सी–सरिफ भेटमा पश्चिम एशिया द्वन्द्वबारे छलफल 

चीनले पश्चिम एशिया द्वन्द्व समाधानका लागि पाकिस्तानसँग सहकार्य गर्न तयार रहेको जनाएको छ

जेष्ठ ११, २०८३

एएफपी

Xi-Sharif meet discusses West Asia conflicts

बेइजिङ — पश्चिम एशिया युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार बेइजिङमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफसँग भेटवार्ता गरेका छन् ।

अमेरिका–इरान तनाव, क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढिरहेका समयमा भएको यो उच्चस्तरीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सी जिनपिङसँगको भेटअघि प्रधानमन्त्री शाहबाज सरिफले चीनका प्रधानमन्त्री ली किआङसँग पनि वार्ता गरेका थिए ।

बेइजिङमा भएको पछिल्लो छलफलका विषयवस्तुबारे चिनियाँ सरकारी सञ्चारमाध्यमले तत्काल विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । 

पाकिस्तानी टेलिभिजनका अनुसार पाकिस्तानका सेना प्रमुख असिम मुनिर प्रधानमन्त्री सरिफसँगै चीन भ्रमणमा छन् ।

अमेरिका र इरानबीचको संवाद प्रक्रियामा इस्लामाबादको भूमिका बढिरहेका बेला मुनिरको सहभागितालाई विशेष महत्त्वका साथ हेरिएको छ ।

गत महिना पाकिस्तानले अमेरिका र इरानबीच ऐतिहासिक आमनेसामने वार्ताको आयोजना गर्दै आफूलाई प्रमुख मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेको थियो । यद्यपि, उक्त प्रयास दीर्घकालीन सम्झौतामा रूपान्तरण हुन सकेन ।

यसबीच चीनले तुलनात्मक रूपमा संयमित तर सक्रिय कूटनीतिक भूमिका निर्वाह गर्दै आएको छ । बेइजिङले टेलिफोन संवाद तथा खाडी क्षेत्रका प्रभावित मुलुकका अधिकारीहरूसँग बैठकमार्फत क्षेत्रीय तनाव कम गर्ने प्रयास जारी राखेको छ । 

बेइजिङमा चिनियाँ नेतृत्वसँगको भेटका क्रममा सरिफले विश्व अहिले महत्त्वपूर्ण मोडबाट गुज्रिरहेको बताएको पाकिस्तानी सरकारी टेलिभिजन पिटिभीले जनाएको छ । उनले अमेरिका–इरान सम्बन्ध सुधारका लागि पाकिस्तानले मध्यस्थकारी भूमिका निर्वाह गरिरहेको बताए । 

चीनले पनि  पश्चिम एशियामा द्वन्द्व समाधान र शान्ति तथा स्थिरता पुनःस्थापनाका लागि पाकिस्तानसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।

११ र १२ अप्रिलमा अमेरिका र इरानी अधिकारीहरूबीच भएको एकमात्र प्रत्यक्ष वार्ताको आयोजना पाकिस्तानले गरेको थियो । त्यस वार्तामा असीम मुनिर निकै सक्रिय भूमिकामा देखिएका थिए । तर वार्ता प्रयास सफल भएन ।  

पाकिस्तानले त्यसपछि पनि पटक-पटक वार्ता प्रयास गर्दै आएको छ ।

आइतबारमात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग धेरैवटा विषयमा सहमति भइसकेको र आधिकारीक सम्झौतापत्रमा हस्ताक्षर हुनमात्रै बाँकी रहेको बताएका थिए । सोमबार उनले सम्झौताका लागि अमेरिकालाई हतार नभएको बताए । 

एएफपी

Link copied successfully