ट्रम्प–सी भेटवार्ता : ताइवानको सवालमा अमेरिका सतर्क हुनुपर्छ : सी

चीनको विदेश मन्त्रालयका अनुसार द ग्रेट हल अफ द पिपुलमा भएको पहिलो दिनको भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले ताइवानको सवाल दुईपक्षीय सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका थिए ।

जेष्ठ १, २०८३

एजेन्सी

Trump-Xi meeting: US should be cautious on Taiwan issue: Xi

What you should know

बेइजिङ — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार बिहान बेइजिङमा बहुप्रतीक्षित भेटवार्ता भएको छ । चीनको विदेश मन्त्रालयका अनुसार द ग्रेट हल अफ द पिपुलमा भएको पहिलो दिनको भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले ताइवानको सवाल दुईपक्षीय सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका थिए ।

‘ताइवानको विषय चीन–अमेरिका सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण छ । यसलाई राम्रोसँग लैजान सकियो भने दुईपक्षीय सम्बन्ध स्थिर हुनेछ । अन्यथा, दुई देशबीच टकराव र द्वन्द्व पनि निम्तिन सक्छ, जसले समग्र सम्बन्धमै जोखिम उत्पन्न गराउनेछ,’ सीको भनाइ उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ । 

चीनले ताइवानलाई आफ्नो अभिन्न क्षेत्र मान्ने गर्छ । अमेरिकाले विभिन्न समयमा एक चीन नीतिप्रति प्रतिबद्धता जनाएको छ । तर, ताइवानलाई पनि हतियार तथा सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ । सन् १९७९ मा अमेरिकी कंग्रेसबाट पारित भएको ‘ताइवान रिलेसन्स एक्ट’ अन्तर्गत अमेरिकाले यस्तो सहयोग उपलब्ध गराउँछ । आलोचकहरूले यसलाई अमेरिकाको रणनीतिक अस्पष्टता भन्ने गरेका छन् । 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ताइवान नीतिमा अमेरिकाको अडान परिवर्तन नभएको बताएका छन् । ‘चीनले सधैं यो सवाल उठाउँछ र सधैं हामी हाम्रो अडान स्पष्ट गर्छौं । हाम्रो दृष्टिकोणमा अवस्था परिवर्तनका लागि गरिने कुनै पनि जबर्जस्ती दुवै देशका लागि खराब हुनेछ,’ एनबीसी न्युजसँग बेइजिङमा रुबियोले भने, ‘हामीले विगतमा उनीहरूलाई (ताइवान) हतियार 

बेचेका थियौं र पछिल्लो पटक डिसेम्बरसम्म त्यो कायम थियो, जसकारण उनीहरू (चीन) निराश थिए । यो राष्ट्रपतिले गर्ने निर्णय र कंग्रेसले पास गर्ने कुरा हो । यी विषयमा के गर्ने भनेर कंग्रेसले निर्णय गर्छ र हामी त्यसअनुसार प्रतिक्रिया दिन्छौं ।’

भेटपछि सी र ट्रम्प बेइजिङको टेम्पल अफ हेभन भ्रमणमा गए । जहाँ सीले चिनियाँ दर्शन र यसलाई संरक्षण गर्ने दिशामा कम्युनिस्ट पार्टीले खेलेको भूमिकाबारे ट्रम्पलाई जानकारी गराए । ६ सय वर्ष पुरानो यस मन्दिरमा चिनियाँ शासकहरूले कार्यक्रम गरेर राष्ट्रिय समृद्धि, शान्ति र अनुकूल मौसमको कामना गर्ने गरेको जानकारी सीले गराए । 

‘चिनियाँ कम्युनिस्ट पार्टीले जनकेन्द्रित दर्शन र चिनियाँ सभ्यतालाई ग्रहण र विकास गरेको छ,’ सीलाई उद्धृृत गर्दै चीन सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ट्रम्प मात्रै नभएर विश्वका अन्य नेताहरूसँगको भेटमा पनि सीले चिनियाँ इतिहास र संस्कृतिको वैभवको प्रशंसा गर्ने गरेका छन् । कम्युनिस्ट पार्टीको शासनलाई जनमुखी ठहर गर्न र पश्चिमी दबाबको प्रतिरोध गर्न यसले ठूलो भूमिका निर्वाह गर्दै आएको छ ।

