मध्यपूर्व तनाव कम हुने अपेक्षाले कच्चा तेलको भाउ घट्‍यो

सोमबार एक समय ब्रेन्ट क्रुड ९७.९७ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भयो

जेष्ठ ११, २०८३

रासस

Crude oil prices fall on hopes of easing Middle East tensions

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी अधिकारीहरुले शान्ति वार्तामा प्रगति भइरहेको जानकारी दिएपछि सोमबार नयाँ कारोबार सुरु हुँदा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ । पश्‍चिम एशिया क्षेत्रमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने चर्चासँगै मूल्य घटेको हो । 

सोमबार एक समय वेस्ट टेक्सास कच्चा तेल घटेर ९१.२५ अमेरिकी डलरमा कारोबार भयो । जो झन्डै ५.५३ प्रतिशतको गिरावट हो । त्यस्तै ब्रेन्ट कच्चा तेल पनि  एक समय  ९७.९७ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भयो । जो, ५.३८ प्रतिशतले कम हो । 

आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँगको शान्ति सम्झौता धेरै हदसम्म टुंगिएको र अन्तिम सम्झौता गर्नमात्रै बाँकी रहेको बताएका थिए । उनले यसका लागि अमेरिका, इरान तथा मध्यपूर्वका अन्य देशहरूबीच अझै छलफल हुने बताएका थिए । 

प्रस्तावित योजनाअनुसार ६० दिनको युद्धविराम विस्तार, हर्मुज जलडमरूमध्य पुनः खोल्ने, इरानलाई पुनः तेल बिक्री गर्न दिने र इरानको आणविक कार्यक्रमबारे वार्ता गर्ने विषय समावेश छ । 

इरानले हर्मुज जलमार्ग पुनः खोल्ने कदम अघि बढाएमा अमेरिका आणविक कार्यक्रमसम्बन्धी गम्भीर वार्तामा प्रवेश गर्न तयार रहेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन् ।

यसैबीच इरानको इस्लामिक रिभोलुशनरी गार्डले पछिल्लो २४ घण्टामा ३३ वटा जहाज हर्मुज जलमार्ग पार गरेको जानकारी दिएको छ, जसले उक्त मार्ग आंशिक रूपमा सञ्चालनमा रहेको सङ्केत गर्दछ ।

ऊर्जा विश्लेषकहरूका अनुसार युद्धअघि जस्तो आपूर्ति चाँडै सामान्य अवस्थामा फर्कन कठिन छ, किनभने उत्पादन संरचनामा क्षति, केही क्षेत्रमा उत्पादन अवरोध र ढुवानी समस्याहरू अझै पूर्ण रूपमा समाधान भएका छैनन् ।

विश्लेषकहरूले तेल बजारमा आपूर्ति–माग असन्तुलन कायम रहने र मूल्य दीर्घ समयसम्म उच्च रहन सक्ने तथा २०२७ तिरमात्रै युद्धपूर्वको अवस्थामा फर्कनसक्ने बताएका छन् । 

रासस

Link copied successfully