चिनियाँ एजेन्टको अभियोग स्विकारेकी अमेरिकाको अर्काडियाकी निवर्तमान मेयर को हुन् ?

वाङमाथि अधिकतम १० वर्ष जेलसजाय हुनसक्छ । वाङका वकिल ब्रियान ए सन र जासोन लियाङले वाङको गल्ति सार्वजनिक पदको दुरुपयोग नभएर व्यक्तिगत रहेको बताए ।

वैशाख ३०, २०८३

कान्तिपुर संवाददाता

Who is the outgoing mayor of Arcadia, USA, who pleaded guilty to being a Chinese agent?

काठमाडौँ — अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलस काउन्टीअन्तर्गत अर्काडिया शहरकी मेयर इलिन वाङ कुनै समय चिनियाँ एजेन्ट रहेको खुलेको छ । वाङले आफुविरुद्ध संघीय अदालतमा चलेको विदेशी एजेन्टको मुद्दालाई १ अप्रिलमै स्विकार गरेकी थिइन् ।

अदालतले गोप्य राखेको कागजात सोमबार सार्वजनिक गरेको छ । घटना सार्वजनिक भएपछि उनले पदबाट राजीनामा गरेकी छिन् । अर्काडिया शहरको अधिकारीक वेवसाइटमा प्रकाशित विज्ञप्तिमा उनले सोमबार गरेको उल्लेख छ । 

घटना के हो ?

अमेरिकी न्याय विभागसमक्ष उनले कुनै समय चिनियाँ एजेन्टका रुपमा काम गरेको स्विकार गरेकी हुन् ।  उनले सन् २०२० देखि कम्तिमा २०२२ सम्म वाङले आफ्ना पूर्वप्रेमी याओनिङ ‘माइक’ सनसँग मिलेर युएस न्युज सेन्टर नामक वेवसाइट चलाएकी थिइन् । यो वेवसाइटले चिनियाँ अमेरिकी समुदायका समाचार तथा सुचना प्रकाशित गर्ने गरेको थियो । तर, वैध रुपमा यो वेवसाइट कतै दर्ता थिएन ।

न्याय विभागका अनुसार वाङ र माइकले चिनियाँ सरकारका अधिकारीहरुले जारी गरेका कार्यकारी निर्देशिकाहरु प्रकाशित गर्ने गरेका थिए । न्याय विभागको अनुसन्धानअनुसार वाङले अमेरिकी अधिकारीहरुलाई कुनै जानकारी नदिई चीन सरकारका अधिकारीहरुको निर्देशमा प्रोपोगाण्डा फैलाएको आरोप स्विकारेकी छिन् । माइकले अक्टुबर २०२५ मै विदेशी एजेन्टका रुपमा काम गरेको स्विकार गरिसकेका थिए । उनले ४ वर्ष जेल सजाय पाइसकेका छन् । 

न्याय विभागका अधिकारीहरुका अनुसार वाङ र माइकले निर्देशिका वा पोस्टहरु हेर्नेको संख्या स्क्रिनसट गरेर  चिनियाँ अधिकारीहरुलाई रिपोर्टिङ गर्ने गरेका थिए । 

जनगणतन्त्र चीन सरकारका अधिकारीहरुले लेखेका निबन्ध तथा लेखहरु पनि यसमा पुनः प्रकाशित  हुने गरेको थियो । यी लेखहरुमा उग्युर मुस्लिम बाहुल्य सिनजियाङ प्रान्तमा कुनै दमन वा जातीय नरसंहार नभएको विषय उल्लेख रहेको भेटिएको छ ।

‘सिनजियाङमा कुनै जातीय नरसंहार छैन । कटन उत्पादनजस्ता काममा जबर्जस्ती मजदूरी गर्नुपर्ने कुनै बाध्यता छैन । सिनजियाङको सुरक्षा र स्थिरता ध्वस्त गर्न तथा चीनलाई बेइज्जत गर्नका लागि यस्तो हल्ला फैलाइएको हो,’ चिनियाँ सरकारका अधिकारीले वाङलाई पठाएको एक सन्देशमा उल्लेख थियो ।

