आगामी ४ वर्षमा काठमाडौंबराबरको जनसंख्या बिदेसिन सक्छन् : सिस्लेन

विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले कान्तिपुर इकोनोमिक समिटमा नेपालमा रोजगारी सिर्जना चुनौतीपूर्ण भएको भन्दै काठमाडौंको जति जनसंख्या बिदेसिन सक्ने चेतावनी दिएका छन् ।

वैशाख ३०, २०८३

कान्तिपुर संवाददाता

A population equal to Kathmandu's could emigrate in the next 4 years: Sislen

काठमाडौँ — नेपालको आर्थिक विकास र भविष्यका लागि रोजगारी सिर्जना सबैभन्दा ठूलो चुनौती रहेको विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि देशीय निर्देशक डेभिड सिस्लेनले बताएका छन् ।

कान्तिपुर इकोनोमिक समिट २०२६ को उद्घाटन सत्रमा उनले आफू नेपालमा रहेको विगत २१ महिनाको अवधिमा मात्रै १२ लाख नेपालीले देश छाडेको उल्लेख गर्दै  यो दर कायम रहे, आगामी चार वर्षमा काठमाडौंको कुल जनसंख्या बराबरको संख्यामा मानिसहरू बाहिरिने चिन्ता प्रकट गरे । 

विश्व बजारमा एआईले गर्दा रोजगारी गुमिरहेको बेला वैदेशिक रोजगारीको अवस्थाप्रति उनले ध्यानाकर्षण गराए । सिस्लेनका अनुसार विश्व बैंकले नेपालका लागि आफ्नो एजेन्डामा रोजगारीको मुद्दालाई मुख्य प्राथमिकता राखेको बताए ।

यो लक्ष्य प्राप्तिका लागि सिस्लेनले पूर्वाधार, नीति र वित्त गरी तीनवटा मुख्य क्षेत्रमा सुधारको आवश्यकता औंल्याए । पूर्वाधारको क्षेत्रमा नेपालले गत वर्ष आफ्नो पुँजीगत बजेटको ५९ प्रतिशत मात्र खर्च गर्न सकेको बताए । उनले नेपालको कर प्रणालीमा रहेको अनिश्चिततालाई समस्याको रूपमा चित्रण गरे । 

‘नेपालको बैंकिङ क्षेत्र कुल गार्हस्थ उत्पादनको १२ प्रतिशत भए पनि पुँजी परिचालनमा समस्या छ,’ उनले भने, ‘नेपाली बैंकहरू मुख्यतया धितोमा आधारित कर्जामा मात्र केन्द्रित हुँदा र बजारमा भेन्चर क्यापिटल  वा 'एन्जल मनी' जस्ता बीउ पुँजीको लगानी वितरण हुन सकेको छैन ।’  निजी क्षेत्रको विकास र रोजगारी सिर्जनाका लागि यी तीनै क्षेत्रमा ठोस सुधार आवश्यक रहेको उनको धारणा छ ।

कान्तिपुर

Link copied successfully