बाहिरिएको कूटनीतिक ‘केबल’ भन्छ : इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’

ड्रप साइट न्युजको अनुसन्धानमा उद्धृत गरिएको कूटनीतिक केबल (पत्राचार) अनुसार सन् २०२२ को प्रारम्भमा अमेरिका र पाकिस्तानबीच तनाव बढिरहेका बेला प्रधानमन्त्री इमरान खानलाई हटाइए विगतका असन्तुष्टिहरू बिर्सिदिने अमेरिकी अधिकारीहरूले आश्वासन दिएका थिए ।

जेष्ठ ४, २०८३

कान्तिपुर संवाददाता

Leaked diplomatic cable says 'American pressure' to topple Imran Khan's government

What you should know

काठमाडौँ — खोज पत्रकारिता गर्ने समाचार संस्था ड्रप साइट न्युजको अनुसन्धानबाट बाहिरिएको पाकिस्तानको एक कूटनीतिक ‘केबल’ (पत्राचार)ले सन् २०२२ अप्रिलमा प्रधानमन्त्री पदबाट इमरान खानलाई हटाइएको घटनामा अमेरिकी दबाब रहेको खुलेको छ । उक्त केबलअनुसार खानलाई पदबाट हटाइए वासिङ्टनले पाकिस्तानप्रति आफ्ना असन्तुष्टि बिर्सिदिने आश्वासन दिइएको थियो ।

रिपोर्ट ७ मार्च सन् २०२२ मा अमेरिकाका लागि तत्कालीन पाकिस्तानी राजदूत असद माजिद खान र दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भएको भेटवार्तामा केन्द्रित छ । भेटमा लुले पाकिस्तानका प्रधानमन्त्रीलाई अविश्वास प्रस्तावमार्फत हटाउन सुझाव दिएको रिपोर्टमा उल्लेख छ ।

ड्रप साइट न्युजले उद्धृत गरेको कूटनीतिक केबल अनुसार लुले राजदूत असदलाई ‘यदि खानलाई अविश्वास प्रस्तावमार्फत पदबाट हटाइयो भने वासिङ्टनले खान सरकारप्रतिका असन्तुष्टिलाई किनारा लगाइदिन सक्ने’ बताएका थिए । पछि पाकिस्तानी राजदूतले उद्धृत गरेको ‘सबै माफ हुनेछ’ भन्ने वाक्यांश पनि त्यही प्रसंगमा प्रयोग गरिएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले वासिङ्टनले खानलाई हटाउन प्रभाव पार्न खोजेको आरोपलाई अस्वीकार गर्दै आएको छ । तर, ड्रप साइटको रिपोर्टले त्यो कूटनीतिक संवादले दुई देशबीच लामो समयदेखि जारी तनावलाई प्रतिबिम्बित गरेको उल्लेख गरेको छ ।

फेब्रअुरी सन् २०२२ मा इमरान खान मस्को गएका थिए । जहाँ उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता भएको थियो । त्यही समयमा रुसी सेनाले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । उक्त भेट हुनुभन्दा केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आफ्ना पाकिस्तानी समकक्षी मोइद युसुफलाई फोन गरेर खानलाई भ्रमण रद्द गर्न मनाउन आग्रह गरेका थिए । ड्रप साइटबाट बाहिरिएको उक्त फोन संवादका विवरणअनुसार, सुलिभानले भ्रमण नगर्न चेतावनी दिँदै युक्रेन युद्धमा अमेरिकाको पक्षमा स्पष्ट रूपमा उभिन इस्लामाबादमाथि दबाब दिएका थिए । तर, खानले उक्त चेतावनीको बेवास्ता गरेका थिए ।

त्यसको केही समयपछि रुसी आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्रसंघको महासभामा ल्याइएको प्रस्तावमा मतदान नगरी पाकिस्तानले तटस्थ बस्ने निर्णय गरेको थियो । त्यतिबेला पाकिस्तान चीन र भारतसहितका केही देशहरूसँगै उभिएको थियो । ड्रप साइटका अनुसार, मस्को भ्रमण र वासिङ्टनको पक्षमा स्पष्ट रूपमा नउभिएको विषयमा आक्रोशित अमेरिकी कूटनीतिज्ञहरूले पाकिस्तानका समकक्षीहरूलाई व्यक्तिगत रूपमा दुई देशबीचको सम्बन्ध पुरानै अवस्थामा अघि बढ्न नसक्ने चेतावनी दिएका थिए ।