सीले चीनको रूपान्तरण र ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ नीति साथसाथ अघि बढ्न सक्ने बताएका थिए । जवाफमा ट्रम्पले सीलाई भव्य स्वागतका लागि धन्यवाद दिए । उनले अमेरिकाको प्रारम्भिक विकासमा चिनियाँहरूले खेलेको भूमिकाको कदर गरे । ‘चिनियाँहरू बास्केटबल मन पराउँछन् र नीलो जिन्स लगाउँछन्,’ ट्रम्पले भने, ‘चिनियाँ जनता र अमेरिकीबीच धेरै कुरा साझा छन् ।’ ट्रम्प र सीबीच शुक्रबार पनि भेटवार्ता हुनेछ । त्यसक्रममा इरान युद्ध, व्यापार, प्रविधि, कृषि उत्पादनको आयात–निर्यातलगायत विषयमा छलफल तथा सम्झौता हुने अपेक्षा गरिएको छ । 

अमेरिकी व्यवसायीहरू उत्साहित 

ट्रम्पसँगै भ्रमणमा आएका अमेरिकाका ठूला कम्पनीका सञ्चालक र सीईओहरूले चीनसँग राम्रो सम्बन्ध बनाउनुपर्ने बताएका छन् । बेइजिङमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै टेस्ला तथा स्पेस एक्सका सीईओ एलन मस्कले चीनमा धेरै राम्रा कुरा हासिल गर्न चाहेको बताए । एनभिडियाका सीईओ जेन्सन हुआङले चिनियाँ अधिकारीहरू निकै उत्कृष्ट रूपमा प्रस्तुत भएको धारणा राखे ।

ठूला अमेरिकी प्रविधि कम्पनी तथा उत्पादन गृहहरू आयात–निर्यातका लागि चीनसँग निर्भर छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसँग विश्वको ९० प्रतिशत प्रशोधित दुर्लभ खनिज धातु छ । त्यस्तै, (६०–७० प्रतिशत) दुर्लभ खनिज धातु चीनमै उत्खनन हुन्छ । अमेरिकामा आयात हुनेमध्ये ७० प्रतिशत दुर्लभ खनिज चीनबाटै आउँछ । प्रविधि उद्योगमा स्मार्ट फोनदेखि फाइटर जेटसम्म उत्पादन गर्न यसले प्रमुख भूमिका खेल्छ । 

गतवर्ष चीनले १२ वटा विशेष दुर्लभ धातुमध्ये ७ वटाको निर्यातमा कडाइ गरेको थियो । जसले अमेरिकी तथा पश्चिमा उद्योगहरूको उत्पादन क्षमतामा ह्रास ल्यायो । अक्टोबरमा ट्रम्प र सीबीच दक्षिण कोरियाको बुसानमा भेट भएपछि यो कडाइ खुकुलो गरिएको थियो । मस्कले सोलार प्यानलका लागि चीनबाट २ अर्ब ९० करोड मूल्य बराबरका उपकरण खरिद गर्ने आशा गरेका छन् । मस्कको टेस्ला विद्युतीय कारका लागि पनि चीन महत्त्वपूर्ण बजार हो । 

बुधबार बेइजिङमा उत्रनासाथ ट्रम्पले आफूसँग आएका सबै व्यवसायीले चीनलाई सम्मान गर्ने बताएका थिए । एप्पलका टिम कुक, गोल्डम्यान साक्सका डेभिड सोलोम्यान, ब्ल्याक रकका अध्यक्ष तथा सीईओ ल्यारी फिन्क, सिटी अध्यक्ष तथा सीईओ जान फ्रासर, ब्ल्याकस्टोनका सीईओ तथा सहसंस्थापक स्टेफेन श्वेर्टम्यान, बोइङका सीईओ तथा अध्यक्ष केल्ली ओटवर्गलगायत ठूला कम्पनीका प्रमुख व्यक्ति भ्रमणमा छन् । मेटा, कार्गिल, भिसा, सिस्को, क्वालकप, कोहिरेन्ट, माइक्रोन, इलुमिना, जिई एरोस्पेस, मास्टरकार्डलगायत कम्पनीका प्रतिनिधि पनि भ्रमणमा छन् । ती कम्पनीहरूले चीनमा लगानी गर्न खोजिरहेका छन् । त्यस्तै, चिनियाँ कम्पनीहरूले पनि अमेरिकी बजारमा लगानीका लागि सहज पहुँच पाउने अपेक्षा गरेका छन् ।

एजेन्सी

Link copied successfully