इरानसँग धेरैवटा विषयमा सहमति भइसकेको ट्रम्पको दाबी 

इरानको अर्ध सरकारी तास्निम समाचार एजेन्सीले सहमतिका विषयमा जानकार स्रोतलाई उद्रृत गर्दै दुई देशबीच धेरै विषयमा सहमति भएपनि केही बुँदामा असहमति कायम रहेको जनाएको छ ।

जेष्ठ १०, २०८३

एजेन्सी

Trump claims to have reached an agreement with Iran on many issues

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने विषयमा धेरै महत्वपूर्ण विषयहरु टुंगिएको बताएका छन् । उनले यस सहमतिमा आधिकारीक हस्ताक्षर गर्न मात्रै बाँकी रहेको जानकारी सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत दिएका हुन् ।  हर्मुजको जलमार्ग खोल्नेबारे पनि छिट्टै घोषणा हुने उनले बताए । 

भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्‍त्री मार्को रूबियोले पनि इरानसँगको छलफलमा महत्वपूर्ण प्रगति भएको बताएका छन् । इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु अमेरिकाको मुख्य लक्ष्य रहेको उनले बताए । 

पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिर्फले अमेरिका र इरानबीच चाडैं नै नयाँ चरणको छलफल हुने बताएका छन् । शनिबार सरिर्फले तेहरानमा इरानी नेताहरुसँग छलफल गरेका थिए । उक्त छलफल निकै परिणाममुखी रहेको उनले बताए । 

इरानका राष्ट्रपति मसूद पेजेश्कियनले सर्वोच्च नेता मोज्ताबा खोमेनेइको अनुमति नलिई कुनै पनि निर्णय नहुने बताएका छन् । इरानको अर्ध सरकारी तास्निम समाचार एजेन्सीले सहमतिका विषयमा जानकार स्रोतलाई उद्रृत गर्दै दुई देशबीच धेरै विषयमा सहमति भएपनि केही बुँदामा असहमति कायम रहेको जनाएको छ । 

‘यदी अमेरिकाले अवरोध सिर्जना गरिह्यो भने सम्झौता हुने छैन,’ स्रोतलाई उद्रृत गर्दै तास्निमले लेखेको छ । दोहा इन्स्टिच्युट फर ग्राजुएट स्टडिजका प्राध्यापक मोहम्मद इल्मासरीले सम्झौतामा इरानको हात माथि हुनसक्ने बताएका छन् । ‘इरान र अमेरिकाबीच लडाइँ अन्त्य गर्ने र हर्मुज जलमार्ग खोल्ने , अनि असहमतिका विषय थाँती नै राख्नेगरी सम्झौता हुन लागेको हुनुपर्छ,’ उनले भने,‘आणविक हतियारजस्ता महत्वपूर्ण विषय अहिलेलाई थाँति नै रहने देखिन्छ । सहमति कसरी हुन्छ भन्ने विषय पनि स्पष्ट छैन । मेरो बुझाईमा यो सहमतिमा इरानले केही फाइदा लिनेछ । उसका केही सीमाहरु छन् । तर, सबै विषय छलफलमै छन् । अमेरिका र इजरायलले चाहेजस्तो नभएमा फेरि युद्ध पनि हुनसक्छ ।’ 

२८ फेब्रुअरीमा अमेरिका– इजरायलले इरानमाथि आक्रमण गरेसँगै युद्ध सुरु भएको थियो । यस युद्धका क्रममा अमेरिका– इजरायलले इरानका मिसाइल पूर्वाधार, सैन्य क्षेत्र र राजधानी तेहरानमा मुल नेतृत्वमाथि नै आक्रमण गरे । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खोमेनेइ पहिलो दिनको निशानामै मारिएका थिए । पहिलो दिन इजरायल–अमेरिकाले मिनाबस्थित एक प्राथमिक छात्रा विद्यालयमा आक्रमण गर्दा १ सय ५६ जनाको मृत्यु भएको थियो भने ९५ जना घाइते भएका थिए । उनीहरुमध्ये अधिंकाश स्कुले बालिका थिए । 

झन्डै ३ महिनादेखि जारी युद्धका क्रममा इस्लामिक रिभोलुशनरी गार्डस् कोप्र्स (आईआरजीसी) का दर्जनौं वरिष्ठ कमाण्डरहरु पनि मारिएका छन् । ८ मार्चमा इरानले खोमेनइका छोरा मोज्ताबा खोमेनेइलाई नयाँ सर्वोच्च नेता घोषणा गरेको थियो । यस युद्धमा मारिएका अन्य शीर्ष इरानी नेतामा सुरक्षा प्रमुख अली लारिजानी, गुप्तचर मन्त्री इस्माइल खातिव, अर्धसैन्य दस्ता बासिज फोर्सका प्रमुख घोलमरेजा सोलेमानीलगायत छन् । इजरायल र अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित प्रमुख केन्द्रहरुमा आक्रमण गरिएको बताएका छन् । त्यस्तै खार्ग टापुसहित इरानका तेल तथा ग्याँस केन्द्रमा पनि आक्रमण भएको छ । 

