रुसका भित्री इलाकामा क्षति गर्दै युक्रेनी ड्रोन

रुसका भित्री इलाकामा आक्रमण गर्न सक्ने युक्रेनको क्षमताले मस्कोको एयर डिफेन्स प्रणाली पनि दबाबमा पारेको छ ।

वैशाख १९, २०८३

एपी

Ukrainian drones causing damage in Russian hinterland

मस्को — युक्रेनी ड्रोनहरूले रुसका भित्री इलाकासम्म पुगेर तेल प्रशोधन केन्द्रहरूमा आक्रमण गरिरहेका छन् । आक्रमणबाट उडेको बाक्लो धूवाँ अन्तरिक्षबाटै देखिएको थियो । यसले ब्ल्याक सी किनारका पर्यटकीय क्षेत्रहरूमा विषाक्त वर्षा गराइरहेको छ । यी आक्रमणहरूको उद्देश्य मस्कोको तेल निर्यात घटाउनु हो । किनकि, तेल बिक्रीबाट प्राप्त रकमलाई रुसले युक्रेनविरुद्धको युद्धमा लगाइरहेको छ ।

आर्थिक क्षतिको विवरण स्पष्ट नभए पनि आक्रमणको वातावरणीय प्रभावको असर युद्धमोर्चाभन्दा निकै टाढाका भूभागमा बस्ने रुसीहरूले महसुस गरेका छन् । युक्रेनी ड्रोनहरूले अप्रिलमा ब्ल्याक सीस्थित तुआप्से क्षेत्रका तेल प्रशोधन गृह र निर्यात टर्मिनलहरूमा दुई सातामा चार पटक आक्रमण गरेका छन् । आक्रमणपछि आगलागी हुँदा स्थानीय नागरिकलाई उद्धार गर्नुपरेको थियो । त्यस्तै, आकाशमा धूवाँको मुस्लो उडेको देखिन्थ्यो ।

तुआप्से क्षेत्र युद्धमोर्चाबाट कम्तीमा ४५० किलोमिटर टाढा छ । १८ अप्रिलमा तेस्रो आक्रमणपछि तुआप्सेका गभर्नर भेनियामिन कोन्ड्राटयेभले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका छन् । उक्त भिडियोमा आपत्कालीन सेवामा खटिएका एक कर्मचारीले उम्लिरहेको तेलजन्य पदार्थ सडकमा पोखिएर कारहरूमा क्षति पुगेको बताएका छन् ।

रुसको पर्म क्षेत्रमा रहेको एक तेल पम्पिङ स्टेसनमा लगातार दुई दिन आक्रमण गरिएको दाबी युक्रेनले गत बिहीबार गरेको थियो । यो स्थान युक्रेनबाट १,५०० किलोमिटर टाढा पर्छ । पर्मका गभर्नर दिमिर्त्री माक्होनिनमार्फत रुसी मिडियाहरूले पनि आक्रमणको पुष्टि गरेका छन् । तर औद्योगिक पूर्वाधारमा मात्रै ड्रोन आक्रमण भएको माक्होनिनको दाबी छ ।

बाल्टिक समुद्र किनारको उस्त लुगो क्षेत्रमा मार्चको अन्त्यमा एक साताको अन्तरमा तीन पटक आक्रमण भयो । यो क्षेत्र रुसका ठूला तेल तथा ग्यास निर्यात टर्मिनलमध्ये एक हो । युक्रेनबाट यो क्षेत्र कम्तीमा ८ सय किलोमिटर टाढा छ । आक्रमणको धेरै सातापछि क्षेत्रीय गभर्नर अलेक्ज्यान्द्रर द्रोज्डेन्कोले सेन्ट पिटर्सवर्गसँग जोडिएको उस्त लुगो क्षेत्र हवाई खतराले युद्धमोर्चामा परिणत भएको घोषणा गरे ।

युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले ती आक्रमणहरूलाई रुसमाथि लगाइएको अन्तर्राष्ट्रिप प्रतिबन्धसँग तुलना गरेका छन् । इरानले हर्मुजको जलघाँटी बन्द गर्दा उत्पन्न वैश्विक ऊर्जा संकटपछि रुसले तेल बिक्री लगातार बढाइरहेका बेला यो आक्रमणलाई अझै महत्त्वपूर्ण रूपमा हेरिएको छ । गत शुक्रबार जेलेन्स्कीले युक्रेनको आक्रमण निकै प्रभावकारी रहेको बताए । तेल निर्यात टर्मिनलहरूमा क्षति पुग्दा रुसले अहिलेसम्म झन्डै ७ अर्ब अमेरिकी डलर बराबरको घाटा व्यहोरिसकेको उनको दाबी थियो । उस्त लुगो र प्रिमोर्स्कजस्ता प्रमुख तेल बन्दरगाहमा तेल चुहिएको जानकारी युक्रेनी गुप्तचर निकायलाई प्राप्त भएको दाबी उनले एक साताअघि गरेका थिए ।

ड्रोन आक्रमणले रुसको तेल प्रशोधन क्षमतामा समेत बाधा पुगिरहेको विज्ञहरूले बताएका छन् । विज्ञहरूका अनुसार पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्धका कारण रुसलाई तत्कालै मर्मतका लागि आवश्यक पार्टपुर्जा ल्याउन पनि कठिन छ । यी सबैका बाबजुद रुसले पश्चिम एसिया संकटको फाइदा उठाइरहेको हुनाले आर्थिक असरको तस्बिर अस्पष्ट छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार गत मार्चमा रुसले औसत दैनिक ७१ लाख ब्यारेल तेल बेच्यो । निर्यात परिमाण र मूल्य दुवै बढ्दा रुस ठूलो फाइदामा छ । रुसले मार्चमा १९ अर्ब अमेरिकी डलरको तेल कारोबार गर्‍यो । जबकि, फेब्रुअरीमा ९ अर्ब ७० करोड डलरमात्रै आम्दानी भएको थियो । ‘फेब्रुअरीताका संकटग्रस्त अवस्थामा पुगेको रुसको तेल क्षेत्र र अर्थतन्त्र दुवैलाई इरानमाथिको अमेरिकी आक्रमणले जोगाइदिएको छ,’ परामर्श कम्पनी म्याक्रो एडभाइजरी लिमिटेडका सीईओ क्रिस वेफरले भने ।

