विद्यालय, अस्पताल, प्रहरी कार्यालय र रेल स्टेसनहरूमा काम गर्ने कर्मचारीहरू पाउन क्रमशः थप कठिन हुँदै जानेछ ।
काठमाडौँ — सन् २०२५ को राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कअनुसार जापानको कुल जनसंख्या घटेर १२ करोड ३० लाख ५० हजारमा झरेको छ । सन् २०२० को जनगणनाको दाँजोमा जापानमा झन्डै ३० लाख ९० हजारले जनसंख्या घटेको हो ।
जापानमा सन् १९२० देखि सरकारले जनगणना सुरु गरेको थियो । त्यसयता सन् २०१० मा जापानको जनसंख्या सबैभन्दा उच्च १२ करोड ८० लाख हाराहारी थियो । सन् २०१५ मा पहिलोपटक जनसंख्या घटेको थियो । त्यसयता लगातार तीनवटा जनगणनामा जापानको जनसंख्या घटेको देखिएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार जापानको जनसङ्ख्या २.५ प्रतिशतले घटेको छ, जुन इतिहासकै सबैभन्दा तीव्र गिरावट हो । यसअघि सन् २०२० को जनगणनामा जनसङ्ख्या ०.७ प्रतिशतले मात्र घटेको थियो ।
हरेक पाँच वर्षमा गरिने देशव्यापी जनगणनाले विदेशी बासिन्दासहित जापानमा बसोबास गर्ने सबै व्यक्तिको उपस्थिति, उनीहरूको उमेर, लिङ्ग र रोजगारीको अवस्थाजस्ता विवरणहरू संकलन गर्ने गर्दछ ।
शुक्रबार सार्वजनिक गरिएको पछिल्लो तथ्याङ्कले जापानलाई विश्वको १२ औं धेरै जनसङ्ख्या भएको देशको रूपमा देखाएको छ, जबकि सन् २०२० को जनगणनाअनुसार जापान विश्वको ११ औं स्थानमा थियो ।
जनसंख्याका आधारमा विश्वको शीर्ष २० भित्र पर्ने देशमध्ये रुस, चीन र थाइल्याण्डको जनसङ्ख्या पनि सन् २०२० को तुलनामा २०२५ मा घटेको छ । तर सबैभन्दा ठूलो जनसांख्यिकीय ह्रास जापानमा देखिएको छ ।
जापानका ४७ वटा प्रिफेक्चर (प्रान्त) मध्ये टोकियो र ओकिनावाबाहेक बाँकी सबैमा जनसंख्या घटेको छ । टोकियोमा १ लाख ९९ हजार र ओकिनावामा १ हजारले बढेको छ । जसअनुसार, टोकियो १ करोड ४२ लाख ४० हजार बासिन्दासहित देशकै सबैभन्दा धेरै जनसंख्या भएको प्रान्तका रुपमा कायम छ । यहाँ देशभरको कुल जनसंख्याको ११.६ प्रतिशत हिस्सा बस्छ ।
टोकियो र आसपासका प्रान्तहरू कानागावा, साइतामा र चिबाका भूभाग समेटेर बनाइएको ’ग्रेटर टोकियो क्षेत्र’ को जनसंख्या सामान्य बढेर कुल ३ करोड ७० लाख पुगेको छ । तर, ग्रेटर टोकियो क्षेत्रमा कुल जनसंख्या बढेपनि टोकियोबाहेक यसका अन्य तीन प्रान्तको जनसंख्या घटेको छ । जबकि, सन् २०२० मा ग्रेटर टोकियो क्षेत्रअन्तर्गतका चारवटै प्रान्तमा जनसंख्या वृद्धि देखिएको थियो ।
ग्रेटर टोकियो क्षेत्र’ मा अहिले जापानको कुल जनसङ्ख्याको झन्डै ३० प्रतिशत हिस्सा बसोबास गर्छ । व्यापार, राजनीति र संस्कृतिको एक जीवन्त केन्द्रको रूपमा रहेको यो क्षेत्र विश्वकै सबैभन्दा धेरै जनसंख्या बस्ने शहरहरुमध्ये एक हो ।
सबैभन्दा धेरै जनसंख्या होक्काइदो प्रान्तमा घटेको छ । यहाँ २ लाख ३९ हजारले जनसंख्या घटेको छ । यसपछि सिजुओका र ह्योगो प्रान्तमा क्रमशः १ लाख ६४ हजार र १ लाख ४१ हजारले जनसंख्या घटेको छ । सन् २०२० को जनगणनामा जनसंख्या बढेका आइची, शिगा र फुकुओकाजस्ता प्रान्तहरूमा समेत सन् २०२५ मा जनसंख्या घटेको देखिएको छ ।
देशमा कुल घरधुरीको संख्या भने अघिल्लो जनगणनाको तुलनामा २.३ प्रतिशतले बढेर ५ करोड ७१ लाख २० हजार पुगेको छ । यद्यपि, प्रति घरधुरी औसत सदस्य संख्या भने सन् १९७० को ३.४५ बाट घटेर सन् २०२५ मा २.१५ मा झरेको छ । यसले जापानमा एक्लै बस्ने मानिसहरूको सङ्ख्या बढिरहेको संकेत गर्दछ । एक्लै बस्नेहरुको संख्या टोकियोमा सबैभन्दा धेरै रहेको देखिन्छ । यहाँ, प्रतिघरधुरी सदस्य संख्या १.८८ मात्र रहेको छ ।
