युद्धबीच यी कम्पनीले कमाइरहेछन् मनग्ये मुनाफा

साढे दुई महिनादेखि जारी खाडी युद्धले विश्वकै अर्थतन्त्र डामाडोल बनेको अवस्थामा पनि केही ठूला बैंक र पेट्रोलियम, हतियार निर्माता, नवीकरणीय ऊर्जाका ठूला कम्पनीहरूले भने ‘आकर्षक’ मुनाफा कमाइरहेका छन्

वैशाख २८, २०८३

कान्तिपुर संवाददाता

These companies are earning huge profits amidst the war

काठमाडौँ — एजेन्सी (काठमाडौं)– अमेरिका–इजरायलले २८ फेब्रुअरीमा इरानमा आक्रमण गरेयता पश्चिम एसियामा ठूलो जनधनको क्षति भएको छ । विश्वको अर्थतन्त्र डामाडोल छ । तर, यस्तो असहज अवस्थामा पनि केही कम्पनीहरूले भने ‘आकर्षक’ मुनाफा कमाइरहेका छन् ।

विश्वको झन्डै २० प्रतिशत कच्चा तेल–ग्यास बाहिरिने हर्मुज जलमार्गमा युद्ध सुरु भएदेखि नै अवरोध छ । यसले पेट्रोलियम इन्धनको मूल्यमा उच्च वृद्धि भएको छ । युद्धविराम र शान्ति वार्ताको घोषणाले मूल्य घटे पनि पूर्ववत् अवस्थामा फर्किसकेको छैन । युद्धअघि ब्रेन्ट क्रुड ७०–७२ डलर प्रतिब्यारेल आसपास कारोबार भइरहेको थियो । ३० अप्रिलमा यसको मूल्य युद्ध सुरु भएयताकै उच्च १२६.४१ डलर प्रतिब्यारेलसम्म पुग्यो । अहिले फेरि १०० डलर आसपास कारोबार भइरहेको छ ।

इन्धन मूल्यमा देखिएको यो उतारचढावको ठूलो फाइदा युरोपका ठूला पेट्रोलियम तथा ग्यास कम्पनीहरूले उठाएका छन् । ती कम्पनीहरूमध्ये ब्रिटिस पेट्रोलियमले यस वर्षको पहिलो त्रैमासिकमा असाधारण नाफा भएको जनाएको छ ।

सन् २०२६ को पहिलो त्रैमासिकमा कम्पनीको नाफा गत वर्षको दाँजोमा दोब्बरभन्दा धेरैले बढेर ३ अर्ब २० करोड डलर पुगेको छ । अर्को ठूलो पेट्रोलियम कम्पनी सेलले पनि पहिलो त्रैमासिकमा ६ अर्ब ९२ करोड नाफा भएको जनाएको छ ।

तेल र ऊर्जा बजारको अस्थिरताका कारण टोटल इनर्जिजको नाफा पनि गत वर्षको दाँजोमा पहिलो त्रैमासिकमा झन्डै एक तिहाइले बढेर ५ अर्ब ४० करोड डलर पुगेको छ ।

अमेरिकी ठूला कम्पनीहरू एक्सन मोबिल र सेभ्ररानले भने नाफा घटेको दाबी गरेका छन् । हर्मुजको अवरोधका कारण व्यापार घटेको उनीहरूको दाबी छ । यद्यपि, तेलको मूल्य अझै पनि युद्ध सुरु हुनुअघिको अवस्थामा फर्किसकेको छैन । त्यहीकारण वर्षको अन्त्यसम्म उनीहरूको नाफा बढ्ने विश्लेषकहरूको अनुमान छ ।्

यसबीच युरोप र अमेरिकाका ठूला बैंकहरूको नाफा पनि उल्लेख्य बढेको छ । अमेरिकाको सबैभन्दा ठूलो बैंक जेपी मोर्गनले पहिलो त्रैमासिकमा कीर्तिमानी ११ अर्ब ६० करोड डलर आम्दानी गरेको जनाएको छ । त्यस्तै मोर्गन स्ट्यान्ली, सिटी ग्रुप, गोल्डम्यान स्याक्स्, वेल्स फागोलगायत ठूला वित्तीय संस्थाले पनि आफ्नो नाफा बढेको जनाएका छन् ।

‘धेरै मात्रामा भएको सेयर कारोबारले विशेषगरी मोर्गन स्टेनली र गोल्डम्यान स्याक्स जस्ता इन्भेस्टमेन्ट बैंकहरूलाई फाइदा पुर्‍याएको छ,’ वेल्थ क्लबकी मुख्य लगानी रणनीतिकार सुसाना स्ट्रिटरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

जोखिमपूर्ण सेयर र ऋणपत्रहरू छाडेर सुरक्षित मानिने सम्पत्तिमा लगानीकर्ताहरूले लगानी बढाएपछि अमेरिकी सेयर बजारमा प्रमुख बैंकहरूको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । वित्तीय बजारमा देखिएको उतारचढावबाट फाइदा उठाउन खोज्ने लगानीकर्ताहरूका कारण पनि कारोबारको मात्रा बढेको विश्लेषकहरूको निष्कर्ष छ ।

‘युद्धका कारण उत्पन्न अत्योलले कारोबारमा उछाल ल्याएको छ, केही लगानीकर्ताले युद्ध चर्कने डरले सेयर बेचे भने, अरूले बजार घटेको मौका छोपी सेयर खरिद गरे, जसले गर्दा बजारमा चहलपहल ल्यायो,’ स्ट्रिटरले बीबीसीलाई भनेकी छन् ।