यही पृष्ठभूमिमा ७ मार्च २०२२ अमेरिकी र पाकिस्तानी अधिकारीबीच भएको भेटलाई रिपोर्टले निर्णायक मोडका रूपमा प्रस्तुत गरेको छ । रिपोर्टले ‘केबल’लाई वासिङ्टनले इस्लामाबादको नेतृत्व फेर्ने 'राजनीतिक चाहना' व्यक्त गरेको प्रमाणका रूपमा उद्धृत गरे पनि त्यसपछिको संसदीय प्रक्रियालाई अमेरिकाले प्रत्यक्ष रूपमा निर्देश गरेको दाबी भने गरेको छैन ।

९ अप्रिल २०२२ मा विपक्षी दलहरूको समर्थनमा दर्ता भएको अविश्वास प्रस्ताव पारित भएपछि इमरान खान पदबाट हटाइएका थिए । विपक्षी दलहरूसँगको महिनौं लामो राजनीतिक टकराव र पाकिस्तानको शक्तिशाली सैन्य प्रतिष्ठानसँग बढ्दो तनावको पृष्ठभूमिमा उनको बहिर्गमन भएको थियो । त्यसपछि बनेको सरकारलाई सेनाले समर्थन गरेको थियो ।

रिपोर्टले यो घटनालाई अमेरिका–पाकिस्तान सम्बन्धमा लामो समयदेखि जारी तनावको पृष्ठभूमिमा विश्लेषण गरेको छ । अफगानिस्तान, आतंकवादविरुद्धको सहकार्य र पाकिस्तानको परराष्ट्र नीतिसम्बन्धी धारणा लगायतका विषयमा दुवै देशबीच लामो समयदेखि मतभेद रहेको रिपोर्टमा उल्लेख छ । सन् २०२१ मा अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गरेपछि र तालिबानले सत्ता कब्जा गरेपछि यी तनावहरू थप बढेको रिपोर्टले जनाएको छ ।

जुन २०२१ मा तत्कालीन सीआईएका निर्देशक विलियम जे बर्न्स इमरान खानसँग भेट् इस्लामाबाद पुगेका थिए । तर भेट हुन सकेन । रिपोर्टका अनुसार, त्यतिबेला आतंकवादविरुद्धको अभियानका लागि सैन्य अड्डा उपलब्ध गराउन अमेरिकाले गरेको अनुरोध खान सरकारले अस्वीकार गरेको थियो । जसले दुई देशबीचको दूरी थप बढाएको थियो ।

रिपोर्टका अनुसार, अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि पनि ड्रोनबाट आक्रमण गर्नका लागि आवश्यक सैन्य अड्डा उपलब्ध गराउने विषयमा छलफल गर्न बर्न्स इस्लामाबाद पुगेका थिए । तर, उनको प्रधानमन्त्री खानसँग भेट नै भएन, पाकिस्तानले सैन्य अड्डा उपलब्ध गराउन पनि मानेन । उक्त घटनाले दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न गरेको रिपोर्टमा उल्लेख छ ।

ड्रप साइटको रिपोर्टअनुसार, इमरान खानलाई हटाइनुअघि पाकिस्तानको सैन्य नेतृत्वले अमेरिकी अधिकारीहरूसँग आफ्नै सम्पर्क बढाइरहेको थियो । जुलाई २०२१ मा प्रधानमन्त्री खानलाई जानकारी समेत नदिई सेनाले वासिङ्टनमा ‘लबिइङ’ गर्न सीआईएको इस्लामाबादस्थित पूर्व स्टेसन प्रमुखलाई जिम्मा दिएको थियो । रिपोर्टले यसलाई पाकिस्तानका जर्नेलहरूले निर्वाचित सरकारलाई ‘बाइपास’ गरेर अमेरिकासँग सम्पर्क विस्तारको प्रारम्भिक संकेतका रूपमा चित्रण गरेको छ ।

नयाँ सरकार बनेपछि खान नेतृत्वको सरकारले दिन अस्वीकार गरेको सहयोग इस्लामाबादले वासिङ्टनलाई दिन थालेको रिपोर्टमा उल्लेख छ । त्यसको केही महिनाभित्रै पाकिस्तान युक्रेनलाई हतियार सामग्री प्रमुख आपूर्तिकर्ताका रूपमा देखा परेको रिपोर्टमा भनिएको छ ।

बाहिरिएको केबलले ती हतियार अमेरिकी रक्षा ठेकेदार र तेस्रो देशका मध्यस्थकर्तामार्फत युक्रेन पठाइएको पनि उल्लेख गरेको छ । यसले युद्धको पहिलो वर्षमै हतियारको अभाव व्यहोरिरहेको युक्रेनलाई त्यो अभाव पूर्ति गर्न सहयोग पुगेको रिपोर्टमा विश्लेषण गरिएको छ ।

Leaked diplomatic cable says 'American pressure' to topple Imran Khan's government

Leaked diplomatic cable says 'American pressure' to topple Imran Khan's government

Leaked diplomatic cable says 'American pressure' to topple Imran Khan's government

कान्तिपुर

Link copied successfully