शान्ति प्रस्ताव अस्वीकार गरे अमेरिकासँग अर्को बाटो छैन : इरान

इरानले अमेरिकासमक्ष आफूले पठाएका १४ बुँदे प्रस्ताव स्वीकार गर्नुबाहेकको अर्को बाटो नभएको बताएको छ ।

वैशाख २९, २०८३

कान्तिपुर संवाददाता

Iran: US has no other option if it rejects peace offer

काठमाडौँ — अमेरिकाले इरानद्वारा दिइएको युद्ध अन्त्य गर्ने प्रस्तावलाई अस्वीकार गरेको छ । यसको जवाफमा इरानले अमेरिकासमक्ष आफूले पठाएका १४ बुँदे प्रस्ताव स्वीकार गर्नुबाहेकको अर्को बाटो नभएको बताएको छ । 

इरानी संसद्‌का अध्यक्ष मोहम्मद बागर गालिबाफले एक्समा लेखेका छन्, ‘इरानी जनताको अधिकार मान्नुबाहेक अर्को बाटो छैन । जस्तो कि १४ बुँदे प्रस्तावमा लेखिएको छ ।’

उनले अन्य उपायहरु बेकार हुनेसमेत दाबी गरेका छन् । थप अघि भनेका छन्, ‘अब अमेरिकासँग लगातार असफलताबाहेक अरु केही प्राप्त हुनेछैन ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि अमेरिकी प्रस्तावमा इरानका तर्फबाट आएको जवाफ पूरै तरिकाले अस्वीकार्य हुने बताएका छन् । 

इरानी समाचार एजेन्सी तस्नीम न्यूज एजेन्सीका अनुसार पाकिस्तानमार्फत पठाइएको इरानको प्रस्तावमा कैयौं मागहरु छन् । यी मागहरुमा तत्काल युद्ध अन्त्य गर्नुपर्ने, इरानी बन्दरगाहमा अमेरिकी जलसेनाको नाकाबन्दी हटाउने र भविष्यमा इरानविरुद्ध पुन: आक्रमण नहुने ग्यारेन्टी हुनुपर्ने लगायत छन् ।

कान्तिपुर

Link copied successfully