भारतीय शिक्षाविद् खान सर किन विवादमा तानिए ?

खान सरका नामले चर्चित फैजल खानविरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ । उनको इन्स्टिच्युटका दुई सुरक्षा गार्डलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जेष्ठ २४, २०८३

एजेन्सी

Why was Indian educationist Khan Sir embroiled in controversy?

What you should know

नयाँदिल्ली — भारतमा खान सर नामले चिनिने लोकप्रिय शिक्षाविद् फैजल खान अहिले विवादमा छन् । २ जुनमा पटनाको मुसल्हपुर हाट क्षेत्रमा रहेको उनको कोचिङ इन्स्टिच्युट ‘खान ग्लोबल स्टडिज’ (केजीएस) मा एक समूहले तोडफोड गर्नुका साथै भवनमा ढुंगामुढा गरेको थियो ।

प्रतिस्पर्धी कोचिङ इन्स्टिच्युटसँग जोडिएका व्यक्तिहरूको यस तोडफोडमा संलग्‍नता हुन सक्ने दाबी खान सरको थियो । यद्यपि, यसको सत्यतथ्य प्रहरी छानबिनले बाहिर ल्याउने उनले बताएका थिए । तर, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएसँगै खान सर आफैं विवादमा तानिए । यस भिडियोमा उनको केजीएस इन्स्टिच्युटका दुई सुरक्षा गार्डहरूले हावामा गोली चलाइरहेको देखिन्छ ।

यसपछि खान सरविरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा एफआईआर दर्ता भएको छ । खान सरले गोली चलाउनका लागि सुरक्षा गार्डहरूलाई निर्देशन दिएको उजुरीकर्ताको दाबी छ । बिहार प्रहरीले गोली चलाउने दुई सुरक्षा गार्डहरूलाई नियन्‍त्रणमा लिइसकेको छ । भिडियो फुटेजमा देखिएका हतियारहरू जफत गरेको छ र गोली चले/नचलेको विषयमा अनुसन्धान गरिरहेको छ । खान सरलाई पनि प्रहरीमा आत्मसमर्पण गर्न भनिएको थियो । जसलाई उनले टेरेनन् । उनले आफूविरुद्ध षड्यन्‍त्र भएको बताएका छन् ।

प्रहरीले उनको व्यापक खोजी गरेको थियो । उनका वकिल अरविन्द कुमार मौरले सोमबार अदालतमा धरौटी माग गर्ने बताएका छन् । प्रहरीले यसअघि नै तोडफोडको आरोपमा प्रतिस्पर्धी कोचिङ सेन्टरका निर्देशकसहित तीन जनालाई पक्राउ गरिसकेको छ । अनुसन्धान जारी छ र अधिकारीहरूले घटनाको वास्तविकता र त्यसमा संलग्न व्यक्तिहरूको भूमिका पत्ता लगाउन प्रयास गरिरहेका छन् ।

खान सर को हुन् ?

खान सरको जन्म १९९३ मा उत्तर प्रदेशको देवरियामा भएको थियो । उनले इलाहाबाद विश्वविद्यालयबाट बीएस्सी र एमएस्सी गरेका छन् । त्यस्तै भूगोल विषयमा पनि स्नातकोत्तर गरेका छन् । उनी भारतका प्रख्यात शिक्षाविद् हुन् । ठट्टा गर्दै पढाउने शैली र जटिल विषयहरूलाई सरल बनाउने अनौठो क्षमताका कारण उनी निकै प्रसिद्ध छन् । पटनामा केवल ६ विद्यार्थीलाई उनले कोचिङ पढाउन थालेका थिए । तर चाँडै नै उनको अध्यापन शैलीलाई धेरैले रुचाए । त्यसपछि ठूलो संख्यामा मानिसहरू उनको कक्षामा आउन थाले ।

सन् २०१९ मा उनले युट्युबमा खान जीएस रिसर्च सेन्टर नामक च्यानल खोले । यसमा अहिले २ करोड ५९ लाखभन्दा धेरै सब्स्क्राइबर छन् । उनले इतिहास, भूगोल, राजनीति र समसामयिक विषयमा भिडियो बनाउने गरेका छन् । उनले सन् २०२१ मा खान सर अफिसियल एप सार्वजनिक गरेका थिए । जसले अनलाइन कोर्स तथा शैक्षिक सामग्रीहरू उपलब्ध गराउँछ । भारतका दसौं लाख विद्यार्थीलाई अनलाइनमार्फत सर्वसुलभ शिक्षा उपलब्ध गराएका कारण उनी प्रख्यात छन् ।

एजेन्सी

Link copied successfully