‘द ओडिसी’ की अभिनेत्री र मस्कबीच सवालजवाफ

हेलेनको भूमिकामा अश्वेत वर्णकी अभिनेत्री चयन गरिएको भन्दै मस्कले गरे आलोचना, अभिनेत्री लुपिताले भनिन्, ‘फिल्ममा गरिएको कास्टिङले सारा विश्वकै प्रतिनिधित्व गर्छ’

जेष्ठ ९, २०८३

एजेन्सी

Q&A between 'The Odyssey' actress and Musk

What you should know

पेरिस — क्रिस्टोफर नोलानको फिल्म ‘द ओडिसी’ मा हेलेनको भूमिका निर्वाह गरेकी ओस्कर विजेता अभिनेत्री लुपिता न्योङ’ओले आफ्ना आलोचकलाई जवाफ दिएकी छन् । १७ जुलाईदेखि प्रदर्शनमा आउन लागेको उक्त फिल्मको निर्देशन गरेका नोलानले पटकथा पनि ग्रीक कवि होमरको महाकाव्य ‘ओडिसी’ मा आधारित भई तयार पारेका हुन् । 

फिल्मको निर्मातामा पनि नोलान दम्पती नै छन् । २ सय ५० लाख डलरमा बनाइएको बिग बजेट यस फिल्ममा म्याट डेमन, एनी ह्याथवे, टम हल्यान्ड, रोबर्ट प्याटिन्सन, जेन्डायालगायत कलाकारको मुख्य भूमिका छ । तर यतिबेला विवाद भने संसारकै सुन्दर युवती मानिएकी हेलेनको भूमिकामा रहेकी लुपिताको कास्टिङलाई लिएर गरिएको छ । फिल्ममा लुपिता हेलेन र उनकी बहिनी दुवैको भूमिकामा छिन् । 

अश्वेत वर्णकी ‘ट्वेल्भ इयर्स अ स्लेभ’ स्टार लुपितालाई पौराणिक पात्रमा खेलाइएकामा सुरुवातमा खर्बपति एलन मस्कले आपत्ति जनाउँदै विवाद झिकेका थिए । मस्कले नोलानलाई फिल्म ‘द ओडिसी’ मा हेलेन अफ ट्रोयको भूमिकामा लिएर पाखण्ड देखाएको भन्दै उग्र टिप्पणी गरेका हुन् । राजनीतिक विश्लेषक म्याट वाल्सको एक पोस्टमा प्रतिक्रिया दिँदै मस्कले भनेका छन्, ‘युरोपियन साहित्यको आधारभूत काममा गोरा महिलाको भूमिकामा कालो महिलालाई कास्टिङ गर्नु र शाका जुलुमो चरित्रमा गोरा पुरुषलाई कास्ट गर्नु उस्तै हो ।’ 

मस्कले लुपितालाई लिएर आफ्नो निर्देशकीय निष्ठा गुमाएकोसमेत आरोप नोलानमाथि लगाउँदै भनेका थिए, ‘क्रिस नोलानले ओस्कर जित्नकै लागि भनेर फिल्ममा कालो रंगकी हेलेन अफ ट्रोए बनाएर होमरको पवित्र ग्रन्थ ‘द ओडिसी’ लाई नै अपवित्र बनाए । तिमीलाई लाज लाग्नुपर्ने हो ।’ नोलान उनै निर्देशक हुन्, जसले ओस्कर विजयी पछिल्लो फिल्म ‘ओपेनहाइमर’ मा बहुसंख्यक गोरा कलाकारलाई लिएका थिए ।

मस्कको टिप्पणीपछि यस विषयको पक्ष र विपक्षमा चर्को बहस नै भयो । सामाजिक सञ्जालमा खासगरी गोरा रंगका प्रयोगकर्ताहरूले मस्कको पक्ष लिइरहँदा अधिकांश फिल्मकर्मीले भने निर्देशक नोलानको काम र अभिनेत्री लुपिताको बचाउ गरिरहेका छन् । अभिनेता एलेक बाल्डविनले सामाजिक सञ्जालमा लुपिताको बचाउ गर्दै उनी पनि ‘संसारकै सबैभन्दा सुन्दर महिला’ भएको घोषणा गरिदिए ।

आलोचना बढ्दै गएपछि यसबारेको प्रतिक्रियामा अभिनेत्री लुपिताले पनि मुख खोलेकी छन् । ‘हो, यो एउटा पौराणिक कथा हो, म यसमा निर्देशक क्रिसको मनसाय र त्यसको नयाँ तरिकाबाट उनले भन्न खोजिरहेको कथाको ठूलो समर्थक हुँ,’ उनले भनेकी छन्, ‘फिल्ममा गरिएको कास्टिङले सारा विश्वकै प्रतिनिधित्व गर्छ । त्यसैले यसबारेमा थप टिप्पणी गरेर वा बचाउमा आफ्नो समय खेर फाल्न चाहन्नँ । म यसमा भए पनि वा नभए पनि आलोचना भन्ने कुरा त भई नै रहन्छ ।’ तर पनि उनले फिल्मको हिस्सा हुन पाउनु आफ्ना लागि गर्वको विषय भएको बताइन् । 

लुपिताले पहिलो फिल्म ‘टुवेल्भ इयर्स अ स्लेभ’ बाटै सहअभिनेत्रीको ओस्करसहित थुप्रै महत्त्वपूर्ण अवार्ड जिते पनि त्यसपछि आजसम्मको १२ वर्षमा गतिलो चरित्रका लागि प्रस्ताव नआएको भन्दै निराशा व्यक्त गरिन् । ‘अस’, ‘ब्ल्याक प्यान्थर’, ‘द वाइल्ड रोबोट’ र ‘अ क्वाइट प्लेसः डे वान’ जस्ता हिट फिल्म दिइसकेकी अभिनेत्रीले थपिन्, ‘मलाई प्रस्ताव गरिएका अधिकांश भूमिकाहरू दास महिलाका थिए, जुन प्रस्ताव मेरा लागि एकदमै निराशाजनक र आश्चर्यजनक दुवै थिए ।’

तर ‘द ओडिसी’ को चरित्रलाई लिएर उनी निकै उत्साहित छिन् । ‘ओडिसी जस्तो महान् ग्रन्थमा आधारित फिल्मको एक हिस्सा बन्न पाउनु गर्वको कुरा हो । यसले विश्वलाई थप विविध बनाउन मद्दत गर्नेछ,’ ४३ वर्षीया अभिनेत्रीले थपिन्, ‘त्यसैले पनि यस खालको कास्टिङ गरिएको हो । हामी पनि यो समयको काव्यिक वाचनको हिस्सेदार हौं ।’ 

मस्कको अभिव्यक्तिमा प्रतिक्रिया दिँदै अमेरिकी अभिनेत्री हुपी गोल्डबर्गले पनि भनेकी छन्, ‘वास्तवमा तिमीले यो फिल्म हेर्न जान पर्दैन । मलाई लाग्दैन, तिमीलाई यस विषयमा बोल्न जरुरी छ ।’

एजेन्सी

Link copied successfully