भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू–राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) ले यसै महिनाको सुरुवातमा पश्चिम बंगालको विधानसभा निर्वाचनमा दुई–तिहाई सिट जितेको थियो । त्यसयता, आप्रवासीहरु भयभीत छन् ।
काठमाडौँ — भारतको पश्चिम बंगालबाट बंगलादेश फर्कने चाहने आप्रवासीहरुका कारण अहिले भारत-बंगलादेश सीमामा भीड लागेको छ ।बङ्गलादेश सीमाबाट करिब १० किलोमिटर दूरीमा रहेको भारतको स्वरूपनगर प्रहरी चौकीका प्रहरी अधिकारी शीर्षेन्दु पातीले मङ्गलबारदेखि मानिसहरूको ओइरो लागेको बताए ।
‘आफूहरु बङ्गलादेशको नागरिक रहेको र घर फर्कन चाहेको बताउँदै मानिसहरू हिजोदेखि यहाँ आइरहेका छन्,’ पातीले एएफपीलाई भने । सरकारले बिना कागजातका (अवैध) बङ्गलादेशी आप्रवासी र रोहिङ्ग्या शरणार्थीहरूका लागि हिरासत केन्द्र (डिटेन्सन सेन्टर) निर्माण गर्न आदेश दिएपछि भाग्नेको संख्या बढेको भारतीय प्रहरीले जनाएको छ ।
पातीले मङ्गलबार करिब २०० जना तथा बुधबार सबेरै ४० जना मानिसहरू सीमा क्षेत्र नजिक आएको बताए । ‘हामीले उनीहरूको पहिचान प्रमाणित गर्न र आवश्यक कागजी प्रक्रिया पूरा गरेर उनीहरू सबैलाई होल्डिङ सेन्टरमा राखेका छौं,’ उनले भने । उनीहरुलाई भारतको सीमा सुरक्षा बल (बीएसएफ) लाई हस्तान्तरण गरी बङ्गलादेश पठाइने पनि पातीले बताए ।
‘स्थानीय प्रशासनले उनीहरूको खाना, पानी र बस्नेसहितका सबै आवश्यकताहरू पूरा गरिरहेको छ,’ पातीले थपे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू–राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) ले यसै महिनाको सुरुवातमा पश्चिम बंगालको विधानसभा निर्वाचनमा दुई–तिहाई सिट जितेको थियो । चुनावीसभामा भाजपाले आप्रवासीहरूलाई ‘पत्ता लगाउने, हटाउने र देश निकाला गर्ने’ कडा नीति अघि सारेको थियो ।
भारतका दक्षिणपन्थीहरूले लामो समयदेखि अवैध बसाइँसराइ राष्ट्रिय सुरक्षाका लागि खतरा भएको तर्क गर्दै आएका छन् । उनीहरुले बंगलादेशबाट लुकेर मानिसहरु भारत आइरहेको बताइरहेका थिए ।
पश्चिम बंगालका नवनियुक्त मुख्यमन्त्री सुबेन्दू अधिकारी नेतृत्वको सरकारले गत साता बङ्गलादेशी र रोहिङ्ग्या दुवैलाई लक्षित गर्दै पक्राउ परेका विदेशीहरूका लागि होल्डिङ सेन्टर (अस्थायी शिविर) हरू स्थापना गर्न आदेश दिएको थियो ।
यो निर्णयले पश्चिम बङ्गालका करिब ३ करोड ५० लाख मुस्लिमहरूमा चिन्ता बढाएको छ । छिमेकी बङ्गलादेशसँग उनीहरुको भाषिक र सांस्कृतिक सम्बन्ध रहेको छ ।
भाजपाका शीर्ष नेताहरूले यसअघि बङ्गलादेशी आप्रवासीहरूको विरोध गर्दै ‘धमिरा’ र ‘घुसपैठ गर्नेहरु’ भनेका थिए । भाजपाका अभिव्यक्ती र नीतिहरुले भारतका झन्डै २० करोड मुस्लिमहरुलाई असहज बनाएको आलोचकहरुले आरोप लगाइरहेका छन् ।
मुस्लिमको धार्मिक पहिचानलाई अवैध बसाइँसराइसँग जोडेर उनीहरुलाई बद्नाम गर्ने कोसिस गरिएको आलोचकहरुको आरोप छ
बङ्गलादेशसँगको खुकुलो सीमा र बसाइँसराइको लामो इतिहासका कारण पश्चिम बङ्गालमा भाजपाको नीतिले विशेष चिन्ता उत्पन्न गराएको छ ।
ढाकामा भएको २०२४ को क्रान्तिले नयाँ दिल्लीकी सहयोगी तत्कालीन प्रधानमन्त्री शेख हसिनाको निरंकुश शासनको अन्त्य गरेपछि भारत र मुस्लिम बहुल्य बङ्गलादेशबीचको सम्बन्ध चिसिएको छ । हसिना अहिले भारतमै निर्वासित छिन् ।
