लाओसमा बाढीले गुुफामा थुनिएका पाँच जनाको एक सातापछि जीवितै उद्धार, दुई अझै बेपत्ता

स्थानीय समयअनुसार बुधबार अपरान्ह १६ः३० बजे पाँचजनाको जीवितै उद्धार गरिएको हो ।

जेष्ठ १४, २०८३

कान्तिपुर संवाददाता

Five trapped in cave in Laos rescued alive after a week, two still missing

काठमाडौँ — लाओसको एक गाउँमा भारी वर्षा र पहिरोका कारण एक हप्तादेखि गुफामा थुनिएका सातजनामध्ये पाँचजनालाई उद्धारकर्ताहरूले जीवितै उद्धार गरेका छन् । दुई जनाको खोजी कार्य चलिरहेको छ ।  

स्थानीय समयअनुसार बुधबार अपरान्ह १६ः३० बजे पाँचजनाको जीवितै उद्धार गरिएको हो । अधिकारीहरुका अनुसार लाओसको जायसोम्बुन प्रान्तका विभिन्न गाउँमा बस्ने स्थानीय गत साता बुधबार सुन खानी र कन्दमुलको खोजीका लागि गुफाभित्र पसेका थिए । तर, बाढीले गुफाको प्रवेशद्वार थुनिएपछि बाहिर निस्कन सकेनन् ।

लाओसको संस्था ‘रेस्क्यु भोलन्टियर फर पिपल’ का बुनखाम लुआङलाथले एसोसिएटेड प्रेसलाई बताएअनुसार बेपत्ता भएका दुई जनाको खोजी जारी छ । उनले झन्डै १ सय उद्धारकर्ताहरु खोजीका लागि खटिएको बताए । ‘म अझै पनि काँपिरहेको छु,’ एकजना उद्धारकर्ताले भने,‘हाम्रो टोलीले यो सम्भव तुल्यायो ।’

जमिनमुनि धेरै गहिराइसम्म फैलिएको यो गुफा अत्यन्तै साँघुरो छ । उद्धारकर्ताहरुका अनुसार केही ठाउँमा यहाँ  केवल २ इन्च चौडा स्पेस छ । फिनल्याण्डका विशेषज्ञ गोताखोर मिक्को पासी (जो थाइल्यान्ड बस्छन्) पनि यस मिशनमा संलग्न छन् ।

उनले बुधबार सबेरै यो उद्धार मिशन निकै कठिन रहेको बताएका थिए । ‘उद्धारकर्ताहरूले गुफाभित्र सयौँ मिटरको निरन्तर अवरोध, बाढीको पानी, भत्किने जोखिम र दूषित हावाको उच्च जोखिमको सामना गर्दै अघि बढ्नुपर्ने  आवश्यकता छ,’ उनले भनेका थिए, ‘यो एउटा परित्याग गरिएको सुनखानी हो ।’ 

उनको अनुमानअनुसार ती सात जना व्यक्तिहरू बाहिर निस्कने ढोकाबाट करिब ३०० मिटर (९८४ फिट) दूरीमा थुनिएका थिए । राजधानी भियनतिनबाट करिब १२० किलोमिटर (७५ माइल) उत्तरमा रहेको उक्त गुफामा गाउँलेहरू गत बुधबार पसेका थिए, सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

लाओसका उद्धारकर्ता ब्याङले एएफपी समाचार एजेन्सीलाई भने, ‘यो क्षेत्र कसैको स्वामित्वमा छैन । स्थानीयहरू सामान्यतया त्यहाँ खाडल खन्न र खाना (जङ्गली खानेकुरा) खोज्न जाने गर्छन्’।’

सन् २०१८ मा १२ जना युवा खेलाडी र उनीहरुका फुटबल प्रशिक्षकलाई थाइल्यान्डको चियाङ राई प्रान्तस्थित बाढी गएको गुफाबाट सफलतापूर्वक निकाल्ने मिशनमा संलग्न भएका कतिपय उद्धारकर्ता अहिलेको मिशनमा पनि सक्रिय भए । जसमध्ये, थाई उद्धारकर्ता केङ्काच बाङ्कावोङ एक हुन् । 

उक्त असाधारण उद्धार कार्यमा विश्वभरका १०,००० भन्दा बढी विशेषज्ञहरू संलग्न थिए र यसले विश्वव्यापी रूपमा ठूलो ध्यान आकर्षित गरेको थियो । त्यस घटनामा आधारित भएर थुप्रै चलचित्र र वृत्तचित्रहरू बनेका छन्, जसमा फिचर फिल्म ’थर्टिन लाइभ्स’ र वृत्तचित्र ’द रेस्क्यु’ समावेश छन् ।

कान्तिपुर

Link copied successfully