प्रतिशतका आधारमा उत्तरी प्रान्तहरू अकिता र आओमोरीमा सबैभन्दा ठूलो ह्रास देखिएको छ । यहाँ सन् २०२० देखि २०२५ को बीचमा जनसंख्या करिब ८ प्रतिशतले घटेको छ । यी क्षेत्रहरूमा जापानका सबैभन्दा वृद्ध बासिन्दाहरू बसोबास गर्छन् भने पारिश्रमिक वृद्धिको अभाव र अत्यधिक जाडोका कारण युवाहरू क्रमशः पलायन भइरहेका छन् ।
युवाहरू रोजगारीको खोजीमा टोकियो, ओसाका, नागोयाजस्ता अन्य सहरहरूतिर लागेपछि जापानी गाउँघरहरू उजाड बन्दै गइरहेका छन् । सन् २०२३ को हाउजिङ सर्भेअनुसार देशमा १३ दशमलव ८ प्रतिशत घरहरु (झन्डै ९० लाख ) रित्तो थिए । घट्दो जनसंख्या, बढ्दो जेष्ठ नागरिकको संख्या, शहरतर्फ आप्रवासीको लहरलगायतले यसमा भूमिका खेलेको अधिकारीहरुले जनाएका थिए ।
कतिपय ग्रामीण क्षेत्रहरूमा विद्यालयहरूलाई ज्येष्ठ नागरिक हेरचाह केन्द्र र सामुदायिक केन्द्रहरूमा परिणत गरिँदैछ । सरकारी कार्यालय र अस्पतालहरूको सेवा र आकार कटौती गरिँदैछ र ग्रामिण क्षेत्रमा रेल सेवाहरू बन्द भइरहेका छन् ।
विदेशीहरूका लागि जापानको ढोका अझ बढी खुला गर्दा यो जनसंख्या गिरावटलाई सन्तुलनमा ल्याउन मद्दत पुग्न सक्छ । तर, सरकारले लामो समयदेखि आप्रवासनप्रति सतर्कता अपनाउँदै आएको छ । विश्वका ठूला अर्थतन्त्रमध्ये एक जापानमा निरन्तर घट्दो जनसंख्याले आर्थिक संकुचन ल्याउने र उसको अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रभावलाई सिमित गर्ने चेतावनी नीति–निर्माताहरूले दिदैं आएका छन् । पछिल्ला वर्षहरुमा जापानमा आर्थिक वृद्धि निकै सुस्त छ ।
अक्टुबरदेखि जापानमा लिबरल डेमोक्रेटिक पार्टीकी साने ताकाइची प्रधानमन्त्री छन् । गत जनवरीमा उनको नेतृत्वमा यस पार्टीले तल्लो सदनको निर्वाचनमा दुई तिहाई सिट जित्यो । ताकाइचीले यस निर्वाचनमा ‘जापान फस्र्ट’ नारा दिएकी थिइन् । उनले आप्रवासीमाथि कडाई गर्ने, जापानका परम्परागत मान्यताहरुलाई संरक्षण गर्नेजस्ता नीति लिएकी छिन् ।
‘जापान अहिले यस्तो अवस्थामा पुगेको छ जहाँ छोटो वा मध्यम अवधिमा यो गिरावटलाई उल्ट्याउन असम्भव जस्तै छ,’ जापानको जनसाख्यिकीबारे अध्ययन गरिरहेका प्रिन्स्टन विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक जेम्स रेमोले भने, ‘ठूलो संख्यामा विदेशी आप्रवासीहरू नभित्र्याएसम्म यो सम्भव नै छैन ।’
आगामी दशकहरूमा जापानको यो सङ्कट अझ गहिरिने जोखिम छ । विद्यालय, अस्पताल, प्रहरी कार्यालय र रेल स्टेसनहरूमा काम गर्ने कर्मचारीहरू पाउन क्रमशः थप कठिन हुँदै जानेछ । साथै, अवकाशप्राप्त वृद्धवृद्धाहरूको सामाजिक सुरक्षा र भत्ताका लागि आवश्यक कर तिर्ने युवाहरूको संख्या समेत देशमा अपुग हुन सक्छ ।
प्राध्यापक रेमोका अनुसार प्रजनन दर बढाउने जापानी सरकारका प्रयासहरूले वास्तवमै खासै ठूलो परिवर्तन ल्याउन सकेका छैनन् । उनले जापानको यो स्थिति अन्य देशका सरकारहरूका लागि एउटा पाठ हुन सक्ने बताए ।
‘’एशिया र अन्य क्षेत्रका धेरै देशहरूले ढिलो–चाँडो यस्तै प्रकारको जनसाख्यिकीय ह्रास सामना गर्नेछन्,’ उनले भने, ‘जापान यो सङ्कटको अग्रपङ्क्तिमा छ र लामो समयदेखि यो समस्या भोग्दै आएको छ ।’