युद्धको प्रभाव समग्र पश्चिम एसिया र विश्व अर्थतन्त्रमा देखिएको छ । इरानमा ३४ सयभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । लेबनानमा इजरायलको आक्रमणमा १८ सयभन्दा धेरै मारिएका छन् । इरानको प्रत्याक्रमणमा इराकमा कम्तिमा १ सय १७, इजरायलमा २६, अमेरिकी सैनिक १३ र कतार, कुवेत तथा युएईमा केही मानिस मारिएका छन् । युद्ध सुरु भएलगत्तै इरानले इजरायल र पश्चिम एसियाली देशमा रहेका अमेरिकी सैन्य केन्द्र तथा महत्वपूर्ण पूर्वाधारमा प्रत्याक्रमण गरेको थियो । इरानले युद्ध सुरु भएदेखि नै हर्मुजमा अवरोध गर्दै आएको छ । विश्वको झन्डै २० प्रतिशत कच्चा तेल तथा ग्यास आपुर्ति हुने मार्गमा देखिएको अवरोधले पश्चिम एसियाका साउदी अरेबिया, युएई, कतारलगायत देशहरुको तेल व्यापार  नराम्ररी प्रभावित भएको छ । त्यस्तै, विश्वभर नै तेल, प्राकृतिक ग्यास तथा रासायनिक मलको संकट उत्पन्न भएको छ । 

दुई देशबीच पाकिस्तानको मध्यस्थतामा ८ अप्रिलमा युद्धविराम भएपनि पटक–पटक दुबै पक्षले यसको उल्लंघन गरेका छन् । यसबीच ११ र १२ अप्रिलमा दुई देशबीच इस्लामावादमा चलेको दुई दिन लामो प्रत्यक्ष वार्ता असफल भएको थियो । वार्ता असफल भएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जलसेनालाई हर्मुजमा नाकाबन्दी गर्न आदेश दिएका थिए । इरानी बन्दरगाहमा आवत–जावत गर्ने व्यवसाहिक तेलका ट्यांकरहरुलाई खोजेर कारबाही गर्न उनले आदेश दिएका थिए । अमेरिकी नाकाबन्दीपछि इरानको अर्थतन्त्र नराम्ररी प्रभावित छ । दुबै पक्षले युद्धविराम कायम रहेको बताएपनि एकअर्कालाई दबाबमा राख्नेगरी सैनिकहरुलाई पर्सियन खाडी जलक्षेत्रमा तैनाथ गरेका छन् । यसबीचमा पाकिस्तानको मध्यस्थतामा अप्रत्यक्ष रुपमा पटक–पटक दुबै देशका नेताहरुबीच वार्ता पनि चलेको थियो । तर सहमति जुट्न सकेन । 

नयाँ सहमति कस्तो छ ?

अमेरिकी सञ्चारमाध्यम एक्सियोससँगको कुराकानीमा एक अमेरिकी अधिकारीले  अमेरिका–इरानबीच ६० दिनसम्मका लागि लागु हुनेगरी सहमतिपत्रमा हस्ताक्षर हुन लागेको बताएका छन् । आपसी सहमतिमा यसलाई लम्ब्याउन सकिने व्यहोरा उक्त पत्रमा उल्लेख छ । ६० दिनभित्र हर्मुजको जलमार्ग व्यवसाहिक जहाजहरुका लागि खुला हुनेछ । ती अधिकारीका अनुसार इरानले यहाँबाट जाने जहाजमा कुनै पनि कर उठाउने छैन । 

जवाफमा अमेरिकाले इरानी बन्दरगाहहरुमा लगाएको नाकाबन्दी खोल्नेछ । त्यस्तै, इरानी तेलमाथि अमेरिकाले लगाएको प्रतिबन्ध खुकुलो बनाउनेछ । ‘यस निर्णयले इरानको अर्थतन्त्रलाई लाभ पुग्ने भएपनि विश्व इन्धन बजारमा राहत ल्याउनका लागि यो कदम जरुरी छ,’ एक अधिकारी अधिकारीले एक्सियोससँग भनेका छन्,‘इरानीहरुले जति चाडों हर्मुजबाट बम निकाल्छन् र जहाजहरुलाई आवागमन गर्न दिन्छन् । अमेरिकाले पनि त्यति नै चाडों नाकाबन्दी हटाउनेछ ।’ ती अधिकारीका अनुसार सम्झौतापत्रमा इरानले कहिल्यै आणविक हतियार निर्माण नगर्ने प्रतिवद्धता उल्लेख हुनेछ । ‘इरानले  उसको युरेनियम सम्वद्र्धन कार्यक्रमलाई तत्कालका लागि स्थगित गर्नेछ । त्यस्तै, उच्च सम्वद्र्धित युरेनियमको भण्डारण इरानबाट हटाइनेछ,’ उनले भने । 

कसरी भयो सहमति 

अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार अरब तथा मुस्लिम राष्ट्रका नेताहरुसँग सामुहिक रुपमा फोन वार्ता गरेका थिए । त्यसक्रममा ती सबै देशले सहमतिलाई समर्थन गर्ने बताएको फोन वार्ताबारे जानकार तीन स्रोतलाई उद्रृत गर्दै एक्सियोसले लेखेको छ । अमेरिकी अधिकारीहरुका अनुसार युएईका राष्ट्रपति मोहम्मद बिन जायदसँगै साउदी अरेबिया, कतार, इजिप्ट, टर्किए र पाकिस्तानका नेताहरु यस फोनवार्तामा सहभागि थिए । उनीहरुले लामो समयदेखि वार्ताको मध्यस्थता प्रयास गर्दै आएका छन् ।  शुक्रबार र आइतबार पाकिस्तानी सेनापति फिल्ड मार्शल असिम मुनिर इरानसँग मध्यस्थता गर्नका लागि तेहरानमै पुगेका थिए । 

एजेन्सी

Link copied successfully