तेल ढुवानीको वैकल्पिक यातायात रुटका रुपमा सिरिया प्रस्तुत भएको छ । इराकबाट ट्रकमा लोड गरेर तेललाई सिरिया ल्याइन्छ । सिरियाको बानियास बन्दरगाहमा झारिन्छ र जहाजमा हालेर युरोपेली बजारमा पठाइन्छ ।
बेरुत — बेरुत : अहेद बावादीले युद्धबाट बच्न आफ्नी बहिनी र आमासँगै बहराइनमा एक दशकभन्दा लामो समय शरण लिइन् ।
‘बहराइनीहरुले युद्धको कहिल्यै अनुभव गरेका थिएनन् । त्यहाँ कहिल्यै युद्ध भएन,’ उनले भनिन् । तर, इरानमा अमेरिका र इजरायलले आक्रमण गरेपछि अवस्था फेरियो ।
अमेरिकी सैन्य पूर्वाधार राखिएका बहराइनसहितका खाडी देशहरुमाथि इरानले प्रत्याक्रमण थाल्यो । बावादीको परिवार सिरियाको एलिप्पोस्थित घर फर्कियो । लामो समय युद्ध झेलेको यो शहर अहिले शान्त भइसकेको छ ।
पश्चिम एसियाका थोरै शान्त स्थानमध्ये सिरिया एक हो । जहाँ सन् २०१० देखि १४ वर्ष भयानक युद्ध चलेको थियो । तत्कालीन राष्ट्रपति बसर अल असदलाई अपदस्थ गरेर डिसेम्बर २०२४ मा आन्दोलनकारीहरुले नयाँ सरकार बनाए । त्यसयता, सिरियाले निरन्तर अरब तथा पश्चिमा राष्ट्रहरुसँग मिलेर देश पुनर्निर्माण गर्ने प्रयास गरिरहेको छ ।
अमेरिका–इजरायलले इरानमाथि थालेको युद्धमा सिरिया तटस्थ छ । हर्मुजको जलघाँटी बन्द हुँदा सिरियामा नयाँ अवसरहरु पनि देखिएका छन् ।
‘सिरियाले पश्चिम एसिया क्षेत्रमा देखिएको रणनीतिक संकटको समाधानका रुपमा आफुलाई प्रस्तुत गरेको छ,’ सिरियाली विदेश मन्त्रालयका अधिकारी ओबेदा घादबानले भने ।
इरानले विश्वको २० प्रतिशतभन्दा धेरै कच्चा तेल र ग्यास बाहिरिने हर्मुज जलमार्गमा युद्ध सुरु भएदेखि नै अवरोध गरिरहेको छ । पछिल्ला दिनमा अमेरिकाले पनि यहाँका इरानी बन्दरगाहहरुमा नाकाबन्दी लगाएको छ । जसले विश्वव्यापी ऊर्जा संकटलाई थप गहिरो बनाएको छ ।
यस्तो अवस्थामा तेल ढुवानीको वैकल्पिक यातायात रुटका रुपमा सिरिया प्रस्तुत भएको छ । इराकबाट ट्रकमा लोड गरेर तेललाई सिरिया ल्याइन्छ । सिरियाको बानियास बन्दरगाहमा झारिन्छ र जहाजमा हालेर युरोपेली बजारमा पठाइन्छ ।
एक दशकभन्दा लामो समयदेखि बन्द रहेको उत्तरी इराक र सिरियाबीचको महत्वपूर्ण सीमा क्षेत्र गत महिना खोलिएको थियो । यस नाकाले ऊर्जा निर्यातका लागि नयाँ रुटको काम गर्ने सिरियाली अधिकारीहरुले बताएका छन् ।
सामाग्रीहरु ढुवानीका लागि जलमार्गको दाँजोमा स्थलमार्गको रुट कम प्रभावकारी र धेरै खर्चिलो हुन्छ । तर, हर्मुजमा इरानको अवरोध कायम रहदाँसम्म यसले विकल्प भने दिनसक्छ ।
