नयाँ दिल्लीमा सीजेपीको प्रदर्शन, युवाहरुको उल्लेख्य सहभागिता

अनलाईन ठट्टाका रुपमा सुरु भएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले छोटो समयमै ठूलो संख्यामा युवाहरुलाई भेला गरेर सरकार विरोधी प्रदर्शन गरेको हो ।

जेष्ठ २३, २०८३

एजेन्सी

CJP's demonstration in New Delhi, significant participation of youth

काठमाडौँ — भारतको नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा कक्रोज जनता पार्टी (सीजेपी) को आव्हानमा भएको विरोध प्रदर्शनमा सयौं युवाहरु सहभागी भएका छन् । भेला भएका ठूलो संख्याका युवाहरुले ‘कक्रोचको मास्क’ लगाएका थिए । उनीहरुले हातमा राष्ट्रिय झन्डा र पाठ्यपुस्तक बोकेका थिए । 

सिजेपीका संस्थापक ३० वर्षीय अभिजित दिपकेले शनिबार यस आन्दोलनको अगुवाई गरे । अमेरिकाको बोस्टमा अध्ययन गर्दै गरेका उनी शनिबारै नयाँ दिल्ली आइपुगेका थिए । ‘साङ्लाहरुले डर मान्दैनन्,’ प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनले भने ।  इन्स्टाग्राममा सिजेपीसँग मुलधारका पार्टीहरुभन्दा धेरै फलोअर्स छन् । एक महिना नबित्दै २ करोडभन्दा धेरैले सिजेपीलाई फलो गरिसकेका छन् । 

‘यदी शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएनन् भने सीजेपीले भारतका धेरै शहरमा साताभर प्रदर्शन गर्नेछ । त्यसपछि अर्को साता फेरि जन्तरमन्तरमा आन्दोलन गर्नेछ,’ उनले भने,‘पछिल्ला १०–१२ वर्षदेखि हामी हिन्दू–मुस्लिम राजनीतिमा फसेका छौं । के यसले कसैलाई रोजगारी दिएको छ ? यो सबैबाट कसले फाइदा लिएको छ ? यसविरुद्ध लड्नका लागि म आफ्नो स्वतन्त्रताको बलिदानी दिन पनि तयार छु,’ उनले भने । 

उनले युवाहरुको अभियानलाई कमजोर पार्नका लागि विगतमा सरकारले सीजेपीको एक्स एकाउन्टलाई डिलिट गर्ने प्रयास गरेको बताए । ‘यो देशका युवा र विद्यार्थीहरुले आफुलाई बेचिसकेका छैनन् । यो अभियानलाई दबाउने प्रयास भएको थियो । तिमीहरुले हाम्रो पोस्ट डिलिट गर्नसक्छौं । तर हामीलाई मेटाउन सक्दैनौं ।’

अनलाईन ठट्टाका रुपमा सुरु भएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले छोटो समयमै ठूलो संख्यामा युवाहरुलाई भेला गरेर सरकार विरोधी प्रदर्शन गरेको हो । युवाहरुले विभिन्न परीक्षाका प्रश्नपत्र चुहावट, रोजगारीको कमी र घट्दो आर्थिक अवसरको विरोध गरेका छन् । उनीहरुले प्रश्नपत्र चुहावट तथा परीक्षा स्थगित भएको विषयमा नैतिक जिम्मेवारी लिएर केन्द्रीय शिक्षामन्त्री धर्मेद्र प्रधानले राजीनामा दिनुपर्ने माग राखे ।

चिकित्सा शास्त्रको प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट भएको पुष्टि भएसँगै सरकारले ३ मेमा सम्पन्न परीक्षा स्थगित गरेको थियो । जसकारण, झन्डै २० लाख युवाहरुले दोहोर्‍याएर परीक्षा दिनुपर्ने भएको छ । सरकारमा जवाफदेहिताको कमी भएकाले यस्तो घटना निम्तिएको भन्दै सीजेपीले शिक्षामन्त्री प्रधानको राजीनामा माग गरेको छ । 