द्वन्द्वका कारण हतियार निर्माता तथा सुरक्षा प्रदायक कम्पनीहरूलाई पनि अत्यधिक लाभ भएको छ । युरोप र अमेरिकामा मिसाइल रक्षा प्रणाली, ड्रोन प्रतिरोधी प्रविधि र सैन्य उपकरणमा लगानी बढ्दो छ । जारी युद्ध र भविष्यमा हुन सक्ने युद्धलाई मध्यनजर गरेर विभिन्न देशका सरकारहरूले हतियारको भण्डारण बढाएका छन् । यसले हतियार कम्पनीहरूलाई प्रत्यक्ष फाइदा मिलेको छ ।

एफ–३५ (३५) फाइटर जेटका लागि पार्टपुर्जा निर्माण गर्ने कम्पनी ‘बीएई सिस्टम्स’ ले गत बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै यस वर्ष बिक्री र नाफामा बलियो वृद्धि हुने अपेक्षा गरेको छ । बढ्दो सुरक्षा चुनौतीका कारण विश्वभरका सरकारहरूले रक्षा खर्च बढाएकाले हतियारको व्यापार अनुकूल बनेको कम्पनीले जनाएको छ ।

त्यस्तै विश्वका तीन ठूला सुरक्षा कम्पनीहरू लकहिड मार्टिन, बोइङ र नर्थरोप ग्रुम्यानले पनि २०२६ को पहिलो त्रैमासिकको मुनाफा बढाएका छन् । अमेरिकाले इरानमा आक्रमण गरेको पहिलो दिन (२८ फेब्रुअरी) नै यी कम्पनीहरूको सेयर ४ प्रतिशतदेखि ६ प्रतिशतले बढेको थियो । त्यस्तै इजरायली कम्पनी इल्बिक सिस्टम्स केही समयका लागि देशकै मूल्यवान् कम्पनीका रूपमा सूचीकृत भएको थियो ।

युरोप र बेलायतमा ठूला कम्पनीहरूको सेयर मूल्य घट्दा सुरक्षा कम्पनीहरूको सेयर मूल्य भने बढेको छ । ‘यो द्वन्द्वले एयर डिफेन्स क्षमतामा रहेका कमजोरीहरू उजागर गरिदिएको छ । जसले अमेरिका र युरोपमा मिसाइल डिफेन्स, काउन्टर ड्रोन प्रणाली र सैन्य उपकरणमा लगानी बढाउनुपर्ने आवश्यकता महसुस गराएको छ,’ आरएसएम यूकेकी वरिष्ठ विश्लेषक एमिली साविचले बीबीसीसँग भनिन् ।

विश्व बैंकका अनुसार सन् २०११ देखि २०२० सम्म पश्चिमा प्रतिबन्धका कारण झन्डै १ करोड इरानी सर्वसाधारण गरिबीमा धकेलिएका थिए । युद्धले थप मानिसहरूलाई गरिब बनाउँदै छ ।

युद्धले जीवाश्म इन्धनले नवीकरणीय ऊर्जातर्फ मानिसहरूलाई आकर्षित गरेको छ । अमेरिकामा समेत नवीकरणीय ऊर्जाको प्रयोग बढाउनुपर्ने माग उठेको छ । जबकि, युद्धअघि ट्रम्प प्रशासनले जीवाश्म इन्धनको प्रयोग बढाउन अघि सारेको ‘ड्रिल बेबी ड्रिल’ नारा लोकप्रिय थियो ।

युद्धका कारण अमेरिकाको फ्लोरिडास्थित नवीकरणीय ऊर्जा कम्पनी ‘नेक्स्ट एरा इनर्जी’ को सेयर मूल्य यस वर्ष १७ प्रतिशतले बढेको छ । डेनमार्कका वायु ऊर्जा कम्पनीहरू भेस्टास र ओस्र्टेडले पनि उच्च नाफा कमाएको बताएका छन् । बेलायतको ‘अक्टोपस इनर्जी’ ले युद्धका कारण सोलार प्यानल र हिट पम्पको बिक्री ठूलो रूपमा बढेको जनाएको छ । फेब्रुअरीयता मात्र सोलार प्यानलको बिक्रीमा ५० प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

नवीकरणीय ऊर्जाको बढ्दो प्रयोगको सबैभन्दा ठूलो लाभ चीनले उठाएको छ । विश्वमा झन्डै ७० प्रतिशत विद्युतीय सवारी र ८५ प्रतिशत ब्याट्री चीनमा उत्पादन हुने गरेको ऊर्जासम्बन्धी थिंक ट्यांक इम्बरले जनाएको छ ।

‘नवीकरणीय ऊर्जा प्रविधिमा चीन पहिले नै पूर्ण रूपमा प्रभावशाली शक्ति थियो,’ इम्बरका विश्लेषक युवान ग्राहमले वासिङ्टन पोस्टस“ग भनेका छन्, ‘पश्चिम एसिया संकटले चीनबाट स्वच्छ प्रविधिहरूको निर्यात थप बढाएको छ ।’

चीनको सरकारी तथ्यांकअनुसार मार्च महिनामा सोलार, ब्याट्री र विद्युतीय सवारी जोड्दा हुने कुल बिक्री गत वर्षको सोही महिनाको दाँजोमा ७० प्रतिशतले बढेको देखाउँछ ।

यसमध्ये विद्युतीय सवारी मात्रैको वृद्धि हेर्ने हो भने गत वर्षको दाँजोमा १ सय ४० प्रतिशतले बढेको छ । मार्चमा चीनको ब्याट्री निर्यात १० अर्ब अमेरिकी डलर पुगेको थियो ।

कान्तिपुर

Link copied successfully