विधानसभाका लागि पश्चिम बंगाल, असम, केरला र तामिलनाडुको चुनाव दुई चरणमा अप्रिल २३ र अप्रिल २९ मा भएको थियो ।
काठमाडौँ — भारतका पश्चिम बंगाल, असम, केरला र तामिलनाडु राज्यका विधानसभा निर्वाचनको मतगणना सोमबार हुँदै छ । विधानसभाका लागि पश्चिम बंगाल, असम, केरला र तामिलनाडुको चुनाव दुई चरणमा अप्रिल २३ र अप्रिल २९ मा भएको थियो । निर्वाचन आयोगले मतदानको मिति सार्वजनिक गर्दा नै मतगणना मे ४ का लागि निर्धारण गरेको थियो ।
विवादका कारण रद्द भएको पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फाल्टा विधानसभा सिटका सबै २ सय ८५ मतदान केन्द्रमा मे २१ मा पुनः मतदान गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
सरकारी अधिकारीका अनुसार अप्रिल २९ मा फाल्टामा भएको दोस्रो चरणको मतदानका क्रममा अनियमितता भएको भन्दै पुनः मतदानको निर्णय गरेको हो ।
निर्वाचन आयोगले फाल्टामा सबै मतदान केन्द्र (सहायक मतदान केन्द्रसहित) मा बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म पुनः मतदान हुने जनाएको छ । मतदान स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगले गर्न सकियोस् भनी निर्वाचनका दिन ‘कडा सुरक्षा व्यवस्था’ गरिनेछ । उक्त निर्वाचन क्षेत्रको मतगणना मे २४ मा हुनेछ ।
यसैबीच, पश्चिम बंगाल विधानसभाको दुई सिट (मगरहाट पश्चिम र डायमन्ड हार्बर) का १५ वटा मतदान केन्द्रमा शनिबार (मे २) मा पुनः मतदान भएको छ ।
तृणमूलका नेताहरूले मतदातालाई प्रभावित पार्न धम्की र कुटपिट गरेको आरोपबीच स्थानीयले शनिबार विरोध प्रदर्शन गरेपछि फाल्टामा कडा सुरक्षा व्यवस्थासहित पुनः मतदान गरिने भएको हो ।
मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र अन्य फिल्ड अधिकृतको प्रतिवेदन, पर्यवेक्षकको अनुगमन र उपलब्ध सम्पूर्ण अभिलेखको गम्भीर अध्ययनपछि आयोगले उक्त निर्णय गरेको जनाएको छ ।
पर्यवेक्षकहरूको रिपोर्टमा ‘मतदाताहरूलाई धम्की, मतदान केन्द्रहरूमा अनधिकृत व्यक्तिहरूको उपस्थिति र सम्भावित दुर्व्यवहार’ भएको आरोप लगाइएको थियो ।
पश्चिम बंगालको चुनावी नतिजालाई विशेष चासोका साथ हेरिएको छ । चुनावमा मुख्यमन्त्री ममता बनर्जीको तृणमूल कंग्रेस र भारतीय जनता पार्टी (भाजपा) बीच कडा टक्कर हुने आकलन छ । दोस्रो चरणको मतदानलगत्तै सार्वजनिक भएका मत सर्वेक्षण (एक्जिट पोल) मध्ये अधिकांशले भाजपाले बढी सिट हात पार्ने प्रक्षेपण गरेका छन् । सन् २०२१ को विधानसभा चुनावका बेला सार्वजनिक भएका अधिकांश एक्जिट पोलहरूले पनि भाजपाले चुनाव जित्ने प्र्रक्षेपण गरेका थिए । तर अन्तिम मत परिणाममा तृणमूल कांग्रेसले ठूलो जित हात पारेको थियो ।