आन्दोलनका क्रममा  दिल्ली पुलिसले ६ जनालाई हिरासतमा राखेको छ । प्रदर्शनकारी र सरकार समर्थकबीच मुडभेड हुनसक्ने अवस्था देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन् । प्रदर्शन चलिरहदाँ केही युवाहरु ‘जय श्री राम’ नारा लगाउँदै आएका थिए । प्रहरीले आन्दोलनमा घुसपैठ हुनबाट रोक्नका लागि उनीहरुलाई नियन्त्रणमा लिएर आन्दोलनस्थल बाहिर लगेको थियो । 

चर्चित शैक्षिक अभियन्ता सोनाम वाङचुक, भारतीय  कम्युनिष्ट पार्टी (सीपीआई)  नेतृ एन्नी राजालगायत चर्चित अनुहारहरु यस प्रदर्शनमा सहभागी भए । सीपीआईका नेता विनोय विश्वामले प्रदर्शनका क्रममा एन्नीमाथि राष्ट्रिय स्वयंम्सेवक संघ (आरएसएस) का कार्यकर्ताहरुले गरेको कुटपीटको निन्दा गरेका छन् । त्यस्तै, सीजेपीको अभियानमा आफ्नो समर्थन रहेको बताएका छन् ।

आम आद्मी पार्टी (आप) का प्रमुख अरबिन्द केजरीवालले पनि ‘कक्रोच अभियान’ मा आफ्नो समर्थन रहेको बताएका छन् । देशमा युवाहरुले भोग्दै आएको तिव्र आक्रोश र निशाराको अभिव्यक्तीस्वरुप यो आन्दोलन प्रकट भएको उनले बताए । सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा राख्दै उनले आन्दोलनकारीहरुलाई अराष्ट्रियको संज्ञा दिनुको साटो सरकारले उनीहरुका चिन्ता र माग सम्बोधन गर्नुपर्ने बताए । उनले तत्कालै शिक्षामन्त्री धमेन्द्र प्रधानलाई पदबाट हटाउन प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग गरे । 

 शिव सेनाका नेता उद्धव ठाकरेले पनि यस प्रदर्शनमा आफ्नो समर्थन रहेको बताएका छन् । उनले युवाहरुको आवाजलाई दबाएर अघि बढ्ने गल्ति सरकारले गर्न नहुने बताए । शिव सेनाका अर्का नेता सञ्जय राउतले सामाजिक सञ्जालमार्फत ठाकरेले पठाएको सन्देश सार्वजनिक गरेका हुन् । 

समाजवादी पार्टीका प्रमुख अखिलेश यादवले पनि यस प्रदर्शनमा आफ्नो समर्थन रहेको बताएका छन् । उनले अहंकारी शासकसमक्ष प्रदर्शनकारीको आवाज पुग्नुपर्ने बताए । 

व्यङ्ग्यात्मक विरोधबाट गम्भीर राजनीतिक आन्दोलनमा

सीजेपी एउटा अभियानका रुपमा सुरु भएको एक महिना पनि भएको छैन । तर, यसले भारतमा अवसर नपाउँदा निराश भएका युवाहरुलाई सामाजिक सञ्जालमार्फत सुशासनका पक्षमा आवाज दरिलो बनाउन एउटा ठूलो मञ्च प्रदान गरेको छ ।

मे १५ मा सर्वोच्च अदालतमा भएको सुनुवाइको क्रममा भारतका प्रधानन्यायाधीश सूर्य कान्तले विवादास्पद टिप्पणी गरेपछि सीजेपीको उदयको बाटो खुलेको थियो । वरिष्ठ अधिवक्ताहरूको पद विवादबारे परेको मुद्दाको सुनुवाईका क्रममा उजुरीकर्ता अभिवक्तालाई प्रधानन्यायाधीशले सोधेका थिए, ‘समाजमा पहिले नै यस्ता परजीवीहरू छन् जसले प्रणालीमाथि हमला गर्छन, र के तपाईं उनीहरूसँग हात मिलाउन चाहनुहुन्छ?’

