इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० पर्वतारोही बेपत्ता

सरकारी अधिकारीहरूका अनुसार बेपत्ता हुनेहरूमा नौ जना सिंगापुरका नागरिक रहेका छन् भने विस्फोट हुँदा करिब १० किलोमिटर वरपरको क्षेत्रको हावामा धूवाँधूलो फैलिएको छ ।

वैशाख २५, २०८३

एजेन्सी

Volcano erupts in Indonesia, 20 climbers missing

जकार्ता — इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको ‘माउन्ट डुकोनो’ ज्वालामुखी विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार बेपत्ता हुनेहरूमा नौ जना सिंगापुरका नागरिक रहेका छन् भने विस्फोट हुँदा करिब १० किलोमिटर वरपरको क्षेत्रको हावामा धूवाँधूलो फैलिएको छ ।

उद्धार टोली उद्धारका लागि तैनाथ रहेको उल्लेख गर्दै अधिकारीले घाइते व्यक्तिहरूबारे अझै पुष्टि नभएको बताएका छन् । बेपत्ता भएका २० जनाको खोजी भइरहेको स्थानीय उद्धार अधिकारी इवान रामदानीले पुष्टि गरेका छन् ।

वैज्ञानिकहरूले पछिल्लो समयमा इन्डोनेसियामा ज्वालामुखीका गतिविधि वृद्धि भएको चेतावनी दिएपछि १७ अप्रिलदेखि आगन्तुकहरूका लागि बन्द गरिएको भए तापनि बेपत्ताहरू सबै पर्वतारोही रहेको बताइएको छ ।

इन्डोनेसियाको भूविज्ञान विभागका प्रमुख लाना सारियाले विस्फोटले उत्तरी मालुकु प्रान्तको माउन्ट डुकोनोको शिखरबाट करिब १० किलोमिटर टाढाको क्षेत्रसम्म प्रभाव गरेको जनाएका छन् ।

विस्फोटको खरानी उत्तरतर्फ धेरै फैलिएको उल्लेख गर्दै यसतर्फका आवासीय क्षेत्रमा सतर्कता अपनाउनु आवश्यक भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

इन्डोनेसिया एक विशाल द्वीप समूहहरूको राष्ट्र र यसको भौगोलिक स्थितिका कारण बारम्बार भूकम्पीय तथा ज्वालामुखी गतिविधिको सामना गर्ने गरेको जनाइएको छ । त्यसमध्ये पनि माउन्ट डुकोनोमा त्यस्तो जोखिम उच्च रहेको छ ।

सेन्टर फर भोल्कानोलोजी एन्ड जियोलोजिकल हजार्ड मिटिगेसन (पिभिएमबिजी) ले गत डिसेम्बरदेखि नै पर्यटक तथा पर्वतारोहीलाई ज्वालामुखीको चार किलोमिटरभित्रमा नआउन सिफारिस गरेको छ ।

एजेन्सी

Link copied successfully