फाइनान्सियल टाइम्ससँग कुराकानी गर्दै दिप्केले व्यङ्ग्यात्मक अनलाइन अभियानबाट रुपान्तरित भएर एउटा गम्भीर युवा अभियानका रुपमा सीजेपीलाई अघि बढाउने तयारी भएको बताए ।
काठमाडौँ — भारतको शिक्षा प्रणालीमा देखिएका बेथितिविरुद्ध विरोध प्रदर्शनको तयारी गरिरहेको 'कक्रोच जनता पार्टी' (सीजेपी) ले तीनजना प्रवक्ता नियुक्त गरेको छ ।
पूर्व खोज पत्रकार सौरभ दासले पार्टीको मुख्य प्रवक्ताको रूपमा काम गर्नेछन् । त्यस्तै, राजनीतिक अनुसन्धानकर्ता तथा फिल्म निर्माता विजेता दहिया र पूर्व व्यवस्थापन परामर्शदाता आशुतोष रांकाले जनता र सञ्चारमाध्यमसामु संस्थाको प्रतिनिधित्व गर्नेछन् ।
सीजेपीले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, 'सीजेपी भारतको राजनीतिक बहसलाई परिवर्तन गर्न प्रतिबद्ध छ र यसको नेतृत्व नयाँ पुस्ताका नेताहरूले गर्नेछन् ।'
विभिन्न परीक्षाका प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सीजेपीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको सीजेपीको राजीनामा माग्दै शनिबार विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।
अहिले अमेरिकाको बोस्टनमा रहेका पार्टीका संस्थापक अभिजीत दिप्के यस आन्दोलनका लागि भारत आउनेछन् ।भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाङचुकले पनि यस प्रदर्शनमा सहभागी हुने बताएका छन् ।
फाइनान्सियल टाइम्ससँग कुराकानी गर्दै दिप्केले व्यङ्ग्यात्मक अनलाइन अभियानबाट रुपान्तरित भएर एउटा गम्भीर युवा अभियानका रुपमा सीजेपीलाई अघि बढाउने तयारी भएको बताए ।
भारतका प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवाहरूलाई 'कक्रोच' (साङ्लो) र 'परजीवी' सँग तुलना गरेपछि, त्यसको व्यङ्ग्यस्वरूप अभिजीत दीप्केले यो डिजिटल अभियान सुरु गरेका थिए । यसले चाडैं नै सामाजिक सञ्जालमा ठूलो संख्यामा मानिसहरुलाई आकर्षित गर्यो ।
'हामीसँग इन्स्टाग्राममा २ करोड २० लाखभन्दा बढी फलोअर्स छन् । हाम्रो आधिकारिक वेबसाइटमा ११ लाखभन्दा बढी दर्ता भएका सदस्यहरू छन् ।
उनीहरूमध्ये अधिकांशले हामीलाई केवल व्यंग्यात्मक वा प्यारोडी पार्टीमात्रै होइन, युवाहरुका मुद्दा गम्भीर रुपमा उठाउने आन्दोलनका रुपमा हेर्न चाहेका छन्,' अमेरिकाको बोस्टनबाट दिप्केले भने ।
३० वर्षका दिप्केले भर्खरै बोस्टनमा स्नातकोत्तरको पढाई पूरा गरेका छन् । उनले बोस्टन जानुअघि २०२०-२३ सम्म आम आद्मी पार्टीको सामाजिक सञ्जाल विभागमा काम गरेका थिए ।
तर, अहिले सुरु गरेको अभियानसँग परम्परागत पार्टीहरुको कुनै सम्बन्ध नरहेको उनले बताएका छन् । दिप्केले आफुमाथि अनलाइनमार्फत ज्यान मार्ने धम्कीहरु आइरहेको भएपनि धम्कीसँग नडराउने बताएका छन् ।
