भिक्ट्री डे परेडमा पुटिनले गरे नाटोको निन्दा

परेडलाई सम्बोधन गर्दै पुटिनले रुसले युक्रेनविरूद्ध रूसले न्यायको लडाँइ लडिरहेको दाबी गरे ।

वैशाख २६, २०८३

कान्तिपुर संवाददाता

Putin condemns NATO at Victory Day parade

काठमाडौँ — रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको रेड स्क्वायरमा वार्षिक भिक्ट्री डे सम्बोधनका क्रममा उत्तर एटलान्टिक सन्धी संगठन ( नाटो) को निन्दा गरेका छन् ।

दोस्रो विश्व युद्धमा नाजी जर्मनीमाथि सोभियत युनियनले हासिल गरेको विजयको संझनामा प्रत्येक वर्ष मेइ ९ मा रूसमा भिक्ट्री परेड हुने गर्छ । 

परेडलाई सम्बोधन गर्दै पुटिनले रुसले युक्रेनविरूद्ध रूसले न्यायको लडाँइ लडिरहेको दाबी गरे । युक्रेनले नाटोको सम्पूर्ण ब्लकबाट हतियार र समर्थन पाइरहेको भएपनि रूससँग लड्न कठिन भएको दाबी उनले गरे । 

भिक्ट्री परेडको पूर्वसन्ध्यामा शु्क्रबार युक्रेनसँग तीन दिनका लागि युद्धविराम गर्ने सहमति गरिएको थियो । शनिबारबाट लागु भएको यो युद्धविराम सोमबारसम्म कायम हुने सहमति थियो । तर परेडलगत्तै  युक्रेनले युद्धविराम तोडेको आरोप रूसको रक्षा मन्त्रालयले लगाएको छ । यसमा युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

शनिबार वर्षौंपछि मस्कोले त्यस्तो भिक्ट्री परेड आयोजना गर्‍यो । जहाँ बख्‍तरबन्द सवारी वा ब्यालेस्टिक मिसाइल प्रदर्शन गरिएको थिएन । यसका बाबजुद रेड स्क्वायरमा ठूलो संख्यामा सैनिकहरुले मार्च गरे । 

भीडलाई सम्बोधन गर्दै पुटिनले दोस्रो विश्वयुद्धमा ज्यान गुमाएका सोभियत सैनिकहरुको संझना गरे । उनले विश्वयुद्धमा विजय हासिल गरेका सैनिकहरुले अहिलेको पुस्तालाई प्रेरित गरिररहेको बताए ।

युक्रेन युद्धको सन्दर्भ जोड्दै उनले भने,' नाटोको सम्पूर्ण ब्लकबाट हतियार र समर्थन पाउने आक्रामक शक्तिसँग हाम्रा सैनिकहरुले सामना गरिररहेका छन् । हाम्रा नायकहरु अगाडि बढिरहेका छन्,' उनले भने । 

परेडमा बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्को, मलेसियाका राजा सुल्तान इब्राहिम, उज्बेकिस्तानका राष्ट्रपति शाव्कत मिर्जियोयेभलगायत अतिथि उपस्थित थिए । युरोपेली युनियनका सदस्‍य राष्ट्रमध्ये स्लोभाकियाका प्रधानमन्‍त्री रोबर्ट फिकोमात्रै उपस्थित भए । 

कान्तिपुर

Link copied successfully