उनले थपेका थिए, ‘देशमा साङ्लाजस्ता युवाहरू छन् । जसले कुनै रोजगारी पाउँदैनन, जसको पेशामा कुनै स्थान छैन । तीमध्ये कोही मिडियाकर्मी बन्छन्, कोही सामाजिक सञ्जालमा लाग्छन्, कोही आरटीआई कार्यकर्ता बन्छन् । कोही अन्य कार्यकर्ता बन्छन र तिनीहरूले सबैलाई आक्रमण गर्न थाल्छन् ।’ उनलाई टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा विरोधको ठूलो स्वर सुनिएको थियो ।

१६ मेमा अभिजित दिपकेले सामाजिक सञ्जाल एक्समार्फत सोधे, ‘यदि सबै साङ्लाहरू एकजुट भए भने के होला ?’ यो प्रश्न ठट्टामा गरिएको थियो, र पछि त्यही दिन, आफूले पाएका केही प्रतिक्रियाहरूबाट प्रेरित भएर दिपकेले ‘भारतको प्रणालीबाट बाहिर रहेका सबै युवाहरुलाई समेट्नेगरी नयाँ मञ्च घोषणा गरिएको दाबी गरे ।

यसलाई ‘कक्रोच जनता पार्टी’ (सीजेपी) नाम दिइएको थियो । यससँगै एउटा वेवसाइटको लिंक पनि थियो । पार्टीमा सामेल हुन चाहनेहरूले पूरा गर्नुपर्ने केही मापदण्डहरू उक्त वेवसाइटमा उल्लेख थिएः जसमा बेरोजगार, अल्छी, निरन्तर अनलाइन बस्ने र व्यावसायिक रूपमा गनगन गर्न सक्ने हुनुपथ्र्यो ।  सीजेपीको व्यङ्ग्यपछि प्रधान न्यायाधिसले आफ्नो बोली सबै युवाप्रति लक्षित नरहेको भन्दै स्पष्टीकरण दिनुपर्यो ।  

अभिजित दिपके युवाहरुको नयाँ नेताका रुपमा उदाए । बोस्टनमा पढ्न जानुअघि सन् २०२० देखि २०२३ सम्म उनले आम आदमी पार्टीको सामाजिक सञ्जाल विभाग पनि हेरेका थिए । तर, अहिलेको अभियानसँग पुराना कुनै पनि पार्टीको कुनै सम्बन्ध नरहेको उनले बताएका छन् ।

सीजेपीले भारतको राजनीतिक विसंगतिमाथि चोटिलो प्रश्न गरेकाले पनि युवाहरुमाझ यसले चाडों लोकप्रियता कमाएको हो । यसको वेवसाइटमा पाँच माग समेटिएको घोषणा पत्र पनि छ ।

जहाँ लेखिएको छ : सीजेपीको सरकार आएमा प्रधान न्यायाधिसलाई अवकाशपछि राज्यसभामा कुनै सिट सुनिश्चित हुनेछैन, कुनै वैध मतलाई खारेज गर्ने वा हटाउने कार्य भएमा आतंकवादी क्रियाकलाप सरह कारबाही हुनेछ,  सञ्चारमाध्यमलाई स्वतन्त्र राख्नका लागि अम्बानी र अदानीको स्वामित्वमा रहेका मिडियाहरुको लाइसेन्स खारेज गरिनेछ, निर्वाचन क्षेत्र नबढाई महिलालाई संसद् र मन्त्रिपरिषद्मा ५० प्रतिशत आक्षरण व्यवस्था गरिनेछ,  एउटा दल त्यागेर अर्को दलमा जाने सांसद्का हकमा २० वर्ष चुनाव लड्न नपाइने व्यवस्था गरिनेछ । 

यसरी एउटा राजनीतिक व्यङ्ग्यका रुपमा सुरुवात भएको सीजेपी अभियानले भौतिक रुपमा आयोजना गरिएको पहिलो विरोध प्रदर्शनमै ठूलो संख्यामा युवाहरुको साथ पाएको छ ।

विशेषगरी जेनजी उमेरका युवाहरु यो प्रदर्शनमा धेरै देखिए । भारतको आवधिक श्रम शक्ति सर्वेक्षण २०२५ अनुसार (१५–२९) वर्ष उमेरका झन्डै १० प्रतिशत युवा बेरोजगार छन् । सीजेपीले सुशासन, जवाफदेहिता र अवसरको कमीलाई आफ्नो प्रमुख मुद्दा बनाएको छ । 

एजेन्सी

Link copied successfully