क्यास्ट्रो, दिवंगत क्युबाली नेता फिडेल क्यास्ट्रोका भाइ हुन् र अझै पनि उनी क्युबामा ‘क्रान्तिका जीवित नेता’ का रूपमा चिनिन्छन्।
What you should know
काठमाडौँ — अमेरिकाले क्युबाली नेता एवं पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध अमेरिकी नागरिकहरूको हत्या षड्यन्त्र र अन्य अपराधको अभियोग लगाएको छ।
बुधबार सार्वजनिक गरिएको मुद्दामा क्यास्ट्रोसहित पाँच जनामाथि सन् १९९६ मा क्युबा र फ्लोरिडाबीच उडिरहेका दुई विमान खसालिएको घटनामा तीन अमेरिकीसहित चार जनाको मृत्यु भएको आरोप लगाइएको छ।
९४ वर्षका क्यास्ट्रो त्यतिबेला क्युबाको सशस्त्र बलका प्रमुख थिए।
क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले यी आरोपलाई ‘कुनै कानुनी आधार नभएको राजनीतिक चाल’ भनेका छन्।
अमेरिकी कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चेले क्यास्ट्रोविरुद्ध विमान नष्ट गरेको आरोप र चार वटा अलग–अलग हत्या अभियोग पनि लगाइएको बताए। ती मृतकहरूमा आर्मान्डो अलेजान्द्रे जुनियर, कार्लोस अल्बर्टो कोस्टा, मारियो म्यानुअल दे ला पेना र पाब्लो मोरालेस रहेका छन्। ‘अमेरिका र राष्ट्रपति ट्रम्पले आफ्ना नागरिकलाई कहिल्यै बिर्सने छैन,’ ब्लान्चेले भने।
यी अभियोगहरू अमेरिकी अदालतमा प्रमाणित गर्नुपर्ने हुन्छ। हत्या अभियोगमा मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुन सक्छ। नयाँ अभियोगहरूले क्युबाको कम्युनिस्ट नेतृत्वमाथि अमेरिकी दबाब बढाउने प्रयासका रूपमा हेरिएको छ।
अमेरिकन युनिभर्सिटीका ल्याटिन अमेरिकी राजनीति विशेषज्ञ विलियम लियोग्रान्डले भने, ‘रणनीति क्रमशः दबाब बढाएर क्युबा सरकारलाई वार्ताको टेबलमा झुक्न बाध्य पार्ने हो।’
अमेरिकाले क्युबामाथि प्रतिबन्ध लगाउँदै तेल आपूर्ति अवरुद्ध गरेको छ, जसका कारण देशमा विद्युत् कटौती र खाद्यान्न अभाव देखिएको छ।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाको स्वतन्त्रता दिवसको अवसरमा क्युबाली जनताका लागि सन्देश जारी गरेका छन्।‘राष्ट्रपति ट्रम्पले अमेरिका र नयाँ क्युबाबीच नयाँ बाटो प्रस्ताव गर्नुभएको छ,’ रुबियोले भने।
रुबियोले क्युबाली सैन्य–नियन्त्रित व्यापारिक समूह (जीएइएसए) लाई देशको विद्युत् अभाव र खाद्यान्न संकटको मुख्य कारण भएको आरोप लगाए।जीएइएसएले बन्दरगाहदेखि पेट्रोल पम्प र पाँचतारे होटलसम्म नियन्त्रण गर्छ।
रुबियोको सन्देशको प्रतिक्रिया दिँदै डियाज–कानेलले अमेरिका झुट फैलाइरहेको र क्युबाली जनतामाथि सामूहिक दण्ड लागू गरिरहेको आरोप लगाए।
उनले क्यास्ट्रोलाई लगाइएको अभियोग ‘क्युबामाथि सैन्य आक्रमणको बहाना बनाउन प्रयोग गरिएको’ भन्दै घटनाको विवरण पनि गलत रूपमा प्रस्तुत गरिएको बताए।उनका अनुसार क्युबाले आफ्नो क्षेत्राधिकारभित्र ‘वैधानिक आत्मरक्षाको’ कार्य गरेको हो।
क्यास्ट्रोलाई अमेरिकामा ल्याउने सम्भावनाबारे पत्रकारहरूले सोध्दा ब्लान्चेले पक्राउ पुर्जी जारी गरिएको बताए। उनले क्यास्ट्रोलाई अमेरिकाले समात्ने प्रयास गर्ने वा नगर्ने स्पष्ट नगरी ‘उनी स्वेच्छाले वा अन्य तरिकाबाट यहाँ आउने अपेक्षा छ’ भने।
लियोग्रान्डले भने क्युबाले वार्तामा आत्मसमर्पण नगरेसम्म अमेरिकाले उनलाई पक्राउ गर्ने सम्भावना रहेको विश्वास व्यक्त गरे।
जनवरीमा अमेरिकाले भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलास मादुरोलाई पक्राउ गरेको थियो। तर लियोग्रान्डका अनुसार क्युबाको अवस्था फरक छ, किनकि क्यास्ट्रो करिब एक दशकअघि नै सत्ता छोडिसकेका छन्।
क्यास्ट्रो, दिवंगत क्युबाली नेता फिडेल क्यास्ट्रोका भाइ हुन् र अझै पनि उनी क्युबामा ‘क्रान्तिका जीवित नेता’ का रूपमा चिनिन्छन्।
उनी सक्रिय सरकारी र पार्टी भूमिकाबाट बाहिरिए पनि २००८–२०१८ को आफ्नो राष्ट्रपति कार्यकालमा बाराक ओबामासँग मिलेर अमेरिका–क्युबा सम्बन्धमा छोटो समयको सुधार ल्याएका थिए।
