यसअघि ताइवानी राष्ट्रपति लाइ चिङ–तेले ताइवानले आफूलाई पहिले नै सार्वभौम राष्ट्र मान्ने भएकाले औपचारिक स्वतन्त्रता घोषणा गर्न आवश्यक नभएको बताएका थिए ।
What you should know
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन् ।
चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भएको दुईदिने शिखर वार्तापछि शुक्रबार फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘म कसैलाई स्वतन्त्र राष्ट्र बन्न खोजेको हेर्न चाहन्नँ ।’
यसअघि ताइवानी राष्ट्रपति लाइ चिङ–तेले ताइवानले आफूलाई पहिले नै सार्वभौम राष्ट्र मान्ने भएकाले औपचारिक स्वतन्त्रता घोषणा गर्न आवश्यक नभएको बताएका थिए ।
अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ । ताइवानलाई आत्मरक्षाका लागि आवश्यक सहयोग पनि गर्दै आएको छ । तर, चीनसँग कूटनीतिक सम्बन्ध कायम राख्न अमेरिकाले सधैं सन्तुलन कायम गर्नुपर्ने अवस्था रहेको छ ।
ट्रम्पले यसअघि ताइवानबारे ‘कुनै प्रतिबद्धता नगरेको’ बताएका थिए । चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर नियन्त्रण लिन सक्ने चेतावनी पनि दिँदै आएको छ ।
वासिङ्टनको आधिकारिक नीति अनुसार अमेरिकाले ताइवानी स्वतन्त्रतालाई समर्थन गर्दैन । चीनसँगको सम्बन्ध पनि ‘एक चीन नीति’ स्वीकार गर्ने शर्तमा आधारित छ ।
बेइजिङले ताइवानका राष्ट्रपति लाइ चिङ–तेप्रति असन्तुष्टि व्यक्त गर्दै उनलाई ‘समस्या सिर्जना गर्ने व्यक्ति’ र ‘जलडमरूमध्य क्षेत्रीय शान्ति भंग गर्ने’ नेताका रूपमा चित्रण गर्दै आएको छ ।
यद्यपि धेरै ताइवानी नागरिक आफूलाई छुट्टै राष्ट्रको हिस्सा मान्छन् । तर अधिकांशले अहिलेको अवस्थालाई कायम राख्न चाहन्छन्, अर्थात् न चीनसँग एकीकरण, न औपचारिक स्वतन्त्रता घोषणा ।
फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकी नीति परिवर्तन नभएको दोहोर्याए । उनले भने, ‘हामी ९ हजार ५ सय माइल टाढा गएर युद्ध लड्न चाहँदैनौं । म तनाव कम होस् भन्ने चाहन्छु । चीन पनि शान्त रहोस् भन्ने चाहन्छु ।’
वासिङ्टन फर्किने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू र सीबीच ताइवानबारे ‘धेरै छलफल’ भएको बताए । तर, ताइवानमाथि आक्रमण भए अमेरिकाले रक्षा गर्ने वा नगर्ने विषयमा भने आफूले कुनै टिप्पणी नगरेको बताए ।
ट्रम्पका अनुसार सी जिनपिङ ताइवानको विषयमा ‘धेरै संवेदनशील’ छन् र ‘स्वतन्त्रताको आन्दोलन देख्न चाहँदैनन्’ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार वार्ताका क्रममा सीले ‘ताइवानको प्रश्न अमेरिका–चीन सम्बन्धकै सबैभन्दा महत्त्वपूर्ण मुद्दा’ भएको बताएका थिए । उनले चेतावनी दिँदै भने, ‘यदि यसलाई गलत तरिकाले सम्हालियो भने दुई देशबीच टकराव वा द्वन्द्वसमेत हुन सक्छ ।’
ताइवानका कारण चीनसँग युद्ध हुने सम्भावना देख्नुहुन्छ भन्ने प्रश्नमा ट्रम्पले भने, ‘म त्यस्तो सोच्दिनँ । सबै ठीक हुनेछ । सी युद्ध चाहँदैनन् ।’
गत वर्ष ट्रम्प प्रशासनले ताइवानलाई ११ अर्ब डलर बराबरका हतियार बिक्री गर्ने योजना घोषणा गरेको थियो, जसमा अत्याधुनिक रकेट लञ्चर र विभिन्न मिसाइल प्रणाली समावेश थिए । चीनले त्यसको कडा विरोध गरेको थियो ।
ट्रम्पले उक्त हतियार बिक्री अगाडि बढाउने वा नबढाउने विषयमा चाँडै निर्णय गर्ने बताए । उनले आफू र सीबीच यसबारे ‘विस्तृत छलफल’ भएको पनि उल्लेख गरे ।
उनले थपे, ‘म अहिले ताइवान सञ्चालन गरिरहेका व्यक्तिसँग कुरा गर्नुपर्नेछ, तपाईंलाई थाहा छ, उनी को हुन् ।’
अमेरिकाको ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध छैन, तर अनौपचारिक सम्बन्ध भने बलियो छ । २०२५ मा अमेरिकी विदेश मन्त्रालयले आफ्नो वेबसाइटबाट ‘ताइवानी स्वतन्त्रताको विरोध’ सम्बन्धी वाक्य हटाएको थियो ।
चीनले त्यसले ‘पृथकतावादी शक्तिलाई गलत सन्देश’ दिएको प्रतिक्रिया जनाएको थियो ।
