चीनको कोइला खानीमा विष्फोट: कम्तिमा ८२ जनाको मृत्यु, ९ बेपत्ता

'उद्धार कार्य अझै जारी छ,' चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले भनेको छ । ९ जना अझै बेपत्ता रहेको सीसीटीभीको रिपोर्टमा उल्लेख छ ।

जेष्ठ ९, २०८३

कान्तिपुर संवाददाता

China coal mine explosion: At least 82 dead, 9 missing

काठमाडौँ — उत्तरी चीनको एक कोइला खानीमा भएको ग्यास विष्फोटमा परेर ८२ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

'उद्धार कार्य अझै जारी छ,' चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले भनेको छ ।  ९ जना अझै बेपत्ता रहेको सीसीटीभीको रिपोर्टमा उल्लेख छ । 

सरकारी समाचार एजेन्सी सिन्ह्वाकाअनुसार सान्छी प्रान्तस्थित चाङझी सहरको लिउसेन्यू कोइला खानीभित्र कार्बन मोनोअक्साइडको मात्रा "निश्चित सीमाभन्दा बढी" देखिएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ता भएकाहरूको 'हरसम्भव उद्धार' का लागि आह्वान गरेको सिन्ह्वाले जनाएको छ । उनले 'घटनाको कारणबारे गहन अनुसन्धान गर्न र कानुन बमोजिम दोषीलाई कारबाहीको दायरामा ल्याउन' समेत निर्देशन दिएका छन् । 

चीनको उद्धार एजेन्सीका अनुसार विष्फोटमा संलग्न कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको छ। लिउसेन्यू कोइला खानीमा शुक्रबार साँझ ७:२९ बजे दुर्घटना हुँदा कम्तिमा २४७ कामदार खानीमा काम गरिररहेका थिए । 

शनिबार बिहान ६:०० बजेसम्म २०१ खानी मजदुरलाई सुरक्षित रूपमा बाहिर निकालिएको र बाँकीको उद्धार कार्य जारी रहेको सिन्ह्वाले जनाएको छ । बिस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ । 

कान्तिपुर

Link copied successfully