अमेरिका–चीनका अलग अलग रणनीतिक स्वार्थ भए पनि व्यापारिक सम्बन्धलाई मजबुत बनाउनुपर्ने आवश्यकता दुवैले महसुस गरेका छन् ।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चीन फिङ बिहीबार बेइजिङको ‘द ग्रेट हल अफ द पिपुल’मा भेट्ने कार्यक्रम छ ।
पहिलो कार्यकालमा सन् २०१७ नोभेम्बरमा ट्रम्प बेइजिङ गएका थिए । त्यसपछि अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
यद्यपि, ट्रम्प र सीबीच विभिन्न स्थानमा पटक–पटक भेटवार्ता भइरहेका छन् । पछिल्लोपटक अक्टुबरमा २०२५ मा दक्षिण कोरियाको बुसानमा दुई नेताबीच भेट भएको थियो । त्यसबेला चीनमाथिको अमेरिकी भन्सार शुल्क ५७ प्रतिशतबाट हटाएर ४७ प्रतिशतमा झारिएको थियो ।
त्यस्तै, ट्रम्पले घोषणा गरेको भन्सार वृद्धिको निर्णय पनि स्थगित गरिएको थियो । जवाफमा चीनले पनि दुर्लभ खनिज धातुमा गरिएको कडाइलाई खुकुलो बनाएको थियो । ट्रम्पले उक्त सफल भेटवार्तालाई १० मा १२ अंक भन्दै प्रशंसा गरेका थिए ।
यसपटक सी र ट्रम्पको भेट तनावपूर्ण भू–राजनीतिक पृष्ठभूमिमा हुँदैछ । अमेरिका आफैं इरान युद्धमा संलग्न छ । यस युद्धले विश्वव्यापी ऊर्जा बजार प्रभावित भएको छ । इरानको रणनीतिक साझेदार चीनले २८ फेब्रुअरीमा इरानमाथि भएको आक्रमणको निन्दा गरेको थियो ।
अमेरिका–चीनका अलग–अलग रणनीतिक स्वार्थ भए पनि व्यापारिक सम्बन्धलाई मजबुत बनाउनुपर्ने आवश्यकता दुवैले महसुस गरेका छन् । दुई ठूला अर्थतन्त्रबीचको व्यापारीक सम्बन्ध बिग्रदाँ विश्वभर नै त्यसको असर पर्ने गरेको छ ।
डोनल्ड ट्रम्प दोस्रो कार्यकाल राष्ट्रपति बनेर आएसँगै उनले चिनियाँ सामाग्रीमाथिको भन्सार बढाए । जसकारण, अमेरिकामा चिनियाँ सामाग्रीको निर्यात घट्यो । त्यसयता, चीनले अमेरिकासँगको निर्भरता कम गर्नका लागि विश्वका विभिन्न देशहरुसँग व्यापारिक सम्झौता गरिरहेको छ । जसले अमेरिकासँग प्रतिस्पर्धाका बाबजुद चीनलाइ विश्वभरमा एक स्थिर र भरपर्दो साझेदारका रुपमा स्थापित गरिरहेको छ ।
गत जनवरीमा स्वीट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा चिनियाँ उप–प्रधानमन्त्री हि लिफेङले बहुपक्षीयता र व्यापारप्रति चीनको प्रतिवद्धता दोहोर्याएका थिए । चीनले साझा समृद्धिलाई बढावा दिइरहेको र विश्व अर्थतन्त्र तथा व्यापारको दायरालाई फराकिलो बनाइरहेको उनको दाबी थियो ।
सन् २०२६ को पहिलो दुई महिनामा चीनको निर्यात गत वर्षको तुलनामा २१.८ प्रतिशतले वृद्धि भएको छ । यसले अमेरिकासँगको व्यापार घट्दा पनि चीनले बाँकी विश्वमा आफुलाई फैलाइरहेको देखाउँछ ।
यसबाहेक इरान युद्ध र भेनेजुएलामा अमेरिकी हस्तक्षेपका विषयमा पनि ट्रम्प र सीबीच छलफल हुनेछ । भेनेजुएलालाई चीनले १ खर्ब डलरभन्दा धेरै तेलमा आधारित ऋण उपलब्ध गराएको छ । त्यहाँको तेल बजार प्रभावित हुँदा चीनलाई रणनीतिकमात्रै नभएर ठूलो व्यापारिक घाटा पनि हुनेछ ।
ताइवानको विषयमा पनि ट्रम्प–सीबीच छलफल हुनेछ । चीनले आफ्नो भूभाग ताइवानमा अमेरिकाले भूराजनीतिक खेल खेलिरहेको आरोप लगाउँदै आएको छ । ‘मैले भन्दा ज्यादा उनले (सी) ताइवानको मुद्दा ल्याउनेछन्,’ मंगलबार चीनतर्फ प्रस्थान गर्नुअघि ट्रम्पले राष्ट्रपति कार्यालयमा पत्रकार सम्मेनलमा भनेका थिए ।
अमेरिकासँग चीनले समानता, सम्मान र आपसी हितको भावनाका आधारमा अमेरिकासँग सहकार्य गर्ने लक्ष्य राखिएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बताएका छन् ।
