हान्टा भाइरसको संक्रमण फैलिन नदिन कडा सतर्कता

 अर्जेन्टिनाबाट छुटेको एमभी होन्डियुस नामक जहाजका यात्रुमा देखियो हान्टा भाइरस, जहाजमा सवार तीन यात्रुको मृत्यु, उनीहरूमध्ये एकमा संक्रमण देखियो

वैशाख २५, २०८३

एजेन्सी

Strict precautions to prevent the spread of Hanta virus infection

What you should know

लन्डन — नेदरल्यान्ड्सको कम्पनीको स्वामित्वमा रहेको क्रुज जहाजमा दुर्लभ तर अतिघातक हान्टा भाइरसको संक्रमण फैलिएपछि अन्तर्राष्ट्रिय जगत् चिन्तित भएको छ । उक्त जहाजमा चढेकाहरूले भाइरसलाई फैलाउन सक्ने जोखिमलाई मध्यनजर गरेर अधिकारीहरूले कडाइका साथ यात्रुहरूको निगरानी तथा जाँच गरिरहेका छन् ।

अर्जेन्टिनाबाट छुटेको एमभी होन्डियुस नामक यस जहाज स्पेनको क्यानेरी आइल्यान्डतर्फ गइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार अहिलेसम्म जहाजमा हान्टा भाइरससँग सम्बन्धित ८ वटा केस भेटिएका छन् । यस जहाजमा सवार तीन यात्रुको मृत्यु भइसकेको छ । तीमध्ये एकमा संक्रमण पुष्टि भएको छ । यस जहाजमा अहिले विश्वका २३ देशका १ सय ४० भन्दा धेरै यात्रु सवार छन् । 

११ अप्रिलमा जहाजमा एक व्यक्तिको निधन भएको थियो । ती डच नागरिकको शवलाई २४ अप्रिलमा सेन्ट हेलेना टापुमा झारियो । उनकी पत्नी पनि त्यही टापुमा ओर्लिइन् । त्यसपछि भोलिपल्टै दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित अस्पतालमा उपचारका लागि गइन् । २६ अप्रिलमा उनको मृत्यु भयो । उक्त दिन यस जहाजबाट सेन्ट हेलेना टापुमा १२ देशका दुई दर्जनभन्दा धेरै यात्रु बाहिरिएको नेदरल्यान्ड्सका अधिकारीहरूले बताएका छन् । कन्ट्याक्ट ट्रेसिङबिना नै ती यात्रुहरू बाहिरिएकाले उनीहरू घर फर्कंदा भाइरस फैलन सक्ने भय बढेको छ ।

जहाजका यात्रुहरू बिरामी पर्दै गएपछि जाँच कडा गरिएको थियो । त्यसक्रममा २ मेमा दक्षिण अफ्रिकामा गरिएको ल्याब परीक्षणका क्रममा एक बिरामीमा हान्टा भाइरस पुष्टि भयो । उनी गम्भीर बिरामी छन् र आईसीयूमा राखिएको छ । ३ मेमा अर्का एक व्यक्तिको जहाजमै निधन भयो । बुधबार जहाजका चिकित्सकसहित तीन व्यक्तिलाई उद्धार गरेर युरोपस्थित विशेष अस्पतालमा उपचारका लागि लगिएको छ । उनीहरूको उद्धार हुँदा उक्त जहाज पश्चिम अफ्रिकी टापु देश केप भार्डे नजिक थियो । 

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले हान्टा भाइरस मानिसबाट मानिसमा सर्ने दर निकै कम भएकाले नआत्तिन आग्रह गरेका छन् । डब्लूएचओका अधिकारीहरूले यो कोभिड–१९ भाइरस जसरी विश्वव्यापी रूपमा फैलिने खतरा निकै कम रहेको बताउँदै आएका छन् । यद्यपि, स्वास्थ्य अधिकारीहरूले उक्त जहाजमा निगरानी र सतर्कता कडा पारेका छन् । यस जहाजमा सवार मानिसहरूसँग सम्पर्कमा आएका कम्तीमा ४ महादेशका विभिन्न मानिसलाई पनि पहिचान गर्ने काम थालिएको छ । 

नेदरल्यान्ड्सको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त जहाज नचढेकी एक महिलामा पनि हान्टा भाइरसको लक्षण देखिएको छ । ती महिलालाई अहिले आइसोलेसनमा राखिएको छ । डच अधिकारीका अनुसार ती महिला एक विमान परिचालिका हुन् र विमानमा संक्रमित यात्रुसँगको सम्पर्कमा आएकी थिइन् । यदि यी महिलामा हान्टा भाइरस पुष्टि भएमा उनी एमभी होन्डियुस जहाज नचढेकी पहिलो हान्टा भाइरस संक्रमित हुनेछिन् । 

हान्टा भाइरस के हो ?
हान्टा भाइरस मुसाबाट मानिसमा सर्ने गर्छ । मुसाको पिसाब, पसिना, खकार, थुकलगायत तरल पदार्थको सम्पर्कमा आएमा यो भाइरस सर्छ । कहिलेकाहीं मुसा बसेको ठाउँमा सफाइ गर्दा हावाको माध्यमबाट पनि सर्न सक्छ । पहिचानमा आएका हान्टा भाइरसका भेरिएन्टमध्ये एन्डिस स्ट्रेनमात्रै मानिसबाट मानिसमा सर्ने भेरिएन्ट हो । यो भेरिएन्ट चिली र अर्जेन्टिनामा समय–समयमा फैलिने गरेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार क्रुज–सिपमा यही भेरिएन्ट फैलिएको जनाएको छ । 

हान्टा भाइरसका विभिन्न भेरिएन्टका फरक लक्षण हुन्छन् । लक्षणहरू संक्रमितसँग सम्पर्कमा आएको एकदेखि आठ साताभित्र देखिन सक्छन् । ज्वरो, पाखुरा दुख्ने, ग्यास्ट्रिकलगायत समस्या देखिने गरेको डब्लूएचओले जनाएको छ । युरोप र एसियामा भेटिने हान्टा भाइरस भेरिएन्टले हेमोर्रेजिक र रेनल सिन्ड्रोम गराउने गरेको छ । जसले किड्नी र रक्तनलीहरूमा असर गर्छ । 

दक्षिण अमेरिकामा भेटिएको भेरिएन्टले प्रायः हान्टा भाइरस ‘कार्डियोपुल्मोनरी’ सिन्ड्रोम गराउने गरेको छ । जसले चाँडै नै फोक्सो र मुटुमा समस्या निम्त्याउँछ । यसबाट मृत्यु हुने दर ५० प्रतिशतसम्म छ । जबकि, एसिया र युरोपमा मृत्यु हुने दर (१–१५) प्रतिशत छ । हान्टा भाइरसको कुनै विशेष उपचार छैन । यस्तो संक्रमण भएकाहरूलाई आराम गराउने, आइसोलेसनमा राख्ने, श्वासप्रश्वासमा सहायता उपलब्ध गराउने, भेन्टिलेटरमा राख्नेलगायत काम गरिन्छ ।

एजेन्सी

Link copied successfully