‘इबोला प्रकोप’ ले थप संकटमा द्वन्द्वग्रस्त कंगो

प्रजातान्त्रिक गणतन्त्र कंगोको इटुरीको ग्रामीण क्षेत्रबाट फैलिएको इबोला संक्रमणबाट कम्तिमा १७७ जनाको मृत्यु भइसकेको छ।

जेष्ठ १२, २०८३

एजेन्सी

What you should know

किन्शासा — प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रकी कोकोआ विक्रेता हेलेन अकिलिमाली इबोलाको संक्रमणबाट बच्नका लागि सधैं मास्क लगाएर मात्रै सार्वजनिक ठाउँमा जान्छिन् । व्यापारका सिलसिलामा उनले धेरै मानिसहरूसँगभेट्नुपर्छ । कतिपयलाई अझै पनि इबोला वास्तविक रोग होइन भन्ने लाग्छ । उनीहरूले गर्ने व्यवहार नियन्त्रण गर्ने र त्यसबाट बच्ने उपाय हेलेनसँग छैन । 

‘इबोला वास्तविक रोग हो । मानिसहरूले गलत हल्ला फिँजाउन बन्द गर्नुपर्छ,’ अमेरिकी सञ्चारमाध्यम सीएनएनसँग अकिलिमालीले भनिन्, ‘म सधैं मास्कले अनुहार छोप्छु । तर मेरा कतिपय ग्राहक मास्क नलगाई आएका हुन्छन् ।’ इबोला भाइरसबाट अति प्रभावित पूर्वी कंगोका दुई प्रान्त इटुरी र उत्तरी किभुका स्थानीय महामारीसँगै भ्रमपूर्ण सूचनाले आक्रान्त छन् । 

विश्व स्वास्थ संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एडहानोम गेहब्रेयससले आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै कंगोमा अहिलेसम्म इबोलाका ९ सयभन्दा धेरै शंकास्पद केस भेटिएको बताएका छन् । यसअघि डब्लूएचओले कंगोमा कम्तीमा १ सय ७७ वटा मृत्युका घटना इबोलासँग सम्बन्धित हुन सक्ने जनाएको थियो । इटुरीका ग्रामीण क्षेत्रबाट इबोलाको संक्रमण सुरु भएको मानिएको छ । तर, इटुरी प्रान्तको राजधानी बुनिया र उत्तरी किभुको राजधानी गोमाजस्ता ठूला सहरमा समेत अहिले यो भाइरस महामारीका रूपमा फैलिएको छ । छिमेकी देश युगान्डामा पाँच जना संक्रमित भइसकेका छन् । दुई जनाको मृत्यु भइसकेको छ । 

अहिले फैलिरहेको इबोलाको बुन्डिबिग्यो भ्यारियन्टको संक्रमण रोकथामका लागि कुनै पनि प्रमाणित खोप उपलब्ध छैन । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले नयाँ खोप विकास गर्दै छ । तर यसलाई क्लिनिकल परीक्षणका लागि पठाउन झन्डै दुईदेखि तीन महिना लाग्ने बीबीसीमा उल्लेख छ । यो खोप प्रभावकारी हुनेछ भन्ने कुनै ग्यारेन्टी पनि अहिले छैन । यसलाई पहिले जनावर र त्यसपछि मानिसमा परीक्षण गरिनेछ । 

डब्लूएचओले शुक्रबार जारी गरेको विज्ञप्तिमा कंगोमा जोखिमको स्तर ‘अति उच्च’ रहेको र अफ्रिका क्षेत्रमा ‘उच्च’ रहेको जनाएको छ । विश्वव्यापी रूपमा यो संक्रमण फैलने सम्भावना भने कम रहेको डब्लूएचओले जनाएको छ । द्वन्द्व र अभावका कारण पूर्वी कंगोमा अवस्था निकै चुनौतीपूर्ण छ । यहाँ लामो समयदेखि सशस्त्र समूहहरू अस्तित्वमा छन् । इबोलाको महामारी फैलिएपछि असन्तुष्ट युवाले अस्पताल लगायतका सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरेका छन् । सरकारले शुक्रबार सार्वजनिक भेला र जमघटमा रोक लगाएको भए पनि सबैले त्यसलाई पालना गरेका छैनन् ।