‘दुई नेताहरुबीच चीन–अमेरिका सम्बन्धका प्रमुख मुद्दाहरु तथा विश्व शान्ति र विकासबारे गहिरोसँग कुराकानी हुनेछ,’ गुओले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने,‘ समानता, सम्मान र आपसी हितका आधारमा सहकार्य बिस्तार गर्न, फरक मतलाई व्यवस्थापन गर्ने र बदलिदों तथा अस्थिर विश्वमा स्थिरता ल्याउनका लागि अमेरिकासँग सहकार्य गर्न चीन तयार छ ।’
ट्रम्प प्रशासनले चीनसँगको व्यापार सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको छ । ट्रम्पको भ्रमण टोलीमा १६ वटा प्रतिष्ठित अमेरिकी कम्पनीका सिईओहरु सहभागी छन् । टेस्ला तथा स्पेस एक्सका सिइओ एलन मस्क, एप्पलका सिइओ टिम कुक, ब्ल्याक रकका ल्यारी फिन्कसहित प्रविधि,बैंक र ठूला उत्पादन गृहका सिइओ वा सञ्चालक भ्रमण टोलीमा समावेश छन् ।
अमेरिकाले चीनसँग व्यवस्थित व्यापारिक ढाँचा स्थापना गर्नका लागि ‘बोर्ड अफ ट्रेड’ को प्रस्ताव गर्ने तयारी गरेको छ । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले द्विपक्षीय व्यापार प्रवाहलाई औपचारिक र सन्तुलित बनाउन यसको आवश्यकता रहेको बताएका छन् । यस बोर्डले आयात र निर्यातका लागि प्राथमिकताका वस्तुहरू निर्धारण गरिनेछ ।
अमेरिकाले महत्वपूर्ण तथा दुर्लभ खनिजहरूमा आफ्नो पहुँच निरन्तर कायम राख्नका लागि चीनसँग वार्ता गर्नेछ । चीन दुर्लभ खनिजको सबैभन्दा ठूलो आपुर्तिकर्ता हो । विश्वको ९० प्रतिशत प्रशोधित धातु चीनसँग छ । त्यस्तै विश्वका ६०–७० प्रतिशत खनिज उत्पादन केन्द्र चीनमै छन् ।
युएस जियोलोजिकल सर्भेको सन् २०२०–२०२३ को तथ्याङ्कअनुसार अमेरिकामा विदेशबाट आयात हुने दुर्लभ धातु खनिजको झन्डै ७० प्रतिशत हिस्सा चीनबाट आउँछ । ब्याट्रि, विद्युतीय सवारी, सेमिकन्डक्टरलगायत महत्वपूर्ण सामाग्रीको प्रयोगमा यी धातुहरु अपरिहार्य छन् । गत वर्ष चीनले केही समय यी धातुको निर्यातमा कडाई गर्दा अमेरिकी तथा पश्चिमा देशका उद्योगधन्दा नराम्रोसँग प्रभावित भएका थिए ।
चीनले ५०० वटा बोइङ विमान खरिद गर्न सक्ने पनि अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै, अमेरिकी कृषि उत्पादनहरूको आयातलाई निरन्तरता दिने विषय पनि ट्रम्प भ्रमणको एजेन्डामा छ ।
अमेरिकाले पछिल्ला वर्षहरुमा चिनियाँ सामाग्री र लगानीमाथि कडा निगरानी गरिरहेको छ । यसलाई खुकुलो बनाउनका लागि चीनले प्रस्ताव गर्दैछ । विशेषगरी चीनमा उत्पादन हुने उच्च प्रविधि र एआईजस्ता प्रविधिको प्रयोगलाई अमेरिकाले विभिन्न प्रतिबनन्धमार्फत निरुत्साहित गरिरहेको छ । यस विषयमा पनि दुई देशका राष्ट्रप्रमुखबीच कुराकानी हुनेछ ।
बैठकमा चिनियाँ कार निर्माताहरूका लागि अमेरिकी बजारमा पहुँचको विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ । यसमा विश्वकै ठूलो विद्युतीय कार निर्माता बीवाईडीजस्ता प्रमुख कम्पनीहरूलाई अमेरिकी बजारमा दिइने सहज पहुँचको विषय समावेश छ ।
गत जनवरीमा ट्रम्पले चिनियाँ कार निर्माताहरूलाई अमेरिकामा गाडी बेच्न दिने संकेत गरेका थिए । तर, पछिल्ला दिनहरुमा अमेरिकी सांसदहरूले ट्रम्पलाई चिनियाँ कारहरूमाथिको प्रतिबन्ध खुकुलो नपार्न आग्रह गरेका छन् । चिनियाँ गाडीहरूको प्रवेशले अमेरिकाका अटो कम्पनीहरुलाई समस्यामा पार्नसक्ने जोखिम उनीहरूले औल्याएका छन् । पछिल्ला वर्षमा कमजोर हुँदै गएको जनस्तरको सम्बन्धलाई सुदृढ बनाउन चीनले पहल गर्दैछ । यसमा शैक्षिक, सांस्कृतिक र व्यावसायिक आदनप्रदान समावेश छन् ।
