सीजेपीले सामाजिक सञ्जालमा ठूलो समर्थन पाइरहे पनि राजनीतिक दलका रूपमा अहिलेसम्म दर्ता भएको छैन ।
काठमाडौँ — कक्रोज जनता पार्टी (सीजेपी) ले नयाँ दिल्लीको जन्तर–मन्तरमा विरोध प्रदर्शन थालेको छ । यस प्रदर्शनमा सीजेपीका संस्थापक अभिजित दिपके पनि उपस्थित छन् ।
हजारौं प्रदर्शनकारी एकजुट भएका छन् । उनीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन् ।
दिपके शनिबार बिहान ७ बजेर ४५ मिनेट जाँदा नयाँ दिल्लीमा अवतरण भएका हुन् । यसअघि उनी अमेरिका बस्दै आएका थिए । दिल्ली एयरपोर्टबाट निस्कनासाथ उनले अम्बेडरको पुस्तक हातमा उठाएका थिए । त्यसपछि उनी उक्त पुस्तक लिएर आन्दोलनमा सहभागी भए । जन्तर–मन्तरमा सीजेपीको आज पहिलो प्रदर्शन हो ।
चिकित्साशास्त्रको प्रवेश परीक्षासहित विभिन्न परीक्षाको प्रश्नपत्र बाहिरिएको विरोधमा उनीहरूले शिक्षामन्त्री प्रधानको राजीनामा माग गरेका हुन् ।
सीजेपीले सामाजिक सञ्जालमा ठूलो समर्थन पाइरहेको छ । तर, राजनीतिक दलका रूपमा अहिलेसम्म दर्ता भएको छैन । सामाजिक सञ्जालमा प्रख्यात् भएयता यो नै पार्टीको पहिलो विरोध जुलुस हो ।