आइतबार इटुरी प्रान्तमा रहेको एउटा इबोला उपचार अस्पतालमा आक्रोशित युवाहरूको समूहले आक्रमण गरेको छ । अस्पतालका निर्देशक डा. रिचर्ड लोकुडुका अनुसार, आफ्ना दुई आफन्तको शव आफूहरूलाई सुम्पिनुपर्ने माग राख्दै आएका युवाहरूले अस्पतालमा तोडफोड गरेका हुन् । अस्पताल परिसरमा गोली चलेपछि चिकित्साकर्मीहरूले हतारिँदै बिरामीहरूलाई अन्यत्र सार्नुपरेको थियो । उक्त झडपमा भएको क्षतिको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । गत साता मात्रै यहाँ दुई स्वास्थ्य केन्द्रमा आगजनी भएको थियो । 

सशस्त्र विद्रोही समूहको हिंसा, ठूलो संख्यामा मानिसहरूको विस्थापन, स्थानीय सरकारको असफलता र अन्तर्राष्ट्रिय सहयोग कटौतीले गर्दा यहाँको स्वास्थ्य सेवा दयनीय बनेको विज्ञहरूले बताएका छन् । ‘फिजिसियन्स फर ह्युमन राइट्स’ नामक संस्थाले अहिलेको परिस्थितिलाई ‘विनाशकारी संकटहरूको शृंखला’ भन्दै चिन्ता व्यक्त गरेको छ ।

‘सुरुमा हामीलाई यो रोग नभएर कुनै मजाकजस्तो लागेको थियो । तर जब मानिसहरू मरेको देख्यौं । त्यसपछि हामीलाई वास्तविक लाग्न थाल्यो,’ इटुरी राज्यको राजधानी बुनिया सहरका स्थानीय इली इलुङले भने, ‘यस रोगबारे भ्रामक सूचना फैलाउनेहरूले सायद अहिलेसम्म आफ्नो परिवारमा कसैलाई संक्रमण भएको वा कसैको मृत्यु भएको देखेका छैनन् ।’ इलुङले आफ्नो परिवारलाई जोगाउनका लागि घरमा वास बेसिन राखेको बताए । इबोलाबारे सतर्क रहन र अनावश्यक भ्रम नफैलाउन पनि उनले आग्रह गरे । 

युगान्डामा राष्ट्रपति योवेरी मस्इभिनीले आम जनतालाई हात मिलाउने काम बन्द गर्न आग्रह गरेका छन् । डब्लूएचओले युगान्डामा अवस्था स्थिर रहेको जनाएको थियो । संक्रमण फैलन नदिनका लागि सचेत हुन मस्इभिनीले जनतासँग आग्रह गरेका हुन् ।

अफ्रिका सेन्टर्स अफ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) ले उपचारका लागि औषधिको प्रबन्ध गर्न अधिकारीहरू तयार रहेको बताएको छ । यस संस्थाले अफ्रिकन युनियनका सबै देशहरूको स्वास्थ्य सरोकारमा समन्वय गर्छ । त्यस्तै, खोप विकास कार्यक्रमलाई पनि प्राथमिकता राखेको छ । ‘खोप विकासका लागि केही महिना लाग्छ,’ अफ्रिका सीडीसीका महानिर्देशक डा. जियन कासेयाले पत्रकारहरूसँग भने, ‘कसैले यति महिना भनेर ठोकुवा गर्न सक्दैन । गरिहालेमा त्यो साँचो होइन । केही समय लाग्छ ।’

हिंसाको चपेटा र स्रोतको अभाव 

पूर्वी कंगोमा वर्षौंदेखि दर्जनौं विद्रोही र लडाकु समूहहरू अस्तित्वमा छन् । यसमध्ये केही समूहहरूको सम्बन्ध विदेशीसँग पनि छ । कट्टरपन्थी इस्लामिक स्टेट समूहमा आबद्ध सशस्त्र समूह पनि यहाँ सक्रिय छन् । इस्लामिक स्टेटसँग आबद्ध युगान्डाको विद्रोही समूह ‘एलाइड डेमोक्रेटिक फोर्सेस’ त्यहाँको प्रमुख विद्रोही समूहहरूमध्ये एक हो । यसले सार्वजनिक पूर्वाधार र सर्वसाधारणलाई निसाना बनाइरहेको छ । रुवान्डा समर्थित एम–२३ विद्रोहीहरूले सो क्षेत्रका केही भागहरू नियन्त्रणमा लिएका छन् । इबोला प्रकोपको इपिसेन्टर उत्तरपूर्वी इटुरी प्रान्तमा कंगो सरकारको नियन्त्रण कायमै रहे पनि उपस्थिति कमजोर छ । जसकारण विद्रोहीहरूले पटक–पटक आक्रमण गर्दै आएका छन् । 

