३९ देशमाथि कडाई गर्ने ट्रम्पको नीति अदालतले उल्ट्याइदियो

गत मार्चमा आप्रवासन सेवा सम्बन्धी काम गरिरहेका संघसंस्था र मजदूर युनियनहरुले दायर गरेको याचिकाका आधारमा यो फैसला भएको हो ।

जेष्ठ २३, २०८३

रासस/एपी

Court overturns Trump's policy of tightening restrictions on 39 countries

काठमाडौँ — एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका ३९ देशका नागरिकलाई आप्रवासनमा कडाई गर्नेगरी ट्रम्प प्रशासनले ल्याएको नीतिलाई एक संघीय न्यायाधिसले शनिबार उल्ट्याइदिएका छन् ।

रोडे आइल्यान्डस्थित प्रोभिडेन्सका युएस डिस्ट्रिक चिफ जज जोन म्याककोनेल जुनियरले यस नीति कानुनविपरीत रहेको बताए । उनले आफ्नो आदेशमा भनेका छन्, ‘यस नीतिले अमेरिकामा बस्दै आएका असंख्य आप्रवासीहरुको जीवनलाई अन्योलमा पारिदिएको छ ।’युएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिस (युएससीआइएस) ले कानुनलाई नजरअन्दाज गरेको पनि उनले बताएका छन् ।  

गत वर्ष डिसेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा हस्ताक्षर गरेका थिए । संघीय सरकारले ल्याएको यस नीतिले ३९ देशका नागरिकलाई अमेरिकामा शरण खोज्न, कार्य अनुमति लिन, ग्रिनकार्ड लिन तथा नागरिकताका लागि आवेदन दिन कठिन भएको थियो । गत मार्चमा आप्रवासन सेवा सम्बन्धी काम गरिरहेका संघसंस्था र मजदूर युनियनहरुले दायर गरेको याचिकाका आधारमा यो फैसला भएको हो ।

त्यस्तै पछिल्ला आप्रवासन नीतिहरू लागू गर्दा युएससीआइएसले आफूसँग नभएको कानुनी र नियामक अधिकार प्रयोग गरेको निष्कर्ष पनि उनले निकालेका छन् । उनले  युएसआइएसलाई कानुनविपरीत, मनोनमानी र अस्थिर कार्यहरु बन्द गर्न आदेश दिएका छन् । 

‘यो आदेशले आधारभूत सिद्धान्तप्रतिको प्रतिवद्धता दोहोर्‍याएको छ । जसअनुसार संघीय सरकारले कानुनी आप्रवासनका बाटाहरुलाई बन्द गर्न वा मानिसहरुलाई उनीहरु आएको ठाउँका आधारमा विभेद गर्न पाउँदैन भन्ने पुष्टि भएको छ,’ पीडितका पक्षबाट कानुनी लडाँइ लडेकी डेमोक्रेसी फरवार्डकी अध्यक्ष तथा सिइओ स्काई पेरिम्यानले भनिन् ‘यस्ता गैरकानुनी नीतिहरुले परिवार, कामदार, शरण खोज्ने र विभिन्न समुदायमा अन्योल सिर्जना गरेको थियो । उनीहरु काम गर्न, संरक्षण खोज्न वा आफ्नो जीवनमा प्रगति गर्न असमर्थ थिए ।’

होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टअन्तर्गत काम गर्ने निकाय युएससीआईएसले अमेरिकामा बसोबास गर्नेहरुलाई शरण दिने काम गर्छ ।

यो फैसलापछि यात्रा प्रतिबन्ध लगाइएका देशका मानिसहरुले न्याय पाउने विश्वास अमेरिकी आप्रवासन वकिल संघका सरकार सम्बन्धका वरिष्ठ निर्देशक शेभ दलाल धेनीले व्यक्त गरिन् ।

‘यो एक महत्वपूर्ण कानुनी जीत हो । यसले कानुनी आप्रवासनका बाटोहरु खुला राख्न र युएससीआईएसले जवाफदेही साथ काम सुनिश्चित गर्नेछ ,’ उनले भनिन् ।

आप्रवासी समुहहरुले यो फैसलाको स्वागत गरेका छन् ।

‘कुनै पनि प्रशासनले संसद्द्धारा बनाइएको कानुनलाई बेवास्ता गर्न सक्दैन र राष्ट्रियतालाई आधार देखाएर आप्रवासनका सुविधाहरुबाट कसैलाई पनि वन्चित गर्न सक्दैन भन्ने शक्तिशाली नजिर यस फैसलाले स्थापित गरिदिएको छ,’ इरानी अमेरिकी काउन्सिलका अध्यक्ष जमाल अब्दीले भने ।

रासस/एपी

Link copied successfully