विश्वको झन्डै २० प्रतिशत कच्चा तेल र ग्यास आपूर्ति हुने हर्मुजको जलमार्गमा अवरोधले सौर्य ऊर्जा प्रविधि र विद्युतीय सवारीको माग बढ्दो
What you should know
काठमाडौँ — पश्चिम एसियामा २८ फेब्रुअरीदेखि जारी द्वन्द्वले हर्मुजको जलमार्गमा अवरोध उत्पन्न भएसँगै विश्वभर नवीकरणीय ऊर्जाको प्रयोग बढेको छ । विश्वको झन्डै २० प्रतिशत कच्चा तेल र ग्यास आपूर्ति हुने जलमार्गमा अवरोधले सौर्य ऊर्जा प्रविधि र विद्युतीय सवारीको माग बढाएको हो ।
यो सबै परिस्थितिको फाइदा चीनलाई मिल्ने विश्लेषकहरूले बताएका छन् । विश्वमा झन्डै ७० प्रतिशत विद्युतीय सवारी र ८५ प्रतिशत ब्याट्री चीनमा उत्पादन हुने वैश्विक ऊर्जा थिंक ट्यांक इम्बरले जनाएको छ । ‘नवीकरणीय ऊर्जा प्रविधिमा चीन पहिले नै पूर्ण रूपमा प्रभावशाली शक्ति थियो,’ इम्बरका विश्लेषक युवान ग्राहमले वासिङ्टन पोस्टसँग भनेका छन्, ‘पश्चिम एसिया संकटले चीनबाट स्वच्छ प्रविधिहरूको निर्यात थप बढाएको छ ।’
चिनियाँ राजस्व कार्यालयको तथ्यांकले मार्च महिनामा सोलार, ब्याट्री र विद्युतीय सवारी जोड्दा हुने कुल बिक्री गत वर्षको यही महिनाको दाँजोमा ७० प्रतिशतले बढेको देखाउँछ । यसमध्ये विद्युतीय सवारीमात्रैको वृद्धि हेर्ने हो भने गत वर्षको दाँजोमा १ सय ४० प्रतिशतले बढेको छ । मार्चमा चीनको ब्याट्री निर्यात १० अर्ब अमेरिकी डलर पुगेको थियो । युरोपेली युनियनका सदस्य राष्ट्र, अस्ट्रेलिया र भारतमा चिनियाँ ब्याट्रीको निर्यात बढेको इम्बरले जनाएको छ ।
विगतमा नवीकरणीय ऊर्जाको प्रयोग बढाउँदै लगेका देशहरूलाई अहिलेको संकटले तुलनात्मक रूपमा कम क्षति पुगेको छ । चीन आफैं यसको उदाहरण हो । चीनले सन् २०२५ मा हाइड्रोपावरबाट १३–१४ प्रतिशत, सौर्य र वायु ऊर्जाबाट २२ प्रतिशत, आणविक कार्यक्रमबाट ५ प्रतिशत र बायोफ्युल्सबाट झन्डै २ प्रतिशत बिजुली उत्पादन गर्यो । यसरी नवीकरणीय तथा निम्न कार्बन स्रोतहरूको प्रयोगबाट चीनले झन्डै ४२ प्रतिशत बिजुली निकाल्यो । ५८ प्रतिशत बिजुली घरेलु रूपमै उत्खनन गरिएको कोइलाको प्रयोगबाट निकालिएको थियो ।
सन् २०२६ को अन्त्यसम्म चीनमा सौर्य र वायु ऊर्जाबाट ५० प्रतिशतभन्दा धेरै बिजुली उत्पादन हुने प्रक्षेपण चाइना इलेक्ट्रिसिटी काउन्सिल (सीईसी) ले गरेको छ । २०२६ को पहिलो त्रैमासिकमा त्यस दिशामा राम्रो प्रगति भएको सीईसीको प्रतिवेदनमा उल्लेख छ । जीवाष्म इन्धनको दाँजोमा नवीकरणीय ऊर्जाको प्रयोग कम खर्चिलो हुने गरेको छ । ‘युरोपेली युनियनका सदस्यमध्ये सबैभन्दा सस्तोमा स्पेनमा बिजुली उत्पादन हुन्छ । किनकि स्पेनले सौर्य ऊर्जाजस्ता नवीकरणीय ऊर्जा तथा न्यून–कार्बन स्रोतको प्रयोग गरेर विद्युत् निकालिरहेको छ,’ ग्राहमले भने ।
‘पश्चिम एसियाको संकटले निम्त्याएको गम्भीर आपूर्ति अवरोध र चर्को तेल मूल्यले विश्वव्यापी ऊर्जा रूपान्तरणको गति निःसन्देह तीव्र बनाइरहेको छ,’ चीनको फुजियान प्रान्तस्थित स्यामेन विश्वविद्यालयअन्तर्गत चाइना इन्स्टिच्युट फर स्टडिज इन इनर्जी पोलिसीका प्रमुख लिन बोछ्याङले चाइना डेलीसँग भने, ‘स्वच्छ ऊर्जा प्रविधिका लागि अहिले चीनको बलियो उत्पादन क्षमता र अत्यावश्यक सामग्रीहरूमा विश्व धेरै हदसम्म निर्भर छ । जसले भविष्यको विश्वव्यापी ऊर्जा संरचनामा देशको अग्रणी भूमिका अझ दृढ बनाउनेछ ।’