इबोला फैलनुअघि डाक्टरर्स विदाउट बोर्डर्स (एमएसएफ) ले सार्वजनिक गरेको प्रतिवेदनमा इटुरीमा सुरक्षा अवस्था कमजोर रहेको थियो । सुरक्षाका कारण चिकित्सक र नर्सहरू यहाँबाट भाग्न बाध्य भएको उक्त प्रतिवेदनमा उल्लेख थियो । संयुक्त राष्ट्रसंघको मानवीय सहायता कार्यालयका अनुसार द्वन्द्वका कारण अहिलेसम्म झन्डै १० लाख मानिस यस क्षेत्रबाट विस्थापित भइसकेका छन् । स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्दा केही क्षेत्रमा ‘विपद्पूर्ण अवस्था’ सिर्जना भएको पनि प्रतिवेदनमा उल्लेख थियो । इबोलाको प्रकोपले यहाँ थप भयावह अवस्था निम्तिएको छ । 

बुनिया सहरनजिकै रहेका ठूला विस्थापित शिविरहरूमा यो रोग फैलिन सक्ने चिन्ता छ, जहाँ इबोलाका सुरुका केसहरू पहिचान भएका थिए । एम–२३ विद्रोहीको नियन्त्रणमा रहेका दुई पूर्वी प्रान्तहरू, उत्तर किभु र दक्षिण किभुमा पनि इबोला फैलिएको छ । स्वास्थ्य विज्ञहरूका अनुसार, अमेरिका र अन्य धनी राष्ट्रहरूले गत वर्ष ठूलो परिमाणमा कंगोमा सहायता कटौती गरेका थिए । यो कदम पूर्वी कंगोका लागि विनाशकारी सावित भएको छ । फिजिसियन्स फर ह्युमन राइट्सका जनस्वास्थ्य निर्देशक थोमस म्याकहेलले भने, ‘यस कटौतीले संक्रामक रोगको प्रकोप पत्ता लगाउने र त्यसको सामना गर्ने क्षमतालाई कमजोर बनायो ।’ 

पूर्वी कंगोमा सक्रिय सहायता समूहहरूले आवश्यक सुरक्षा उपकरणहरूको संकट रहेको बताएका छन् । स्वास्थ्यकर्मीहरूलाई संक्रमणबाट जोगाउन फेस सिल्ड र सुरक्षात्मक पोसाक (सुट), परीक्षण किट तथा मृतकका शवहरू सुरक्षित रूपमा गाड्न आवश्यक पर्ने बडी ब्याग र अन्य सामग्रीहरूको अभाव भएको उनीहरूले बताएका छन् । बुनिया नजिकै सानो अस्पताल सञ्चालन गरिरहेको सहायता समूह ‘विमेन्स सोलिडारिटी फर इन्क्लुसिभ पिस एन्ड डेभलपमेन्ट’ की अध्यक्ष जुलिएन लुसेन्गेले भनिन्, ‘हामीले विभिन्न साझेदारहरूसँग अनुरोध गरेका छौं, तर हामीले अहिलेसम्म वास्तवमै केही पनि सहयोग प्राप्त गरेका छैनौं । हामीसँग केवल ह्यान्ड स्यानिटाइजर र नर्सहरूका लागि केही मास्क मात्र छन् ।’ 

अरोरा ह्युमनेटरियन इनिसिएटिभका इम्प्याक्ट निर्देशक कोलिन थोमस–जेन्सेनले कंगोका जनतामा रहेको सरकारी निकायप्रतिको गहिरो अविश्वास र आक्रोशले अस्पताल तथा स्वास्थ्य संस्थामा समेत आक्रमण निम्त्याएको बताएका छन् । ‘उनीहरूले दशकौंदेखि विदेशी सम्बद्ध विद्रोही समूहहरूबाट हिंसा भोग्दै आएका छन् । सरकार र अन्तर्राष्ट्रिय शान्ति सैनिकले त्यसबाट नागरिकलाई सुरक्षा प्रदान गर्न सकेका छैनन् । यसले उनीहरूमा आक्रोश जन्माएको छ,’ उनले भने । आक्रोशको अर्को कारण इबोलाका शंकास्पद मृतकहरूको अन्त्येष्टिसँग जोडिएका कडा प्रोटोकलहरू हुन् । रोग थप फैलिन नदिन अधिकारीहरूले आफैंले शव व्यवस्थापनको जिम्मा लिइरहेका छन् । जबकि, सामान्य अवस्थामा परिवारका सदस्य, आफन्त तथा साथीभाइ भेला भएर अन्त्येष्टि गर्ने परम्परा छ ।

एजेन्सी

Link copied successfully