थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त

खुशी साट्न जेलबाहिर भेला भएका समर्थकहरूले ‘वि लभ थाक्सिन’ को नारा लगाएका थिए

वैशाख २८, २०८३

कान्तिपुर संवाददाता

Former Thai PM Shinawatra released from prison

रासस — थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैङ्ककको जेलबाट पेरोलमा रिहा भएका छन् । भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाएका थाक्सिनले आठ महिना जेल सजाय भोगिसकेका छन् । 

दशकौँदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समय अनुसार सोमबार बिहानै जेलबाट रिहा भएका हुन् ।

उनको स्वागतका लागि बैङ्ककको केन्द्रीय कारागार ‘क्लोङ प्रेम’ बाहिर करिब ३०० समर्थक र राजनीतिक सहयोगीहरू भेला भएका थिए । थाक्सिन सेतो पोलो ब्रान्डको टिसर्ट र निलो पाइन्ट लगाएर जेलबाट बाहिर निस्किँदा उनलाई परिवारिक सदस्यहरूले अँगालो हाल्दै स्वागत गरेका थिए ।

त्यस्तै, उनको रिहाइसँगै खुशी साट्न जेलबाहिर भेला भएका समर्थकहरूले ‘वि लभ थाक्सिन’ को नारा लगाएका थिए । त्यस्तै उनलाई रातो गुलाब उपहार दिएका थिए। रिहाईपछि पहिलो पटक सार्वजनिकरूपमा देखिएका उनले सञ्चारमाध्यमसँग भने कुनै प्रतिक्रिया दिन भएनन् । 

दूरसञ्चार व्यवसायमा आबद्ध अर्बपति व्यापारी थाक्सिनले सन् १९९८ मा आफ्नै राजनीतिक पार्टी गठन गरेका थिए । सन् २००१ मा उनी थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए । सन् २००६ मा सेनाले ‘कू’ गरेर उनको सरकार अपदस्थ गरेको थियो । त्यतिबेला उनी विदेश भ्रमणमा थिए । 

त्यतिबेला थाई राजनीति झण्डै दुई दशकसम्म गहिरो राजनीतिक द्वन्द्व र ध्रुवीकरणको शिकार बनेको थियो । थाक्सिनलाई शक्तिको दुरुपयोग, आफ्नो व्यापारिक हितलाई फाइदा पुर्याएको र सरकारी चिठ्ठा परियोजनामा अनियमितता गरेको आरोप लगाइएको थियो । उनलाई अनुपस्थितिमा नै दोषी ठहर गरिएको थियो ।

सन् २०२३ मा उनी स्वदेश फर्किएका थिए र अदालतमा हाजिर भएका थिए ।  त्यहाँबाट उनलाई सुरुमा आठ वर्षको जेल सजाय सुनाइएको थियो । तर पछि थाइल्यान्डका राजा महा वाजिरालोङकोर्नले जेल सजाय घटाएर एक वर्षमा झारेका थिए । 

स्वास्थ्य कारण देखाउँदै थाक्सिनलाई बैङ्ककस्थित प्रहरी अस्पतालको एक विशेष कक्षमा कैद गर्न दिइएको थियो । यो निर्णयका विरोधीहरुले उनलाई विशेष सुविधा दिएको आरोप लगाएका थिए । यसपछि सन् २०२५ सेप्टेम्बरमा सर्वोच्च अदालतले उनलाई जेलमा आफ्नो सजाय पूरा गर्न आदेश दिएको थियो ।

हालसालै, न्याय मन्त्रालयको एक समितिले उनको राम्रो आचरण, बढ्दो उमेर र पुनः अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उनको लागि ‘प्यारोल’ स्वीकृत गरेको छ । रिहाइपछि आगामी चार महिनासम्म उनलाई निगरानीमा राखिने बताइएको छ । उनीहरूले बैङ्ककमा आफ्नो घरमा बस्नुपर्नेछ भने निगरानीका लागि ‘इलेक्ट्रोनिक मोनिटरिङ ब्रेसलेट’ लगाउनु पर्नेछ र नियमित रूपमा अधिकारीहरूलाई रिपोर्ट गर्नुपर्नेछ ।

सन् २०२४ मा थाक्सिनकी छोरी पातोङटार्न सिनावात्रा थाइल्यान्डको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी थिइन् । तर विदेशी अधिकारीसँगको विवादास्पद फोन कल सार्वजनिक भएपछि संवैधानिक अदालतले उनलाई सन् २०२५ मा पदबाट हटाएको थियो । यस वर्षको आम निर्वाचनमा थाक्सिन समर्थित फेउ थाई पार्टी तेस्रो स्थानमा पुगेको थियो ।

कान्तिपुर

Link copied successfully