७.८ म्याग्निच्युडको भूकम्पपछि १.३ देखि ६.७ म्याग्निच्युडसम्मका १३० भन्दा बढी परकम्पहरू मापन
काठमाडौँ — फिलिपिन्सको दक्षिणी भेगमा पर्ने मिन्डानाओ टापुको तटमा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १९ जनाको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेको छ ।
सोमबार स्थानीय समयअनुसार बिहान ०७:३७ बजे भूकम्प गएको हो । भूकम्पमा ठूलो जनधनको क्षति भएको आँकलन गरिएको छ । तर, क्षतिको विस्तृत विवरण आइसकेको छैन ।
भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया, जापान र अष्ट्रेलियामा सुनामीको चेतावनी जारी गरिएको थियो ।बीबीसीले एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै साउथ कोटाबाटो, सुल्तान कुदारात, सारङ्गानीजस्ता धेरै प्रान्तहरू र सान्तोस सहरमा कम्तीमा १३४ जना घाइते भएको उल्लेख गरेको छ।
तर, यी सङ्ख्याहरू राष्ट्रिय विपद् निकायद्वारा पुष्टि हुन बाँकी छ। फिलिपिन्समा अहिले उद्धार तथा राहतमा प्रहरी, स्थानीय अधिकारी र विभिन्न संस्थाहरू जुटिरहेका छन् । राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै निकायले समन्वयका साथ काम गरिररहेको बताए ।
'राष्ट्रिय सरकार सक्रिय छ र हामी मिन्डानाओलाई एक्लै छोड्ने छैनौँ,' उनले भने । फिलिपिन्सका विद्यालयहरुमा यस शैक्षिक सत्रको पढाई सोमबारबाटै सुरु भएको थियो ।
उक्त भूकम्पपछि मार्कोसले प्रभावित क्षेत्रहरूमा कक्षा सञ्चालन बन्द गर्न पनि आदेश दिएका छन् । सार्वजनिक भिडियोहरुमा विभिन्न भवनहरु ढलेका देखिन्छन् ।
पहिलो भूकम्पपछि १.३ देखि ६.७ म्याग्निच्युडसम्मका १३० भन्दा बढी परकम्पहरू मापन गरिएको छ।
