अमेरिकी विदेशमन्त्री रूबियोले सामाजिक सञ्जाल एक्समार्फत दुई पक्षीय सुरक्षा समझदारी र पश्चिम एसियामा स्थिरता ल्याउने विषयमा भेटमा छलफल भएको बताए ।
मायामी (अमेरिका) — अमेरिकी विदेशमन्त्री मार्को रूबियोले कतारका प्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अलथानीसँग भेटवार्ता गरेका छन् । फ्लोरिडाको मायामीमा स्थानीय समयअनुसार शनिबार भएको भेटमा सुरक्षा सहकार्य र पश्चिम एसियामा जारी युद्धबारे छलफल भएको छ ।
भेटपछि अमेरिकी विदेशमन्त्री रूबियोले सामाजिक सञ्जाल एक्समार्फत दुई पक्षीय सुरक्षा समझदारी र पश्चिम एसियामा स्थिरता ल्याउने विषयमा छलफल भएको बताए ।
यसअघि शनिबार नै रूबियो र ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफले मियामीमा अल थानीसँग भेट गरेका थिए । भेटमा इरानसँगको द्वन्द्व अन्त्य गर्ने सम्झौतालाई लिएर छलफल भएको जानकारहरूको भनाइ छ । अमेरिकाले इरानसँगको युद्ध अन्त्यका लागि एक पृष्ठ लामो सहमतिपत्र पठाएको छ । तर, उक्त प्रस्तावमा इरानले अहिलेसम्म कुनै जवाफ दिएको छैन ।
यस अवस्थामा कतारले दुई पक्षबीच मध्यस्थताको भूमिका खेलेको हो । युद्ध सुरु भएपछि ११ र १२ अप्रिलमा पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरान पहिलोपटक प्रत्यक्ष रुपमा वार्ताको टेबुलमा बसेका थिए । तर, २१ घण्टा लामो वार्ताले कुनै सहमति निकाल्न सकेन । त्यसपछि पनि पाकिस्तानले निरन्तर वार्ताका लागि प्रयास गरिरहेको छ । यस अवधिमा द्वन्द्व अन्त्यका लागि कतारले पर्दा पछाडि बसेर भूमिका खेलिरहेको अमेरिकी सञ्चारमाध्यम एक्सियोसमा उल्लेख छ ।
यही सिलसिलामा अमेरिका पुगेका प्रधानमन्त्री थानीले यसअघि शुक्रबार वासिङ्टनमा उपराष्ट्रपति जेडी भान्ससँग पनि वार्ता गरेका थिए ।
