पश्चिम बंगाल विधानसभा : नेपालीभाषी बहुल दार्जिलिङसहितका ३ क्षेत्रमा भाजपाको जित

पश्चिम बंगाल विधानसभा निर्वाचनमा नेपालीभाषी बहुल दार्जिलिङ, कालिम्पोङ र खरसाङ (कर्सियाङ) क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा) ले जितेको छ ।

वैशाख २१, २०८३

पर्वत पोर्तेल

West Bengal Assembly: BJP wins in 3 constituencies including Nepali-speaking Darjeeling

What you should know

विराटनगर — पश्चिम बंगाल विधानसभा निर्वाचन २०२६ मा नेपालीभाषी बहुल दार्जिलिङ, कालिम्पोङ र खरसाङ (कर्सियाङ) क्षेत्रमा भारतीय जनता पार्टी (भाजपा) ले जितेको छ । जसले बंगालको पहाडी क्षेत्रमा भाजपाको प्रभाव अझ मजबुत बनेको छ । 

दार्जिलिङ विधानसभा क्षेत्रमा भाजपाका नोमन राई ६२ हजार ७६ मतसहित विजयी भए । उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका विजय कुमार राईलाई ६ हजार ५७ मतान्तरले पराजित गरे । विजयकुमार राई ममता बनर्जी नेतृत्वको अल इन्डिया त्रिणमूल कांग्रेससँगको गठबन्धनका उम्मेदवार थिए भने नोमन राईले विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाको समर्थन पाएका थिए ।अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको समर्थनमा निरज जिम्बा निर्वाचित भएका थिए । 

नेपालीभाषी बहुल अर्को पहाडी जिल्ला कालिम्पोङ (कालेवुङ) मा पनि भाजपाले पहिलो पटक जित दर्ता गरेको छ । यहाँ भारतकुमार क्षेत्रीले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका रुदेन सदा लेप्चालाई २१ हजार ४ सय ६४ मतान्तरले पराजित गरे । अघिल्लो निर्वाचनमा भने लेप्चा विजयी भएका थिए । यसपटकको परिणामले कालिम्पोङमा भाजपाको उपस्थिति विस्तार भएको देखिन्छ ।

यस्तै, दार्जिलिङ जिल्लाकै खरसाङ (कर्सियाङ) क्षेत्रमा पनि भाजपाका सोनम लामा विजयी भएका छन् । उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अमर लामालाई पराजित गरे । अघिल्लो निर्वाचनमा यहाँ गोर्खा जनमुक्ति मोर्चाको समर्थनमा विष्णुप्रसाद शर्मा (बीपी बजगाईं) निर्वाचित भएका थिए ।

भाजपाका लोकसभा सांसद राजु विष्टले तीनै क्षेत्रमा पार्टीको जितलाई ‘जनताको जित’ भन्दै टिप्पणी गरेका छन् । उनले भनेका छन्,‘यो जित गोर्खा समुदायको जित हो ।’ 

यस पटकको परिणामले दार्जिलिङ पहाडी क्षेत्रमा राजनीतिक शक्ति सन्तुलन फेरिएको छ । अघिल्ला निर्वाचनहरूमा क्षेत्रीय दलहरू मूलतः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा प्रभावशाली देखिए पनि यसपटक भाजपाले त्यो शक्तिलाई पछि पारेको छ । 

भाजपाले चुनावी अभियानमा गोर्खा समुदायका दीर्घकालीन मागलाई प्राथमिकतामा राखेको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलगायत शीर्ष नेताहरूले पनि गोर्खा समुदायलाई सम्बोधन गर्दै अधिकार सुनिश्चित गर्ने आश्वासन दिएका थिए । यसको प्रत्यक्ष प्रभाव गोर्खा समुदायका मतदातामा परेको देखिन्छ । 

दार्जिलिङमा संवेदनशील मुद्दा मानिएको गोर्खाल्याण्डको माग लामो समयदेखि उठ्दै आएको छ । यसलाई सम्बोधन गर्ने प्रतिबद्धताले भाजपातर्फ झुकाव बढाएको विश्लेषकहरू बताउँछन् । ‘मूलतः त्यही कारणले भाजपाले मत पाएको देखिन्छ,’ दार्जिलिङका साहित्यकार तथा प्राध्यापक ज्ञानेन्द्र यक्सो भन्छन्, ‘यद्यपि, चुनावी वाचा कार्यान्वयन कति हुन्छ त्यो हेर्न बाँकी छ ।’ 

पश्चिम बंगाल विधानसभाका २ सय ९४ सिटमध्ये बहुमतका लागि १ सय ४८ सिट आवश्यक पर्छ । प्रारम्भिक नतिजा अनुसार भाजपा करिब २ सय सिटमा अगाडि देखिएको छ । जसले करिब १५ वर्षदेखि एकछत्र राज गर्दै आएको पश्चिम बंगालको राजनीतिक समीकरण फेरिने पक्का भएको छ । त्रिणमूल कांग्रेस करिब ४ दशक लामो कम्युनिस्ट शासनलाई सत्ताच्युत गर्दै उदाएको थियो । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully