युरोपेली नेताहरुले गरे लेबनानमा इजरायली आक्रमणको निन्दा

इजरायली सेनाले आइतबार लेबनानको मध्ययुगीन ब्युफोर्ट क्यासल कब्जा गरेको थियो

जेष्ठ १८, २०८३

एएफपी

European leaders condemn Israeli attack on Lebanon

काठमाडौँ — युरोपेली नेताहरूले लेबनानमा इजरायलको बढ्दो आक्रमणको निन्दा गरेका छन् । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोले ‘दक्षिणी लेबनानमा भइरहेको ठूलो तनावलाई कुनै पनि कुराले न्यायोचित ठहर गर्न नसक्ने बताए ।

उनले तत्कालै युद्ध अन्त्य गर्न माग गरे । त्यस्तै, बेलायत र जर्मनीका विदेशमन्त्रीले पनि लेबनानमा भइरहेको इजरायली आक्रमणको निन्दा गरेका छन् । 

इजरायली सेनाले आइतबार लेबनानको मध्ययुगीन ब्युफोर्ट क्यासल कब्जा गरेको थियो । हिजबुल्लाहसँगको युद्धका दौरान इजरायलले लिटानी नदीसम्मको भूभाग यसअघि नै नियन्त्रण लिइसकेको छ ।

अहिले इजरायली सेना यसबाट ६ माइल उत्तरतर्फ जहरानी नदीसम्म अघि बढ्दैछ । एएफपीका अनुसार लेबनानमा २६ वर्षयता इजरायलले यति ठूलो भूभाग कब्जा गरेको यो पहिलोपटक हो ।

इजरायली सेनाले हिजबुल्लाहलाई पूर्वाधार बनाउन र आधार स्थापना गर्नबाट रोक्नका लागि यस्तो कदम चालिएको जनाएको छ । 

नजिकका गाउँहरुमा हप्तौसम्म हवाई आक्रमण गरेपछि आइतबार ब्युफोर्ट क्यासल कब्जा गरिएको इजरायलका रक्षामन्त्री इजरायल काट्जले बताए । यस किल्लालाई इजरायलले सन् १९८२ र २००० मा दक्षिण लेबनान अतिक्रमण गर्नेक्रममा आधार इलाकाका रुपमा प्रयोग गरेको थियो । 

इजरायली सेना नाबाटियलाई घेरा हाल्नेगरी तयारी अवस्थामा बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो शहर दक्षिण लेबनानको आर्थिक केन्द्र तथा सांस्कृतिक क्षेत्र हो । 

इजरायल खुला विश्वविद्यालयका सिभिल–मिलिटरी रिलेशन्स स्टडीजका इन्स्टिच्युट प्रमुख प्रोफेसर यागिल लेभीले आफ्नो विजयी छवि खडा गर्नका लागि इजरायली सेनाले यस्तो काम गरिरहेको बताए ।

‘सन् १९८२ मै ब्युफोर्ट कब्जा कति महत्वपूर्ण छ भन्ने बहस भइसकेको छ,’ उनले भने,‘इजरायलले यो युद्ध जितिरहेको छैन भन्ने अनुमान सर्वसाधारणले लगाइरहेका बेला त्यसलाई चिर्नका लागि यो किल्ला कब्जा गरिएको हुनसक्छ ।’

लेभीले थपे, ‘उत्तरी समुदायमा विरोध चर्किदैछ । सैनिकहरु ड्रोन आक्रमणको जोखिममा परेसँगै सेनाभित्रैबाट आलोचनाको स्वर सुनिएको छ । हिजबुल्लाह पहिलेजस्तै सक्रिय छ र यसलाई निशस्त्रीकरण गर्ने कुनै यथार्थ योजना पनि देखिएको छैन ।’

इजरायली सेनाको यो आक्रामकताले इरान र अमेरिकाबीचको वार्ता प्रयासलाई पनि असर गर्नसक्छ । इरानले अमेरिकासँगको बिस्तृत सम्झौतामा लेबनानमा पनि युद्ध अन्त्य हुनुपर्ने माग राखेको छ । 

विश्लेषकहरुका अनुसार इजरायली अधिकारी तथा सैनिक कमाण्डरहरु इरान–अमेरिकाबीच सम्भावित सहमति हुनअघि हिजबुल्लाहलाई सक्दो क्षति पुर्‍याउने योजनामा छन् । मार्च २ मा इरानको सत्तालाई समर्थन गर्दै हिजबुल्लाहले इजरायलमाथि खुला युद्ध सुरु गरेको थियो ।

त्यसयता, इजरायली हवाई हमलाबाट लेबनानमा १२ लाखभन्दा धेरै बिस्थापित भइसकेका छन् । त्यस्तै, ३३ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । १७ अप्रिलमा लेबनान र इजरायलबीच युद्धविराम पनि भएको थियो । तर, यसका बाबजुद युद्ध रोकिएन । 

लेबनानको विद्रोही संगठन हिजबुल्लाह र इजरायल दुबैले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाउने गरेका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानको अझै भित्रसम्म पुग्ने बताएका छन् । 

एएफपी

Link copied successfully