‘सौर्य फोटो भोल्टाइक र हावाबाट चल्ने टर्बाइनदेखि अत्याधुनिक ब्याट्री भण्डारण र नयाँ ऊर्जा सवारीसाधनसम्म, चीनसँग विश्वव्यापी ऊर्जा रूपान्तरणलाई साकार पार्न आवश्यक प्रमुख प्रविधि र उत्पादन क्षमतामा अहिले स्पष्ट अग्रता छ,’ लिनले थपे, ‘विश्वले स्वच्छ ऊर्जाको महत्त्व अझै धेरै अनुभव गरिरहेका बेला हरित प्रविधिप्रतिको चीनको अटल प्रतिबद्धताले उसलाई बजारको अगुवामात्रै होइन, दिगो विकासको अपरिहार्य साझेदारका रूपमा पनि स्थापित गरेको छ ।’
पश्चिम एसिया युद्धपछि एसिया र अफ्रिकाका झन्डै ५० देशमा सोलार प्यानलको आयात उच्च रहेको बेलायत सञ्चारमाध्यम गार्डियनमा प्रकाशित समाचारमा उल्लेख छ । अफ्रिकामा फेब्रुअरीको दाँजोमा मार्चमा सोलार ऊर्जाको आयात १ सय ७६ प्रतिशतले बढेको छ । अधिकांश एसियाली देशहरूमा आयात दोब्बर भएको छ । युरोपेली युनियनका सदस्य राष्ट्र इटाली र पोल्यान्डमा पनि उल्लेख्य रूपमा आयात बढेको छ ।
बेलायतको ऊर्जा प्रदायक अक्टोपस एनर्जीले फेब्रुअरीको तुलनामा मार्चमा सौर्य प्यानलको बिक्रीमा ५४ प्रतिशतले वृद्धि भएको जनाएको छ । त्यस्तै, घर तताउनका लागि प्रयोग हुने न्यून–कार्बन प्रविधिको ‘हिट पम्प’ को बिक्री फेब्रुअरीको तुलनामा मार्चमा ५० प्रतिशतभन्दा धेरै रहेको अक्टोपस एनर्जीले बताएको छ । त्यस्तै विद्युतीय सवारीको बिक्री पनि बढेको उक्त कम्पनीले जनाएको छ ।
युद्धअघि झन्डै ८० प्रतिशत तेल तथा ग्यास पश्चिम एसियाबाट आयात गर्दै आएको पाकिस्तानले चीनबाट सौर्य ऊर्जा प्रविधिको आयात बढाउनेबारे सोचिरहेको छ । दक्षिण कोरियाका राष्ट्रपति ली जाय म्योङले केही समयअघि मात्रै आयातित इन्धनको प्रयोग कटौती गर्नुको विकल्प नरहेको बताएका थिए ।
दक्षिणपूर्वी एसियामा भियतनामको भिनफास्ट कम्पनीले इन्धनको बढ्दो मूल्यवृद्धिका बेला आकर्षक छुटसहित विद्युतीय सवारी बेच्ने निर्णय गर्यो । चीनको बीवाईडीले पनि ग्राहक आकर्षित गर्न यस्ता योजनाहरू ल्याएको छ ।
विश्वको सबैभन्दा ठूलो कोइला निर्यातकर्ता इन्डोनेसिया पनि चीनको स्वच्छ ऊर्जा प्रविधि भित्र्याउन लालयित देखिएको छ । मार्चमा इन्डोनेसियाका राष्ट्रपति प्राबोओ सुवियान्तोले विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्ने योजना अघि सारे । यसमा विद्युतीय कारको उत्पादन र चार्जिङ पूर्वाधार विस्तार समावेश छन् । इन्डोनेसियाको स्वच्छ ऊर्जा आपूर्ति चक्रमा चिनियाँ कम्पनीहरूको भूमिका महत्त्वपूर्ण छ । सन् २०२४ मा प्राबोओको बेइजिङ भ्रमणका क्रममा स्वच्छ ऊर्जा प्रविधि विकासका लागि चीन र इन्डोनेसियाबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो ।
‘नवीकरणीय ऊर्जाको बजार विस्तारले चिनियाँ कम्पनीहरूलाई सिधा फाइदा हुनेछ,’ अमेरिकास्थित इन्स्टिच्युट फर इनर्जी इकोनोमिक्स एन्ड फाइनान्सियल एनालाइसिसका साम रेनोल्ड्सले लस एन्जलस टाइम्ससँग भने । नवीकरणीय ऊर्जामा जोड दिइरहेको चीनसँग जीवाष्म इन्धनको विश्वकै ठूलो भण्डारण छ । चीनले विगत वर्षहरूमा पेट्रोलको भाउ कम हुँदा ठूलो परिमाणमा क्रुड तेल ल्याएर भण्डार गरेको थियो ।
अहिले झन्डै १ अर्ब ४० करोड ब्यारेल कच्चा तेल भण्डारण चीनसँग रहेको अनुमान गरिएको छ । जसमध्ये ३६ करोड ब्यारेल चीनको सरकारी भण्डारण र बाँकी निजी तथा सार्वजनिक कम्पनीहरूसँग छ । इरान युद्ध सुरु हुनअघि पनि उसले निरन्तर तेल भण्डारण गरिरहेको थियो । कच्चा तेलको विश्लेषक कम्पनी कप्लरका अनुसार सन् २०२५ मा इरानबाट निर्यात हुने झन्डै ८० प्रतिशत कच्चा तेल चीनले किनेको थियो ।
(एजेन्सीको सहयोगमा)