घादबानले आफ्नो देशले कसैको पक्षधरता नलिने बताए । ‘यस युद्धमा संलग्नहरु सिरियाका शत्रु हुन् । चाहे इरान र उसका सहयोगी हुन् वा सिरियाप्रति बिस्तारवादी दृष्टीकोण राख्ने इजरायल होस्,’ उनले भने,‘दुबै पक्ष सिरियालाई कमजोर बनाउन चाहन्छन् ।’
सिरियाका राष्ट्रपति अहमद अल साराले सिरिया कुनै क्षेत्रीय द्वन्द्वमा सहभागी नहुने बताएका छन् । उनले १४ वर्ष लामो गृहयुद्धले सिरिया थाकिसकेको बताए ।
इन्टरनेशनल क्राइसिस ग्रुपका सिरियास्थित वरिष्ठ सल्लाहकार नोहा बोन्सेले युद्ध सुरु भएदेखि नै यसमा असंलग्न रहने विषयमा सिरिया स्पष्ट रहेको बताए ।
गृहयुद्धका दौरान सिरियाका दक्षिणपूर्वी क्षेत्र कुर्दिश लडाकुहरुको नियन्त्रणमा थियो । यी क्षेत्रमा उनीहरुले इस्लामिक स्टेट र असदको सत्तासँग एकैपटक लडिरहेका थिए । उनीहरुलाई साथ दिन यहाँ ठूलो संख्यामा अमेरिकी सैनिक तैनाथ थिए ।
नयाँ सरकार आएपछि पनि कुर्दिशसँग केही समय लडाइँ चल्यो । त्यसपछि गत जनवरीमा सरकार र कुर्दिशहरुबीच युद्धको स्थायी अन्त्य गर्ने सहमति भयो ।
अमेरिकाले हजारौंको संख्यामा इस्लामिक स्टेटका शंकास्पद बन्दीहरुलाई सिरियाबाट इराक सार्यो । अमेरिकी सेनाले आफ्नै उपस्थिति पनि सिरियामा घटायो ।
‘युद्ध सुरु हुनअघि यहाँबाट ठूलो संख्यामा अमेरिकी सैनिक निकालिएको थियो । अहिले पनि थोरै अमेरिकी पूर्वाधार र केही सैनिक तैनाथ छन्,’ बोस्नीले भने, ‘यदी पहिलेकै जस्तो ठूलो संख्या यहाँ रहेको भए इरानले आक्रमण गर्ने जोखिम हुने थियो ।’
तटस्थ बस्दा राजनीतिक रुपमा सिरियालाई फाइदा भएपनि आर्थिक रुपमा द्वन्द्वको असर यहाँ पनि परेको बोस्नीले बताए ।
सिरियाले धनाढ्य खाडी देशबाट आफ्नो पुनर्निर्माणका लागि लगानी भित्र्याउन पहल गरिरहेको थियो । तर, अहिले यी देशहरु नै युद्धले आक्रान्त छन् । ‘उनीहरु विदेशमा लगानी गर्नभन्दा पनि आफैं देशको सुरक्षा र अर्थतन्त्रलाई लयमा ल्याउनेबारे सोचिरहेका छन्,’ बोस्नीले भने ।
सिरियाले केही दिर्घकालीन पूर्वाधार परियोजनाहरु तयार गरेको छ । रेल लाइन र ग्यास पाइपलाई निर्माण गर्ने प्रस्ताव तयार भएको छ । यसले खाडी क्षेत्रलाई सिरिया हुँदै टर्की र युरोपेली बजारमा जोड्नेछ । तर यी सबै परियोजना पूरा हुन वर्षौंं लाग्नेछ ।
अहिले कमजोर अर्थतन्त्रका कारण सिरियाको नयाँ सरकारसँग पनि जनता सन्तुष्ट हुन सकेका छैनन् । कम्तिमा घर फर्कन पाउँदा बावादी मख्ख छिन् । ‘आफैं देशमा बस्नुजस्तो अरु केही हुँदैन,’ उनले भनिन्, ‘जतिसुकै कठिनाई भएपनि आफ्नै देशमा हुँदा फरक प्रकारको सुरक्षा अनुभूत हुन्छ ।’
