चान्सलरसँगको टकरावपछि ट्रम्पले लिए जर्मनीबाट ५ हजार सैनिक फिर्ता लिने निर्णय

ट्रम्पले इटली र स्पेनबाट पनि अमेरिकी सैनिक हटाउने सुझाव दिएका छन्।

वैशाख १९, २०८३

इकान्तिपुर डेस्क

Trump decides to withdraw 5,000 troops from Germany after clash with Chancellor

काठमाडौँ — अमेरिकी रक्षा विभागले जर्मनीबाट ५ हजार सैनिक हटाउने निर्णय गरेको छ। यो निर्णय यस्तो समयमा भएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्जबीच इरान युद्धलाई लिएर विवाद बाहिरिएको थियो।

जर्मन चान्सलरले इरानी वार्ताकारले अमेरिकाको बेइज्जती गरेको बताएका थिए। त्यसपछि बिहीबार सामाजिक सञ्जालमा ट्रम्पले लेखेका थिए, ‘मर्ज निकै खराब काम गरिरहेका छन् र उनीसँग अनेक किसिमका समस्या छन्, जसमा आप्रवासन र ऊर्जा पनि रहेका छन्।’

ट्रम्पले इटली र स्पेनबाट पनि अमेरिकी सैनिक हटाउने सुझाव दिएका छन्। जर्मनीमा अमेरिकी सेना ठूलो संख्यामा उपस्थित छ। गत डिसेम्बरसम्म त्यहाँ ३६ हजारभन्दा बढी सक्रिय सैनिक परिचालित थिए।

पेन्टागनका प्रवक्ता सीन पार्नेलका अनुसार सेना हटाउने आदेश रक्षा मन्त्री पीट हेगसेथबाट आएको हो।

‘यो निर्णय युरोपमा सेनाको स्थितिबारे पूर्ण समीक्षा पछि लिइएको हो र त्यहाँको अवस्थालाई हेरेर लिइएको हो,’ उनको भनाइ छ, ‘आउँदो ६ देखि १२ महिनामा सैनिक फिर्ता पूरा हुनेछ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युरोपका धेरै देशसँग असन्तुष्ट छन्। उनले उनीहरूसँग हर्मुज स्ट्रेट फेरि खोल्ने अभियानमा सहयोग मागेका थिए, तर यसमा उनलाई समर्थन मिलेन।

इकान्तिपुर

Link copied successfully