उनले रुसमा ठूलो विस्फोट भइरहेको देखिए पनि त्यहाँका तेल पूर्वाधारमा भने थोरै क्षति नपुगेको बताए । ‘तेलको ट्यांकरलाई आक्रमण गर्दा आगलागी हुन्छ र धूवाँको मुस्लो उड्छ । झट्ट हेर्दा ठूलै आक्रमण भएजस्तो देखिन्छ । तर, देखिए जति क्षति भएको हुँदैन । तर, त्यस्तो क्षतिले आपूर्तिलाई केही दिनमात्रै ढिला गर्छ,’ उनले भने, ‘पम्प स्टेसन, कम्प्रेसर वा तेल लोड गर्ने पूर्वाधारमा गरिने आक्रमणभन्दा यसले गर्ने हानि कम हुन्छ । रुसमा ट्यांकको दाँजोमा ती पूर्वाधारहरूको सुरक्षा राम्रोसँग गरिएको देखिन्छ ।

रुसका भित्री इलाकामा आक्रमण गर्न सक्ने युक्रेनको क्षमताले मस्कोको एयर डिफेन्स प्रणालीलाई पनि दबाबमा पारेको छ । त्यस्तै, रुसले युद्धमा आफ्नो हातमाथि रहेको दाबी गरिरहँदा उसका नागरिकहरूलाई युद्धको परिणाम भोग्न युक्रेनले बाध्य गराएको छ । युद्ध सुरु भएयता लामो दूरीमा निसाना साँध्न सक्ने क्षमता झन्डै दोब्बरले बढेको युक्रेनको रक्षा मन्त्रालयको दाबी छ । ‘युद्ध थाल्दासम्म रुसी सेनाले यसरी आक्रमण हुनेछ भन्ने सोचेकै थिएन । निकै साधारण प्रविधिलाई उपयोग गरेर घरेलु रूपमै तयार गरिएका यी ड्रोन युक्रेनका लागि निकै प्रभावकारी भएका छन्,’ सेन्ट एन्ड्र्युज विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका मार्सेल प्लिच्टाले भने, ‘यस्तो सामर्थ्य चार वर्षअघि थिएन ।’

रुसी अधिकारीहरू प्रायः ठूलो आक्रमणबारे प्रतिक्रिया दिन हिच्किचाउँछन् । तर, तुआप्सेको आक्रमण र यसका फोटोहरू रुसी मिडियामा फैलियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अवस्था नियन्त्रणमा रहेको दाबीसँगै यसको वातावरणीय परिणाम गम्भीर हुन सक्ने चेतावनी पनि दिए । रुसी अधिकारीहरूले आगो सल्केका बेला उच्च मात्राको बेन्जिन (तेलजन्य उत्पादनमा पाइने केमिकल) हावामा भेटिएको बताएका थिए । उनीहरूले स्थानीयवासीलाई हत्तपत्त घरबाहिर ननिस्कन चेतावनी दिएका थिए ।

स्थानीयवासीले पनि कालो वर्षा अनुभव गरेका थिए । आफ्नो छाला र कपडामा आकाशबाट तेलयुक्त चिल्ला थोपाहरू खसेको उनीहरूको अनुभव थियो ।

स्थानीय सञ्चारमाध्यमहरूले सामुदायिक कुकुर तथा बिरालाहरूको रौंको रङ फरक देखिएको तस्बिर छापेका थिए । किनार क्षेत्रमा चुहिएको तेलले चरा र माछाहरूलाई असर गरेको थियो । छुट्टी मनाउन आउने राम्रो गन्तव्य ब्ल्याक सी किनारको हालत देखेर रुसीहरू स्तब्ध भएका थिए ।

रुसी वातावरणीय समूह इको डिफेन्सका सहअध्यक्ष भ्लादिमिर स्लिभयाकले यस्तो आक्रमणले मानव स्वास्थ्य र तुआप्से क्षेत्रको पर्यावरणमा दीर्घकालीन असर गर्न सक्ने बताए । ‘समुद्रमा धेरै तेल छ । आगामी केही वर्षमा हरेक तुफानले थप तेल प्रदूषणलाई किनारमा ल्याउँछ,’ उनले भने । आक्रमणपछि सिर्जित अवस्थाबारे रुसमा जनस्तरबाट कसैले सार्वजनिक प्रतिक्रिया देखिएको छैन । तर क्षति बढ्दै गएमा यो अवस्था परिवर्तन हुन सक्छ । ‘पुटिनको बोली, क्षेत्रीय अधिकारीहरूको बोली र वास्तविक अवस्थाबीच ठूलो फरक छ । रुसी जनताले यो बुझेका छन् भन्ने मलाई लाग्छ,’ स्लिभयाकले भने ।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता दुई देशबीच चार वर्षभन्दा लामो समयदेखि युद्ध जारी छ । यस अवधिमा दुवै पक्षतर्फ ठूलो संख्यामा सैनिक र सर्वसाधारण मारिएका छन् । ऊर्जा तथा सार्वजनिक पूर्वाधारहरू ठूलो क्षति पुगिसकेको छ ।

एपी

Link copied successfully