यो समय अमेरिकी सञ्चारमाध्यमहरुले सिनजियाङ प्रान्तमा उग्युरमाथि अमानवीय व्यवहार भएको समाचार सम्प्रेषण गरिरहेका थिए । सिनजियाङ क्षेत्रमा उत्पादित कटनका सामग्रीहरु अमेरिकामा बहिस्कार गर्ने ट्रेन्ड बढिरहेको थियो । चीनमाथि लामो समयदेखि अल्पसंख्यक उग्युर मुस्लिम समुदायलाई दमन गरेको आरोप लागिरहेको छ । 

वाङ को हुन् ?

वाङ नोभेम्बर २०२२ मा अर्काडिया सिटी काउन्सिलकी सदस्य चुनिएकी थिइन् । क्यालिफोर्नियाको लस एन्जलस काउन्टीअन्तर्गत पर्ने यस शहरमा ५ सदस्यीय निर्वाचित काउन्सिल सदस्यबाटै आलोपालो मेयर चयन हुन्छ ।  यसै वर्ष फेब्रुअरीमा वाङ मेयर बनेकी थिइन् । 

सन् २०२४ मा लस एन्जलस टाइम्समा प्रकाशित समाचारअनुसार १९९० को दशकमा वाङको परिवार सिचुआन प्रान्तबाट लस एन्जलस आएको थियो । उनी १९६७ वा १९६८ मा जन्मिएको हुनसक्ने अलजजिराको समाचारमा उल्लेख छ । 

आफ्ना चिकित्सक बाबु र आमासँगै उनी लस एन्जलस आएकी थिइन् । सन् २००० को सुरुवातमा उनी अर्काडियामा सरिन् । अर्काडियामा उनी आफ्ना दुई छोरासँगै बस्दै आएकी छिन् । सञ्चारमाध्यमहरुका अनुसार वाङले अमेरिकाको अंगिकृत नागरिकता लिएकी हुन् । तर कुन मितिमा लिइन् भन्ने खुलेको छैन । वाङका पूर्व प्रेमी माइकले सन् २०१२ मा अंगिकृत नागरिक भएका थिए । अहिले माइकसँग आफ्नो कुनै सम्बन्ध नरहेको वाङले बताएकी छिन् । 

के हुनसक्छ ?

वाङमाथि अधिकतम १० वर्ष जेलसजाय हुनसक्छ । वाङका वकिल ब्रियान ए सन र जासोन लियाङले वाङको गल्ति सार्वजनिक पदको दुरुपयोग नभएर व्यक्तिगत रहेको बताए । गल्तिका लागि वाङले क्षमा मागेको पनि उनीहरुले बताए । 

‘यो बुझ्न जरुरी छ कि वाङले चीन सरकारसँग गरेको सम्झौता वा सुचना दिने काम पूर्णतः व्यक्तिगत हो । उनका पूर्व प्रेमीसँग मिलेर चलाएको मिडिया प्लेटफर्मअनुसा गरिएको हो । निर्वाचित सार्वजनिक पदमा रहदाँ उनले गरेको काम होइन,’ सन र लियाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

माइकमाथि ताइवानविरुद्ध अमेरिकामा बसेर चिनियाँहरुको सहयोगमा जासुसी गरेकोसहित धेरै अभियोग लागेको छ । उनले अवैध रुपमा विदेशी एजेन्ट बनेको अभियोगलाई अक्टुबर २०२५ मा स्विकारेका थिए । उनी ४ वर्ष लामो जेल सजाय व्यहोरिरहेका छन् ।  अन्य मुद्दा चलिरहेको छ । 

कान्तिपुर

Link copied successfully