनाएको छ
जेनेभा — द्वन्द्व र उत्पीडनका कारण विश्वभर सन् २०२५ मा झन्डै ५४ लाख मानिसहरू आफ्नो घर छाडेर भागेका छन् । यससँगै, शरणार्थी वा शरणार्थी-सरहको परिस्थितिमा रहेका मानिसहरूको कुल संख्या ४ करोड १६ लाख पुगेको छ ।
संयुक्त राष्ट्रसंघ शरणार्थी मामिला सम्बन्धी उच्च आयोग (यूएनएचसीआर) को प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो । यूएनएचसीआरका अनुसार बिस्थापित हुनेमा झन्डै ६० लाख प्यालेस्टिनी शरणार्थी छन् ।
त्यस्तै, झन्डै १ करोड ४७ लाख शरणार्थी र आन्तरिक रूपमा विस्थापित मानिसहरू सन् २०२५ मा आफ्नो घर फर्किएको यूएनएचसीआरले जनाएको छ।
जो सन् २०२४ को दाँजोमा दाँजोमा घर फर्कनेको संख्या ५० प्रतिशतले वृद्धि हो । प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान, सिरिया, अफगानिस्तान, युक्रेन र म्यान्मारमा घर फर्कनेको संख्या सबैभन्दा धेरै देखिएको छ।
यद्यपि, देश फर्किएका धेरैजसो मानिसहरूले कठिन जीवन बाँचिरहेको यूएनएचसीआरले जनाएको छ। सन् २०२५ मा करिब २९ लाख अफगानीहरू घर फर्किए, जसमा १९ लाख शरणार्थीहरू थिए। यो संख्या सन् २०२४ भन्दा झन्डै पाँच गुणाले बढी हो।
छिमेकी देश पाकिस्तान र इरानले अफगानी शरणार्थीमाथि कडाई गरेपछि बाध्य भएर उनीहरू घर फर्कनुपरेको यूएनएचसीआरको प्रतिवेदनमा उल्लेख छ। सन् २०२४ मा ५८ लाख रहेको विश्वव्यापी अफगान शरणार्थीको संख्या घटेर सन् २०२५ मा ३७ लाखमा झरेको छ।
एक दशकभन्दा बढी समयदेखि गृहयुद्धले आक्रान्त बनेको सिरियामा डिसेम्बर २०२४ मा बसर अल-असदको सरकार ढलेपछि सन् २०२५ मा करिब १३ लाख मानिसहरू स्वदेश फर्किए।
जसका कारण, सन् २०२५ को अन्त्यसम्ममा विश्वव्यापी सिरियाली शरणार्थीको संख्या ६० लाखबाट घटेर ४९ लाखमा झर्यो।
'यद्यपि, देश फर्किएका धेरै मानिसहरूले असुरक्षा, व्यापक विनाश, कमजोर आर्थिक अवस्था, सीमित सेवा र रोजगारी तथा देशका केही भागहरूमा जारी हिंसा लगायतका गम्भीर चुनौतीहरूको सामना गरिरहेका छन्,' प्रतिवेदनमा भनिएको छ।
पश्चिम एशियाको संकटले सन् २०२६ मा विश्वव्यापी रुपमा बिस्थापित हुनेको संख्या बढ्नसक्ने संकेत प्रतिवेदनले गरेको छ। फेब्रुअरीको अन्त्यमा अमेरिका-इजरायलले आक्रमण गरेयता इरानमा झन्डै ३२ लाख मानिस अस्थायी रूपमा विस्थापित भएका छन् ।
२ मार्चदेखि लेबनानमा इजरायलले गरेको आक्रमण र भूमि कब्जाका कारझन्डै १० लाख मानिस विस्थापित भएको यूएनएचसीआरले जनाएको छ।
दीर्घकालीन रूपमा विस्थापित र मानवीय सहयोग आवश्यक पर्ने व्यक्तिहरूको संख्यालाई सन् २०३५ सम्ममा आधा घटाउने लक्ष्य राखिएको यूएनएचसीआरले जनाएको छ।
यसका लागि शरणार्थीहरूलाई आश्रय दिइरहेका (विशेष गरी न्यून र मध्यम आय भएका) देशहरूमा रोजगारी सिर्जना र शिक्षाका अवसरहरू वृद्धि गर्ने प्रयासहरू समावेश छन्। विश्वव्यापी रूपमा झन्डै ७० प्रतिशत शरणार्थीहरूले पाँच वर्ष वा सोभन्दा बढी समयदेखि लेबनान, जोर्डन, टर्की, इरान र पाकिस्तानजस्ता देशहरूमा आश्रय लिइरहेका छन्।
यूएनएचसीआरका उच्चायुक्त बरहाम सलिहले भने, 'शरण र संरक्षण अत्यावश्यक छ । तर लाखौँ शरणार्थीहरू आफ्नो जीवन पुनर्जीवित गर्ने कुनै वास्तविक सम्भावना बिना नै वर्षौँ वा दशकौँसम्म अलपत्र परिरहने अवस्था हामी स्वीकार गर्न सक्दैनौँ ।'
