फिलिपिन्समा भूकम्पले मृत्यु हुनेको संख्या ३७ पुग्‍यो

४८७ जना घाइतेको पहिचान भएको छ

जेष्ठ २६, २०८३

कान्तिपुर संवाददाता

Death toll from Philippines earthquake rises to 37

काठमाडौँ — फिलिपिन्समा  ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ३७ जनाको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरुले गरेका छन् । ४८७ जना घाइतेको पहिचान भएको छ । यो संख्या अझै बढ्न सक्ने अधिकारीहरूले आशंका गरेका छन्।

भूकम्पपछि दक्षिणी फिलिपिन्समा सयौँ पराकम्पनहरू गएका छन्। सोमबार बिहान गएको उक्त भूकम्पले इन्डोनेसिया, मिन्डानाओको दक्षिणी क्षेत्र र जापानको प्रशान्त महासागर क्षेत्रमा समेत प्रभाव पारेको छ । भूकम्पपछि सुनामीको त्रासमा दशौं हजार मानिस बिस्थापित भएका थिए । 

उद्धारकर्ताहरू तटीय सहर र बजारहरूमा राहत सामाग्रीसहित पुग्‍न थालेका छन् । 

यहाँ भवनहरू भत्किएका र सडकहरू चर्किएका छन् । कतिपय स्थानमा पहिरोले बाटो अवरोध गरेको छ । टापुका धेरै हिस्सामा अझै पनि बिजुली र टेलिफोन सेवा विच्छेद छ।

'हामी मृतकको संख्या अझै नबढोस् भन्ने कामना गर्दछौँ । तर यो संख्या परिवर्तन हुन सक्ने अनुमान छ। अहिलेको हाम्रो प्राथमिकता खोजी र उद्धार कार्य हो,' विपद् व्यवस्थापनको रेखदेख गर्ने निकायका सह-सचिव बर्नार्डो अलेज्यान्द्रोले डीजेटएमएम रेडियोलाई भने ।

उनले कम्तीमा २,००० घर र ६,००० सरकारी विद्यालयहरूमा क्षति पुगेको अनुमान गरिएको बताए । 

'प्यासिफिक रिङ अफ फायर' क्षेत्रमा रहेकाले फिलिपिन्समा  भूकम्प जाने जोखिम उच्च छ ।  यहाँ समय-समयमा भूकम्प जाने र ज्वालामुखी विस्फोट हुने गर्दछ।

सोमबार बिहान देशको दक्षिणी भागमा रहेको कोटाबाटो ट्रेन्‍चमा भएको हलचलका कारण भूकम्प गएको भूगर्भविद्हरुले बताएका छन् । 

कान्तिपुर

Link copied successfully